१ कार्तिक २०८३, शनिबार

बालमैत्री विद्यालय कार्यक्रम प्रभावकारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, २ कार्तिक। बालमैत्री वातावरणमा अध्ययन–अध्यापन गराई बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गराउने लक्ष्यका साथ पर्सामा लागू भएको बालमैत्री विद्यालय कार्यक्रम प्रभावकारी देखिएको छ ।

पर्साका ४० विद्यालयमा अहिले यो कार्यक्रम सञ्चालनमा छ । कार्यक्रमको प्रभावकारिता देखेर अगामी दिनमा यसलाई जिल्लाका अन्य विद्यालयमा क्रमशः लागू गरिने योजना रहेको छ ।

युनिसेफ नेपालको सहयोगमा जिल्ला शिक्षा कार्यालय पर्साद्वारा शनिबारदेखि परवानीपुरमा आयोजित ‘बालमैत्री विद्यालयको शिक्षकशिक्षिकाका लागि पुनः ताजगी तालिम’को उद्घाटन गर्दै पर्साका निमित्त जिल्ला शिक्षा अधिकारी आशा गौतमले भनिन्, “बालमैत्री कार्यक्रमलाई अझ बढी व्यावहारिक र प्रभावकारी बनाउनुपर्दछ ।”

उनले बालमैत्री कक्षामार्फत बालबालिकाका लागि गुणस्तरीय आधारभूत शिक्षा प्रदान गर्ने मुख्य लक्ष्यका साथ सुरु गरिएको यो कार्यक्रमको प्रभावकारिताका लागि यसमा आबद्ध शिक्षकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शीतलप्रसाद महतोले बालमैत्री विद्यालय सञ्चालन गर्न शिक्षकमा सोही अनुरुपको ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि यस प्रकारका तालिमको उपयोगिता उच्च रहेको बताए ।

जिल्ला शिक्षा कार्यालय पर्साका स्रोतव्यक्ति महन्थप्रसाद यादवको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । पाँचदिने उक्त आवासीय तालिममा जिल्लाका १० विद्यालयका ३० जना शिक्षकशिक्षिकाको सहभागिता रहेको छ । रासस