ओखलढुङ्गा, २ कार्तिक । मानसिक सन्तुलन गुमाएकी ओखलढुङ्गा केत्तुके वडा नं. ३ का १८ वर्षीया एक किशोरीलाई ११ वर्षदेखि उनका परिवारले नाइलनको डोरीले बाँधेर राख्ने गरेका छन् ।
उनीसँगैका साथीहरु कक्षा कोठाभित्र पढ्छन् । तर उनी आमासँगै विद्यालय आएपछि दैनिक कार्यालयको ढोकाअगाडि नाइलनको डोरीले बाँधिन्छन् ।
ओखलढुङ्गा जिल्ला भीमसेनस्थान मावि केतुकेका कार्यालय सहयोगी मौलिमाया तामाङको १८ वर्षीया छोरी सुन्तलीमायालाई यसरी बाँधेर राख्न थालेको ११ वर्ष बितिसकेको छ ।
एघार वर्षअघिसम्म राम्ररी कान सुन्ने र मानसिक सन्तुलन ठीक भएकी सुन्तलीको बोली भने जन्मैदेखि थिएन ।
एकाएक उनको मानसिक सन्तुलनले काम नगरेपछि आमाले यसरी डोरीले बाँधेर राख्ने गरेकी हुन् ।
घरमा हेर्ने मान्छे कोही नभएपछि स्कुल ल्याउने र डोरीले बाँधेर राख्ने अनि फर्किने बेलासँगै लिएर जाने उनकी आमाले बताइन् ।
उपचारका लागि केही वर्षअघि धरानको बिपी मेमोरियल अस्पताल लगेको भए पनि त्यहाँ उपचार सम्भव नहुने र त्यसका लागि भारत पुराउनुपर्ने भनेपछि उनलाई अन्त कतै लगिएन ।
सुन्तलीलाई मुर्छा पर्ने रोग छ । सोही रोगले च्याप्न थालेपछि उनको मानसिक सन्तुलन गुमेको हो ।
मौलिमायाको परिवारमा आमाछोरी दुईजना मात्रै छन् । अवकाशप्राप्त भारतीय सेना श्रीमान् मौलबहादुर १६ वर्षदेखि दोस्रो श्रीमती बिहे गरेर भारतमै बसोबास गर्छन् । मौलिमायाले श्रीमान्सँग मुद्दा लडेर पेन्सनको एक तिहाइ रकम मासिक ६ हजार पाँउछिन् ।
१७ वर्षदेखि भीमसेनस्थान माविमा कार्यालय सहयोगीको काम गर्न थालेकी उनको तलब ६ हजार २०० रुपियाँ छ । खानलाउनका लागि आमाछोरीलाई आर्थिक अभाव नभए पनि छोरीको उपचार गर्ने ठाउँ थाहा नभएको र परिवारमा सहयोगी सदस्य कोही नभएकाले अहिलेसम्म कतै लान नसकेको उनले बताइन् । रासस















प्रतिक्रिया