१ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिममा कहालीलाग्दो दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Accident

यमबहादुर बम / समाचार टिप्पणी 

दुई वर्ष नवित्दै सुदूरपश्चिममा फेरी अर्को डर लाग्दो दुर्घटना भएको छ । गएको वर्ष पुसमा छतिवन गाविसकै रुवसकाँडामा भएको बस दुर्घटनामा ३० जना जतिले ज्यान गुमाएका थिए ।

यो वर्ष पनि दशै मनाएर कर्मथलो फर्किन लागेका १२० जना व्यक्तिहरुलाई बोकेर जोरायलबाट धनगढीतर्फ आउँदै गरेको ना ३ ख ५७०७ नम्बरको बस छतिवन गाविस ५ को कटपत्ते भन्ने ठाउँमा दुर्घटना हुँदा ३० जनाले ज्यान गुमाउन पुगे । दुर्घटनामा ६८ जना जति घाइते बन्न पुगे । दुर्घटनामा घाइते भएका ६८ जनाको अत्तरिया, नेपालगञ्ज र भारतका विभिन्न सहरमा उपचार भइरहेको छ ।

२० असोजमा भएको दुर्घटना बुडर जोरायल सडक ग्रामिण कच्ची सडक हो । वर्षायाममा भत्किएर विग्रेको सो सडक पुननिर्माण र मर्मत गरिएको थिएन् । पैसा कमाउने लोभमा बस मालिकले उक्त सडक खण्डमा जवरजस्ती बस गुडाएर डोटीको जोरायलमा पुगाएका थिए । बस पुगेकै दोस्रो दिन क्षमता भन्दा चौबर यात्रु बोकेर बस धनगढी तर्फ आउँदै गरेको थियो । बसमा सवार यात्रुहरुले बस मालिकले जर्वजस्ती यात्रु कोच्न थालेको देखेपछि यतो अचाक्ली नगर्न कराउँदै आएपनि बसमालिकले नसुनेकै झै गरे ।

अन्ततः दुर्घना हुन पुग्यो । जो जहुनु थियो, त्योभएरै छाड्यो । जुन सपना बोकेर दशै मनाएर कर्मथलो फर्किनेहरुको थियो त्यो चकना चुर भयो । बिडम्बना दुर्घटनामा सरस्वतीनगर गाविसका मात्रै उन्नाइस बढी यात्रीको मृत्यु भएको छ । सडकबाट झण्डैं तीन सय मिटर तल खसेको सो बस दुर्घटनाको मुख्य कारण क्षमता भन्दा अतिबढी यात्री हुनु नै हो । सडक दुर्घटना भवितव्य घटना मानिन्छ । कसैले पनि जानीजानी सडक दुर्घटना गर्दैन, तर बढीजसो सडक दुर्घटनामा क्षमताभन्दा निकै बढी यात्री र सामान (लगेज), तीब्र गति, पुराना सवारी साधन, साँघुरा र बिग्रेभत्केका सडक, चालकको लापरवाही नै मुख्य कारण हुने गरेका छन् । जोरायल बस दुर्घटनामा झण्डै एक सय बढी यात्री रहेको पुष्टि भइसकेको छ । यसको अर्थ बसभित्र र छतमा अटेसमटेस गरेर यात्री राखिएको थियो र कच्ची सडकमा यतिबढी भार बोकेको बसले सन्तुलन गुमाउएर यति बढी यात्रीको ज्यान जानेगरी दुर्घटना भयो ।

ट्राफिक नियम पालना भएनभएको अनुगमन गर्नका लागि ट्राफिक प्रहरी छ । अझ चाडबाडमा हुने सम्भाव्य सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले विशेष कार्यक्रम सञ्चालन गरेको प्रचारप्रसार हुने गरेको छ । क्षमताभन्दा बढी यात्री राखेमा वा अत्यधिक गतिमा सवारी साधन चलाएमा कारबाहीको दायरामा ल्याउने भनिएको छ । तर, जोरायल सडक दुर्घटनाले मात्रै पनि ट्राफिक प्रहरी, सार्वजनिक सवारी चालक, यातायात व्यवसायीले ट्राफिक नियम कत्तिको पालना गरेका रहेछन् भन्ने देखाएको छ । यति बढी यात्रीले अनाहकमा ज्यान गुमाउनु परेको यो सडक दुर्घटनामा को दोषी भन्ने प्रश्न जोडतोडका साथ उठ्नु आवश्यक छ । भवितव्य घटना भनेर केही दिनपछि बिस्मृतिमा राखिने हो वा प्रहरी फाइल केही दिनपछि बन्द हुने हो भने यस्ता त्रासदीपूर्ण सडक दुर्घटना कम गर्ने प्रयास व्यर्थ हुनेछन् ।

जोरायल सडक दुर्घटनालाई पनि अन्य दुर्घटना झैं भवितव्य ठान्दै पन्छिएला, तर उही कारणले बारम्बार दोहोरिने सडक दुर्घटना रोक्ने प्रयासबारे आम यात्रीका प्रश्नको उत्तर आउने छैन । तीसबत्तीस सिट क्षमताको बसमा एक सय भन्दा बढी यात्री राख्नु भनेको दुर्घटनालाई सोझैं निम्त्याउनु नै हो । त्यसैमा यात्रीहरूले पनि बसभित्र र छतमा समेत खुट्टा टेक्ने ठाउ नरहेको अवस्थामा पनि झुण्डिएरै भए पनि यात्रा गर्ने दुस्साहस गर्दा अनाहकमा थुप्रैले ज्यान गुमाउनु परेको छ भन्ने मनन् गर्नु आवश्यक छ । जोरायल बस दुर्घटनाको छानबिनका लागि गठित समितिले सबैसँग छलफल पनि गरिसकेको छ । संगसंगै आम नागरिक, यात्री, बस ब्यावसायी, सवारी साधन चालक लगायतले सबैले यस्ता त्रासदीपूर्ण सडक दुर्घटना पुनः नदोहोरिउन् भन्नाका लागि आ–आफ्नो टाउबाट सचेत र जागरुक हुनु आवश्यक छ । यो दुर्घटनाको खास कारण छानबिन गरी दोषीमाथि कडा कानूनी कारबाही हुनुपर्छ ।

हुन त छतिवन दुर्घटनाको प्रारिम्भक अध्ययनले चालकको असावधानी र बढी यात्रु मुख्य कारक हो भन्ने देखाएको छ । साघुरो तथा वर्षाले गलेको सडक मर्मत नै नगरेर बस चलाउनु यातायात व्यवसायीको कमजोरी हो । समय समयमा यस क्षेत्रमा ठूला ठूला बस दुर्घटना हुदै गएका छन् । यस अघि पनि रुवसकाँडा बस दुर्घटनाको छानवीन समिति गठन भएको थियो । तर त्यस समितिले पनि घटनाक्रम बाहिर निकाल्न बाहेक अरु केही गर्न सकेन् ।

अबका दिनमा गठन हुने समितिले घटनाक्रममा देखिएको सत्यतथ्य बाहिर ल्याएर दोषी ठहरिएका चालक वा व्यवसायीलाई कडा कारवाही गर्नु जरुरी छ । ट्राफिक प्रहरीले पनि के बुझ्नुपर्छ भने ऐन विपरीत सवारी साधन चलाउनेलाई रु. एक हजार जरिवाना कटाएर पन्छिन मिल्दैन् । जरिवानाले त राजश्वमा बृद्धि होला नै तर यात्रीहरु सुरक्षित हुदैनन् भन्ने कुराको हेक्का राख्नु जरुरी छ ।
विभिन्न समयमा भएका ठूला बस दुर्घटनाले सुदूरका ग्रामिण सडक हुन या बस गुड्नका अनुमती दिएका सडक हुन् ती ज्यान मारा छन् भन्ने देखाएको छ । यसमा सबै सावधानी हुनु आवश्यक छ ।