काठमाडौं, १ कार्तिक । छोराको हत्यारालाई कानुनी कारबाही माग गर्दै अनशन मै बसेका बेला गत असोज ६ गते निधन भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको शव अहिलेसम्म उठ्न सकेको छैन ।
उनीसँगै अनशनमा बसेकी पत्नी गंगामाया अधिकारी पनि अहिले जीवनको अन्तिम स्वास फेर्दै वीर अस्पतालको शैयामा छटपटाई रहेकी छिन् ।
चिकित्सकहरुका अनुसार गंगामायाको पनि अवस्था अहिले जटिल रहेको छ । गंगामायाको जीवन वचाउन पछिल्लो तीन दिनमा मात्र दुई पाउन्ड रगत दिइए छ । तर, उनको स्वास्थ्यमा कुनै सुधार आएको छैन ।
टीपीएन (पोषणयुक्त औषधि) का साथमा पछिल्लो समय उनलाई दिन थालिएको ग्लुकोजपानीले समेत काम गर्न छाडेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।
चिकित्सकहरुका अनुसार गंगामायाको मिर्गौलाले काम गर्न छाडेको छ भने शरीरमा रक्तकोष पनि अत्यन्तै कम भएको छ। क्याल्सियम र भिटामिन कमी हुँदा उनको स्वास्थ्य नाजुक भएको हो ।
मानसिक रूपमा समेत अत्यन्तै कमजोर भएकी उनलाई परामर्श दिन मनोचिकित्सक खटिएका छन् । तर, उनीहरुको प्रयास समेत असफल भइरहेको छ।
छोरा र पति वियोगले छटपटाइरहेकी गंगामाया कहिले डाँको छोड्छिन्, कहिले मौन बन्छिन । अहिले गंगामायाको पछिल्लो अवस्था देखेर चिकित्सकहरुले पनि हार खाएका छन् । ‘गंगामायाको अवस्था पनि नन्दप्रसादको जस्तो नहोला भन्न सकिन्न,’ एक चिकित्सकले दैनिक नेपाल डटकमसँग भने ।
पिता नन्दप्रसादको मृत्युपछि केही सञ्चार माध्ययममा पिताको शव नवुझ्ने चेतावनी दिए लगत्तै सम्र्पक विहीन बनेका नुनप्रसाद मात्र होइन अहिले गंगामाया भेट्न कुनै पनि आफन्त अस्पताल पुगेका छैनन् ।
गंगामायाको रेखदेख र परार्शका लागि चिकित्सक, नर्स र मानवअधिकारकर्मीको एउटा टोली बिहान १० देखि ५ बजेसम्म खटिने गरेको अस्पतालले जानकारी दिएको छ ।
सरकारले गंगामायको मागप्रति सुनुवाई नगर्दा उनीहरुको प्रयाससमेत असफल बन्ने निश्चित जस्तै भएको छ ।















प्रतिक्रिया