काठमाडौं, ३१ असोज । संविधानसभाले संविधानका अन्तरबस्तुमा सहमतिका लागि दिएको समयसीमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले मुख्य विवाद समाधान नगरी गुजारेको छ ।
संविधानसभाले राज्यको पुर्नसंरचना, शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणालीमा बिहीबारसम्म सहमति नजुटे शुक्रबार प्रश्नावलीसहितको प्रतिवेदन बुझाउने समयसीमा तोकेको थियो ।
संवाद समितिले सहमति पनि नगर्ने र प्रक्रियाका लागि प्रश्नावली पनि नबनाई यसरी म्याद गुजारेको यो तेस्रो पटक हो ।
सहमति जुटाउने समयसीमाको अन्तिम दिन बिहीबार बसेको संवाद समितिको बैठमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुले संघीयता र शासकीय स्वरुपबारे आ-आफ्ना दलीय अडान राखेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
उनीहरुबीच सहमति नभएका विषयमा प्रश्नावली बनाउने विषयमा भने संवाद समितिले कुनै निर्णय गरेको छैन । बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सकेसम्म थोरै प्रदेश बनाउनुपर्ने धारणा राखेका थिए भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जातीय पहिचानसहितको १० प्रदेशको अडान राखेका थिए ।
पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले साझा पहिचानमा आधारित ७ प्रदेशमा सहमति गर्नुपर्ने अडान राखेका थिए ।
बैठक स्रोतका अनुसार तीन दलका नेताहरुले आ(आफ्ना दलीय अडान छाडेर सहमति जुटाउन शुक्रबारसम्म अनौपचारिक प्रयास जारी राख्ने उल्लेख गर्दै प्रतिवेदनबारे कुनै निर्णय नगरेका हुन् ।
बिहान बसेको समितिको निर्णय अनुसार अनौपचारिक छलफलका लागि तीन दलका नेताहरु आउने आशामा संवाद समितिको सचिवालयका कर्मचारीहरु दिनभरी कार्यालयमा प्रतीक्षारत थिए ।
यसअघि नेताहरुले बिहीबार दिनभरी गर्ने र सहमतिको प्रयास असफल भए प्रक्रियामा जान प्रश्नावली निर्माणसहितको विकल्पमा छलफल गर्ने बताएका थिए ।
कांग्रेसका तर्फबाट अनौपचारिक छलफलमा सहभागी हुँदै आएका संवाद समितिका सदस्य रामचन्द्र पौडेल बिहीबार हङकङ भ्रमणमा निस्केका छन् ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले विदेश नजान पटक-पटक दिएको निर्देशनविपरित नेताहरु विदेश जाने क्रम जारी छ ।
संवाद समितिकै सदस्य रहेका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम पनि श्रीमति र छोरासहित चीन भ्रमणमा छन् । अघिल्लो दिनको बैठकमा समितिका सचिव समेत रहेका संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले अमेरिका भ्रमण रद्द गरेको उदाहारण दिदै नेम्वाङ्गले गरेको आग्रहमा पौडेलले भ्रमण स्थगित गर्ने वचन दिएका थिए ।
सहमति खोज्ने समयसीमा सकिए पनि शुक्रबार बिहान ११ बजे फेरि संवादको बैठक राखिएको छ । त्यसअघि ९ बजे शीर्ष नेताहरुको बैठक बस्नेछ । शीर्ष नेताहरु सहमतिकै लागि बिहीबार राति गोकर्ण रिर्जोटमा पनि छलफलमा जुटेका थिए ।















प्रतिक्रिया