पाँचथर, २८ असोज । वैदेशिक रोजगारीका कारण जिल्लाका गाउँमा काम गर्ने युवायुवती नहुँदा खेतीयोग्य जमिन बाँझो रहन थालेको छ ।
पाखुरामा बल हुने युवायुवती वैदेशिक रोजगारीमा जाने गरेकाले काम गर्ने कोही छैन्, पाँचथर सराङडाँडाका फौद भण्डारीले भन्नुभयो, ‘गाउँमा काम गर्ने युवायुवती कोही छैन् अलिअलि काम गर्ने युवायुवती पनि बजारतिर बस्ने र वैदेशिक रोजगारीको सिलसिलामा युवायुवती बिदेसिएका कारण खेतीयोग्य जमिन बाँझै छ ।’उहाँले भन्नुभयो, ‘काम गर्ने युवायुवती नभएपछि बरु अन्न किनेर खान्छन् तर खेतबारीमा केही लगाउन छोडी सके ।’
अहिले वर्षमा तीनपल्ट बाली हुने खेत, बारी बाँझै छ । जसका कारण जिल्लामा उत्पादन हुने खाद्यान्न बालीमा समेत कमी आउने जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथर लिम्बाका समाजसेवी कत्न घिसिङले युवायुवती बिदेसिने क्रम बढ्दै गएपछि गाउँमा मलामी जाने मान्छे पाउने समस्या हुन थालेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय पाँचथरका राहदानी फाँटमा कार्यरत खरिदार राजकुमार न्यौपानेले दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि जाने युवायुवतीको भीड लाग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘राहदानी बनाउन आउनेको भीड छ, तर सीप नसकी विदेश जानेहरू करिब ९८ प्रतिशत युवायुवती जाने गरेका छन् ।’ करिब दुई प्रतिशतले मात्रै सीप सिकेर विदेश जान राहदानी बनाउने गरेका छन् ।
गत साउन महिनामा मात्रै जिल्ला प्रशासन कार्यालय पाँचथरबाट ८८४ र काठमाडौँबाट ५८५ गरी एक हजार ४६९ जनाले राहदानी बनाएका छन् ।
सोह्र वर्ष पुग्ने बित्तिकै पढाइ छोडेर राहदानी बनाउन विदेश जाने परिपाटी भएको खरिदार न्यौपानेले उल्लेख गर्नुभयो ।
सरकारले २०६७ साल कात्तिक २५ गतेदेखि मेसिन रिडेबल पासपोर्ट अनिवार्य ग¥यो । त्यसको एक वर्ष पछि अर्थात् २०६८ साल कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट पनि राहदानी पाउने व्यवस्था भयो ।
गत सालको माघयतामात्रै १३ हजार ७५ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसरी देश बनाउने युवायुवती विदेश पलायन हुनु दुःखद् कुरा हो । तर बढ्दो विदेश पलायन रोक्न सरकारले विशेष कार्यक्रम ल्याउन नसकेकोप्रति नागरिकको गुनासो छ ।















प्रतिक्रिया