काठमाडौँ, २८ असोज । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटवार्तामा संविधान निर्माणमा दलहरूबीच भइरहेको संवाद र उच्चस्तरीय राजनीतिक समितिको सोमबारको बैठकले गरेका निर्णयको बारेमा कुराकानी भएको थियो ।
उच्चस्तरीय राजनीतिक समितिको सोमबारको बैठकले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरू तत्काल पूरा गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको थियो ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोग गठनको प्रक्रियालाई तत्काल अगाडि बढाउन समितिले गरेको निर्णयका बारेमा प्रधानमन्त्री कोइरालासँग कुराकानी भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
यस्तै तत्कालका लागि प्रमुख तीन दलबीच संविधान निर्माणमा देखिएका विवादित विषयमा सहमति जुटाउन नै केन्द्रित हुने र त्यसका लागि वार्ता र संवादलाई सघन बनाउने विषय पनि भेटवार्ताका क्रममा उठेको उहाँको भनाइ थियो । रासस















प्रतिक्रिया