काठमाडौं, २८ असोज । गैरआवासीय नेपाली संघको वर्तमान नेतृत्वको एक बर्षे कार्यकाल पूरा भएको छ ।
सल्लाहकारबाट एकैचोटि अध्यक्ष भएका वर्तमान अध्यक्ष शेष घलेको एक बर्षे अवधिको समाप्तीसँगै यो कार्यकालको समिक्षा पनि सुरु भएको छ । घलेलाई आगामी कार्यकालका लागि पनि अध्यक्षमा दोहोरिन गरी अहिलेबाटै तयारी गर्न उनी निकटका आइसीसी (केन्द्रीय) सदस्य र राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले दबाब दिइरहेका छन् । सोही अनुसार, घलेले पनि अध्यक्षमा दोहोरिन भित्री तयारी थालेको स्रोतले बतायो ।
अध्यक्ष घलेलाई नजिकबाट सहयोग गरिरहेका अमेरिकाका आइसीसी सदस्य एसी शेर्पाले आफूले घलेलाई नै दोहोरिन सुझाव दिएको बताए । ‘कुरा थोरै गर्ने, काम धेरै गर्ने मानिस हामीलाई चाहिएको छ, त्यसका लागि दोस्रोकालका लागि तयारी गर्न शेषजीलाई सुझाव दिएको हौ ।’– शेर्पाले दैनिक नेपालसँग भने ।
एनआरएन भवन निर्माणका लागि घलेले विभिन्न देशमा पुगेर रकम संकलन गरिरहेका छन् । भवन निर्माणका लागि अभियान थालेकाले घले अर्को कार्यकालसम्म दोहोरिन जरुरी रहेको शेर्पाको धारणा छ । घलेलाई एनआरएन भवन निर्माणका लागि आफूहरुले अमेरिकाबाट चार करोड रुपैंया संकलन गरेर पठाएको उनले सुनाए ।
नेतृत्वको खडेरी
१० बर्षसम्म हल्लाखल्लामा मात्र लागेको एनआरएन गतबर्षमात्र विधिवत रुपमा दर्ता भएको थियो । तत्कालिन अध्यक्ष जीवा लामिछाने र महासचिव तेन्जी शेर्पाले एनआरएनलाई दर्ता गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । एनआरएनलाई वैधानिक बनाउन महत्वपूर्ण भूमिका खेले पनि राजनीतिक सन्तुलन मिलाउन नसक्दा र आफ्नै टिमका केही व्यक्तिहरुको धोकाका कारण शेर्पा घलेसँग पराजित भएका थिए । शेर्पा अब नेपालमै रहेर राजनीति, सामाजिक सेवा र व्यवसाय संचालन गर्ने सुरुमा छन् ।
अघिल्लोपटक अध्यक्षको दाबेदारी गरेका रामेश्वर साह पनि नेपालमै व्यवसाय गरेर बसेका छन् । अन्तिम समयमा काँग्रेसले आधिकारिता नदिएपछि साहले बाध्य भएर उम्मेदवारी फिर्ता भएका थिए । यसअघि सभासद्को चर्चामा रहेका साह काठमाडौंमै व्यापारमा सक्रिय छन् । उनी व्यापारसँगै राजनीतिलाई अगाडि बढाउने मुडमा देखिन्छन् ।
आरआरएनका संस्थापक मध्येका एक रामप्रताप थापालाई वौदिक हुँदाहुँदै पनि अवसरवादी र एनआरएनमा राजनीतिकरण घुसाएको आरोप लाग्ने गरेको छ । त्यतिमात्र होइन्, ‘सँधै अध्यक्षका लागि चर्चा गर्ने तर अन्तिममा खुट्टा नटेक्ने’ आरोप थापामाथि छ ।
टीबी, भवन र पन्त पनि दाबेदार
अहिलेका उपाध्यक्ष टीबी कार्की र भवन भट्ट पनि अध्यक्षका स्वतः दाबेदार हुन् । एनआरएन दिवसमा भाग लिन काठमाडौं आएका एनआरएनका प्रतिनिधिसँग महासचिव कुमार पन्तले पनि आफू अध्यक्षका लागि इच्छुक भएको बताएको स्रोतले बतायो ।
कतारमा रहेका टीबी मेनपावर सम्बन्धी व्यवसाय गर्छन् । उनको आफ्नै ट्रेडिङ कम्पनी छ । छोटो समयमा अथाह पैसा जुटाए पनि त्योअनुसार व्यक्तित्व व्यवस्थापन गर्न नसकेको र सानो कुरामा पनि एनआरएनभित्र विवाद गरिरहने उनीमाथि आरोप छ । युरोप, एसिया र अष्ट्रेलियाले अध्यक्ष लिइसकेकाले यसपटक मध्यपूर्वबाट आफूले अध्यक्ष पाउनुपर्ने टीबीको तर्क छ ।
टीबी भने अध्यक्षमा फेरि शेष घले दोहोरिन नहुने पक्षमा छन् । ‘कागती पनि एकपटक निचोरेपछि दोस्रोपटक उसमा कुनै रस हुँदैन, नेतृत्व दोहोरिनु भनेको पनि त्यही हो ।’ दैनिक नेपाललाई अन्तरवार्ता दिँदै उनले भने । यद्यपि टीबीलाई पूर्वअध्यक्षको समर्थन रहने सम्भावना देखिन्न । धनाढ्यहरुको साथ नपाएपनि मध्यमवर्गीय एनआरएनमा भने उनको राम्रो पकड छ ।
जापानमा रहेका भवन भट्ट खासमा रेष्टुरेष्ट व्यवसायी हुन् । रेष्टुरेण्टबाटै उनले पैसा कमाएका थिए । तर, जापानको माफिया संगठन ह्याकुजासँग साँठगाँठ गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । त्यतिमात्र होइन्, कहिले राप्रपा त कहिले एमाओवादी बनी पार्टी परिवर्तन गरेको र बीबी एयरवेजका नाममा एनआरएनलाई बदनामी गरेको आरोप भट्ट माथि छ ।
एनआरएनका एक पूर्व पदाधिकारीका बुझाइमा उनीसँग पैसा भए पनि नेतृत्व गर्ने खुबीको अभाव छ । यद्यपि अबको एकबर्षमा मेहनत गरे शेषको विकल्पका रुपमा भवन हुन सक्ने भन्दै ती पदाधिकारीले थपे, ‘भवनजीको राम्रो बानी भनेको मानिसहरुलाई अप्ठेरो परेको बेला सहयोग गर्न तयार हुने हो, जापानका उहाँकै कारण थुप्रै नेपालीले व्यापार व्यवसाय र रोजीरोटी चलाएका छन् । तर उनीले आफूमाथि लागेका आरोपको प्रष्टीकरण दिन सक्नुपर्छ ।’
अध्यक्षका आकांक्षा देखाएका कुमार पन्तलाई भने एमालेको आडमा पद हत्याए पनि पटकपटक पार्टीलाई नै धोका दिएको आरोप छ । उनलाई महासचिवमा टिकट दिन पनि एमाले भित्र विवाद भएको थियो । महासचिवका आकांक्षी अष्ट्रेलियाका ध्रुव सुवेदीले पार्टीको निर्देशनमा पन्तलाई छाडिदिएका थिए । महाधिवेशन अघि काठमाडौंको होटल हिमालयनमा भएको उम्मेदवारी निर्णय गर्ने कार्यक्रममा शीर्ष नेताहरुकै अगाडि युरोपका एमाले समर्थकहरुले उनलाई भोट नहाल्ने बताएका थिए । यद्यपि तत्कालिन अध्यक्ष झलनाथ खनाल र प्रवास इन्चार्ज भीम रावलको निर्देशनमा एमालेले समर्थकले पन्तलाई महासचिव जिताए ।
तर, पार्टीको टिकट पाएर पनि अध्यक्षकै उम्मेदवार तेन्जी शेर्पालाई असहयोग गरेको, अघिल्लो कार्यकालमा युरोप संयोजक हुँदा पनि राष्ट्रिय समन्वय परिषदमा एमालेका उम्मेदवारविरुद्ध भूमिका खेलेको र विगतमा देवमान हिराचनलाई एमालेले टिकट दिँदा रामप्रताप थापालाई उचालेको आरोप पन्तमाथि छ ।
‘उनको केन्द्रबिन्दु नै जीवा लामिछाने हुन् । बिजनेश पार्टनर भएकाले जीवाको कुरा काट्न सक्दैनन् । पार्टीको धर्म, ह्वीप, निर्देशन सँधै दोस्रो प्राथमिकतामा पर्छन् ।’ उनीसँगै काम गरेका एक पूर्व पदाधिकारीले भने, ‘आवश्यकता अनुसार ठाउँ ठाउँमा एमालेको रुप धारण गर्ने गरेपनि धेरै एमाले समर्थक नै उनीसँग असन्तुष्ट छन् ।’ यसो त एमाले समर्थक भएर पनि वर्तमान उपाध्यक्ष टीबी कार्कीसँग उनले समन्वय नगरेको आरोप छ । उनको विषयमा एमालेको प्रवास संगठन नेपाली लोकतान्त्रिक मन्चले पार्टी नेतृत्वसँग मौखिक उजुरी गरेको छ ।
पन्तसँग वर्तमान अध्यक्ष शेष घले पनि चिढिएका छन् । काठमाडौंमा हायात होटलमा एक हप्ता अघि नै तयार पारिएको एनआरएन डे समारोहको पूर्वनिर्धिारित कार्यसूचीलाई महासचिव पन्तले थाहै नदिई तलमाथि पारिदिएको घलेको गुनासो थियो ।
कुटो कोदोलो चलाउने कि पैसावाल ?
एनआरएनको नेतृत्व संगठन बनाउनेले नै गर्ने कि पैसावालले गर्ने भन्ने सन्दर्भमा पनि बहस छ । खासगरि, यसअघिको महाधिवेशनमा आइसीसी सदस्यदेखि महासचिवसम्म पुगेका तेन्जी शेर्पालाई अध्यक्ष नबनी बिदा गरिएको थियो । एनआरएनका अध्यक्षमा शेष घले सल्लाहकारबाट एकैपटक अध्यक्ष बन्नुले पनि संगठनका लागि कुटोकोदोलो चलाउनेको भन्दा पनि यो पैसावालकै संगठन हो भन्ने नजिर स्थापित भइसकेको छ । क्षमता र त्यागका आधारमा भन्दा पनि पैसाको आडमा नेतृत्व चयन गरिने परिपाटीले बौद्धिक व्यक्तिहरु धमाधम एनआरएनबाट पाखा लाग्दैछन् ।
एनआरएनको हरेक महत्पूर्ण निर्णयमा उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचनहरु हाबी हुने गर्छन् । अघिल्लोपटक शेष घलेलाई टक्कर दिने आँट गरेका कारण तेन्जी पनि आगामी महाधिवेशनमा निर्णायक बन्नेछन् । तर, अहिलेको पदाधिकारीबाट उनीहरुले अध्यक्षको उम्मेदवार तय गर्ने सम्भावना कम छ । पूर्व पदाधिकारी पनि पाखा लागिसकेका छन् । जसका कारण घले नै दोहोरिन उपयुक्त हुने आइसीसी सदस्यहरु बताउँछन् । तर, उनले अबको दिनमा पूर्वअध्यक्षको मन कति जित्न सक्छन् ? त्यसैले उनको भावी नेतृत्वको निर्णय गर्ने देखिएको छ ।
‘घलेजीले म सिक्दैछु भनेर भन्ने गर्नुभएको छ, सिक्दैछु भनेपनि उहाँको नेतृत्वमा एनआरएनले गति लिइसकेको छ । वामे सर्दै गरेको यो संस्थालाई अगाडि बढाउन घलेजीको अर्को विकल्प हुन सक्दैन ।’– एनआरएन डे मनाउन नेपाल आइपुगेका एनआरएन अष्ट्रेलियाका एक पदाधिकारीले भने ।
यसो त काँग्रेस र एमालेसँग एनआरएनमा अर्कोपटकका लागि अध्यक्षको उम्मेदवार छैन । काँग्रेसले आफ्ना उम्मेदवारलाई छाडेर अघिल्लोपटक शेषलाई समर्थन गरेको थियो । एमालेले टीबी र कुमार पन्तलाई नगर्ने हो भने कोषाध्यक्ष बद्री केसीलाई समर्थन गर्नुपर्ने हुन्छ । तर, त्यो सम्भावना न्यून छ । एमालेको भावी नेतृत्वको रुपमा आशा गरिएका मध्ये अष्ट्रेलियाका भवानी ओली र धुव्र सुवेदी पहिल्यै ‘रिङ आउट’ भइसकेका छन् । आशलाग्दो व्यक्तिका रुपमा हेरिएका एमाले समर्थक पूर्व उपाध्यक्ष सागर नेपाल पनि अहिले आफ्नै व्यापार व्यवसाय सुधार्ने ध्याउन्नमा छन् । उनी एनआरएन सक्रिय राजनीतिमा छैनन् ।
के भन्छन् घले ?
तपाईं अध्यक्षको तयारी हुनुहुन्छ भन्ने चर्चा छ नि ? भन्ने दैनिक नेपालको प्रश्नमा घलेले घुमाउरो पाराले जबाफ दिए । ‘अध्यक्षमा दोहो¥याउन पर्छ कि आफै दोहिरन चाहन्छ भन्छन् ?’ घलेले उल्टै प्रश्न गरे ।
एनआरएन अभियानमा लाग्दा आफूले व्यवसायमा ध्यान दिन नपाएको उनको गुनासो छ । ‘व्यापार व्यवसायमा राम्रोसँग समय दिन पाएको पाए एक बर्षमा २५ मिलियन भन्दा बढी पैसा कमाइसक्थें, तर सामाजिक काममा लागेपछि गाह्रो रहेछ ।’ घलेको प्रतिक्रिया थियो ।
अहिलेका पदाधिकारीले एक्लै देश देश चहारेको आरोप लगाएपनि अबस्था यस्तो पनि देखिएको छ कि, घले जुन-जुन देशमा पुग्छन्, त्यही देशबाट मात्रै एनआरएनको भवन बनाउनका लागि राम्रोसँग रकम उठ्ने गरेको छ । घलेको अनुपस्थिति भए चन्दादाताले दिल खोलेर रकम दिने गरेका छैनन् । ‘एनआरएनका लागि रकम संकलन गर्न र अर्बौ लगानीमा राजधानीमा निर्माण सुरु भएको आफ्नै शेराटन होटलका लागि पनि उनलाई अध्यक्षमा दोहोरिनु बाध्यता छ । उनी अध्यक्षमा दोहोरिँदा एनआरएनका भवन निर्माण गर्न त सहज हुन्छ नै, आफ्नै होटल बनाउन पनि सहज हुनेछ । किनकी एनआरएनको बहालवाला अध्यक्ष हुँदा र नहुँदा नेपालको कर्मचारीतन्त्रले गर्ने सरसहयोग निकै फरक पर्छ । जसलाई घलेले राम्रोसँग बुझेका छन् ।’ एक गैरआवासीय नेपालीले भने ।
उनका अनुसार, घले आफू धेरै शालिन भएको र भद्र देखाउन अहिलेसम्मकै अध्यक्षहरु भन्दा अगाडि छन र सबै त्यसैमा लुटपुटि रहेका छन् । जसले पनि उनलाई आफ्नो मिसन पूरा गर्न सहज देखाएको छ ।
















प्रतिक्रिया