१ कार्तिक २०८३, शनिबार

रड प्रहारबाट वृद्धको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २८ असोज । सिरहाको बस्तीपुर गाविस–९ मा मंगलबार रड प्रहार गरी एक वृद्धको हत्या भएको छ ।

हत्या हुनेमा बस्तीपुर गाविस–९ का ६५ वर्षीय जुडी पासवान रहेका छन् । छिमेकीको झगडा छुट्याएर नजिकै रहेको चिया पसलको बेञ्चमा बसेका पासवानलाई पछाडिबाट बस्तीपुर– ८ का सीताराम पासवानले टाउकोमा रडले हिर्काएपछि बेञ्चबाट ढलेका थिए । त्यसपछि उनको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय सरिता पासवानले बताउनुभयो ।

आफ्ना सहोदर दाजुको हत्याले उनका भाइ ६० वर्षीय छुतहरु पासवान बेहोस भएपछि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

स्थानीय विन्देश्वर पासवानलाई छिमेकी रामविलास पासवानले सोमबार गाउँमै कुटपिट गरी मोबाइल र रु तीन हजार ५ सय खोसेको विषयमा गाउँमा छलफल राख्ने तयारी भइरहेका बेला स्थानीय शिवा पासवान र उनकी आमाले गाउँलेलाई गालीगलौज गरेको स्थानीय अरहुलिया पासवानले जानकारी दिनुभयो ।

“गाउँमा झैझगडा गर्नु हुँदैन” भन्दै छुट्याएर चिया पसलमा बसेका पासवानलाई सीतारामले रडले हानेको प्रत्यक्षदर्शी बताउँछन् । गाउँलेका अनुसार सीताराम, रामविलास, शिवा र स्थानीय आशा साहसहितको समूहले वृद्धलाई हत्या गर्ने योजनाअन्तर्गत सामान्य झगडालाई चर्काएका थिए ।

वृद्धको हत्यापछि प्रहरीले छानबिनका लागि भन्दै आशालाई नियन्त्रणमा लिएको छ । वृद्धलाई रड प्रहार गर्ने सीतारामसहितको समूह अहिले गाउँबाट फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

लहानबाट गएको प्रहरी टोलीले घटनास्थलमा मुचुल्का उठाएर शव परीक्षणका लागि लहान ल्याउने तयारी गरिरहेको छ । रासस