काठमाडौं, २८ असोज । पूर्वयुवराज पारस शाहलाई १२ दिनसम्म हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउनका लागि थाई प्रहरीले त्यहाँको अदालतसमक्ष अनुमति लिएको छ।
जसअनुसार प्रहरीले अनुसन्धान प्रक्रिया सकेपछि सुनुवाइका लागि जुनसुकै दिन अदालतमा पेस गर्न सक्ने थाइल्यान्डमा रहेका पारसका सहयोगीले सोमबार जानकारी दिए।
पारसले पछिल्लो समयमा आफ्नो कानुनी कामकाज गर्न जिम्मा दिन छाडेको थाइल्यान्डका वकिल साक्छाइलाई पुनः लागूऔषध प्रयोग गरेको मुद्दाको जिम्मा दिएर लुङखाइ लगिएको छ। हिजो बिहान कानुनी सल्लाहकार साक्छाइ र एक नेपाली सहयोगी लुङखाइ प्रहरी स्टेसनमा पुगेका छन्।
लागू औषध कारोबारमा दोषी देखाइएका पारसको मुद्दा फितलो बनाएर छुटाउन थाइल्यान्डका वकिल र नेपाली लागि परेका छन्। थाइल्यान्डमा रहेका एक नेपालीले मुद्दाको विषयमा हिजोबाट प्रारम्भिक प्रक्रिया अघि बढेको र केही दिनमा टुंगो लाग्ने जानकारी दिएको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।
तिहारलगत्तै पारसलाई नेपाल ल्याउने तयारी
यता, आजको नयाँ पत्रिका दैनिक लेख्छ – थाइल्यान्डमा गाँजा सेवनको अभियोगमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई तिहारलगत्तै काठमाडौं बोलाउने तयारी परिवारले गरेको छ। उनलाई धरौटीमा रिहा गराउने प्रयास भएको छ।
धीरेन्द्र शाहका छोरी सीताष्मा र बहिनी प्रेरणाले पारसलाई रिहा गराउन यसपटक चासो राखेका स्रोतको भनाई छ। स्रोतका अनुसार बाबु ज्ञानेन्द्र शाह र आमा कोमल पनि पारसको अवस्थामाबारे चिन्तित छन्। यसपटक रिहा भएमा जसरी भए पनि पारसलाई काठमाडौंमै बोलाउने तयारी शाही परिवारको रहेको स्रोतले दाबी छ।
चार वर्षको भिसाअवधि सकिएपछि गत २१ साउनमा तीन महिनाका लागि भिसा थप गरिएको थियो। अर्को पटक भिसाको म्याद नथपी नेपाल बोलाउनुपर्ने सल्लाह नातेदारहरूले परिवारलाई दिएको स्रोतले बतायो।
उता, पारस पक्राउ परेयता उनकी प्रेमिका सम्पर्कमा आएकी छैनन् । यसपटक पारस रिहा भएपछि प्रेमिकासित सम्बन्ध बिग्रन सक्ने र सजिलै नेपाल आउन तयार हुने विश्वास उनका साथीहरूको छ । पारसका परिवारले पनि पारससँग उनकी प्रेमिकाको सम्बन्ध बिग्रियोस् भन्ने चाहेको छ ।
तिहारसम्म पारसको मुद्दाको छिनोफानो भइसक्ने अनुमान पारसका परिवारले गरेका छन् । होटल तोडफोडको अभियोगमा लागेको मुद्दामा पारसले केही दिनअघि सफाइ पाएका थिए । पारसलाई छुटाउन अहिले उनका साथी राजेश सिंह केही रकम लिएर बैंकक पुगेका छन् ।
थाइल्यान्डको कानुनमा गाँजा सेवनलाई ठूलो अपराध मानिँदैन । गाँजा कारोबार भने जघन्य अपराध मानिन्छ । गाँजा सेवनको अभियोगमा पक्राउ परेको मुद्दामा धरौटीमा रिहा गर्न सकिने थाई कानुन छ । तर, पारस विगतमा पनि पटक–पटक गाँजा सेवनको अभियोगमा पक्राउ परेकाले यसपटक जेल सजाय हुनसक्ने आशंका पनि उनका साथीहरूको छ ।
















प्रतिक्रिया