काठमाडौं, २८ असोज । जनकवि केशरी धर्मराज थापाको मंगलबार बिहान निधन भएको छ ।
मंगलबार बिहान स्वयम्भुस्थित आफ्नै निवासमा ९२ बर्षको उमेरमा उहाँको निधन भएको हो । थापा लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । थापाको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिने छ ।
को हुन थापा ?
१९८१ साल साउनमा पोखराको बाटुलेचौरमा जन्मिएका थापाले हरियोडाँडामाथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, गाउँबेसी दुनियाँ बिउँझाउन, धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला, घर सम्झी रोएको होला, डाँडाकाटी गएको नेपाली लगायतका कालजयी गीत गाउनुभएको थियो ।
उहाँले २०१३ सालमा तत्कालिन राजा महेन्द्रबाट जनकवि केशरीको उपाधि पाउनुभएको थियो ।
२००८ सालमा कर्मचारीलाइ उक्साएर हड्ताल गरेबापत उहाँको गोर्खापत्र दैनिकको मुखियाको पद खोसुवा भएको थियो । त्यतिबेला डाक्टर केआइ सिंहको बिद्रोहलाई समर्थन गरेकोकै कारण ३० दिनसम्म उहाँले जेल जानुपरेको थियो । त्यसपछिको एकबर्ष उहाँ भारतका देहरादुन, आसाम, दार्जिलिङ लगायतका ठाउँमा पुगेर लोकभाका रेकर्ड गराउनुभएको थियो ।
जगदम्बा श्री पुरष्कारसहित दर्जनौं प्रतिष्ठित पुरस्कार र सम्मान प्राप्त गरेका थापाका एक सय भन्दा बढी गीत रेकर्ड भएका छन् भने २९ वटा कृति प्रकाशित छन्।
















प्रतिक्रिया