२८ आश्विन २०८३, बुधबार

पारसलाई छुटाउन पूर्वराजाले ७ लाख भाट बैंकक पठाए, प्रेमिकाको भूमिका शंकास्पद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras-Shah-girlfriend

काठमाडौं, २७ असोज ।  पूर्वयुवराज पारस शाह पक्राउको घटनामा उनकी थाई प्रेमिका कनिका चान्साईको भूमिका शंकास्पद देखिएको छ । आर्थिक लाभ लिने उद्देश्यले उनले पारसलाई योजनाबद्ध रूपमा फसाएको अनुमान गरिएको छ ।

थाइल्यान्डमा रहेका पारसका नेपाली साथीहरूका अनुसार पारसलाई पक्राउ गर्ने प्रहरी र कनिकाबीच चिनजान रहेको खुलेको छ । नोङ खाई प्रान्तस्थित कनिकाको घरनजिकैको गाउँबाट पारस बुधबार पक्राउ परेका थिए । ‘होटलबाट पारस घुम्न निस्किएपछि कनिकाकै सूचनाका आधारमा प्रहरीले पक्राउ गरेकोमा दुईमत छैन,’ पारसलाई सहयोग गर्दै आएका बैंककस्थित एक नेपाली भन्छन्, ‘अरूबाट प्रहरीले सुराकी पाउने कुनै सम्भावना नै छैन ।’ चेकिङको क्रममा नभई सुराकीको आधारमा पछ्याएर पारसलाई स्थानीय प्रहरीले पक्राउ गरेको उनको दाबी छ ।

आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली लेख्छन् – आर्थिक लाभ लिने उद्देश्यले कनिकाले पारसलाई फसाएको हुनसक्ने पारसका साथीहरूको भनाइ छ । पक्राउ परेपछि छुटाउनका लागि मोटो रकम खर्च गराउने रणनीतिका साथ कनिकाले घरनजिकैको प्रहरीलाई खबर गरेको उनीहरूको दाबी छ ।

कनिकाका पछिल्ला गतिविधिले पनि उनीहरूको दाबीलाई पुष्टि गर्छ । स्रोतका अनुसार अहिले कनिकाले नै प्रहरी र पारसबीच मध्यस्थता गरिरहेकी छिन् । धरौटीमा छुटाउनका लागि प्रहरीले सात लाख भाट (करिब २० लाख रुपैयाँ) घुस मागेको उनले पारसका साथीहरूलाई बताएकी छिन् । थाई प्रहरी विश्वमै भ्रष्ट प्रहरीको सूचीमा पर्छ ।

पारसका साथीहरू त्यति रकम घुस दिन पनि तयार भएका थिए । तर, पछि प्रहरीले थप पैसा मागेको भन्दै कनिकाले बढी रकम चाहिने बताएको स्रोतले जनाएको छ ।

शनिबार र आइतबार सरकारी बिदा भएकाले पारसलाई सकेसम्म सोमबार धरौटीमा छुटाउने प्रयास भइरहेको छ । सुरुमा प्रहरीसँग कुरा मिले पनि पछि जेल जान सक्ने भन्दै कनिकाले थप पैसा जुटाउन भनेपछि पारसका साथीहरू हैरान भएका छन् ।

‘पहिलेदेखि नै उनले पारसको कानुनी सल्लाहकारको रूपमा समेत काम गर्दै आएकी छिन्,’ बैंककस्थित एक नेपाली व्यवसायी भन्छन्, ‘यो केसमा पनि उनले मोटो रकम कमाउन चाहेकी छिन् ।’

स्रोतका अनुसार कनिकाले नै पारसका लागि लागुऔषध किनिदिने गरेकी थिइन् । लागुऔषध खरिदका लागि पनि उनले पारसबाट मोटो रकम लिने गरेकी थिइन् ।

यसअघि पनि पारस दुईपटक लागुऔषधसहित पक्राउ परेका थिए । त्यतिखेर पनि कनिकाको सुराकीकै आधारमा पक्राउ गरिएको नेपालीहरूको दाबी छ । ती मुद्दा लड्ने क्रममा पारसले लाखौँ भाट सिध्याएका छन्।

पूर्वराजा छोरा छुटाउने प्रयासमा

यता, नेपाल समाचारपत्रमा ईश्वरराज ढकाल लेख्छन्, विगतमा पूर्वयुवराज पारसलाई दुःख पर्दा साथ दिने तथा रकमको खाँचो पर्दा सहयोग गर्ने पूर्वराजपरिवारका आफन्त लागूऔषधसहित पक्राउ पर्दा भने कोही पनि आइतबारसम्म थाइल्यान्ड गएका छैनन्।

पारसलाई आपत्ति पर्दा सहयोग गर्ने धीरेन्द्रपुत्री दिलासा, शीताष्मा र पूजा शाही तथा नातेदार राजीव शाही निर्मल निवासमै छन्। हृदयाघातपछि डिस्चार्ज हुनुभएका पूर्वराजा ज्ञानेन्द्र छोराको क्रियाकलापपछि दिक्क हुनुभएको छ।

चिन्ताग्रस्त देखिनुभएका पूर्वराजा छोरा छुटाउन लागिपर्नुभएको बुझिएको छ। बहिनी प्रेरणा दाजु हिरासतमा परेपछि के गर्न सकिन्छ भनेर परिवारसँग सल्लाह लिइरहनुभएको छ। पूर्वयुवराज्ञी हिमानी पतिको यो हविगतबाट दिक्क हुनुभएको बुझिएको छ। बाबु ज्ञानेन्द्र बिरामी पर्दा र दशैंमा समेत पारस स्वदेश नफर्केपछि परिवार पहिलेदेखि नै चिन्तित रहेको थियो।

पूर्वयुवराज थाइल्यान्डकी प्रेमिका कन्निकासँग रहेकै बेलामा हिरासतमा परेपछि आफन्त मात्रै होइन उहाँलाई साथ दिने सहयोगीले समेत वास्ता गर्न छाडेका छन्। ‘परिवारका कोही सदस्य थाइल्यान्ड जाने तयारी गरेका छैनन्।’ –स्रोतले भन्यो। यतैबाट कुराकानी गरेर पारसलाई हिरासतमुक्त गर्ने तयारी भइरहेको बताइएको छ।

स्रोतका अनुसार पारसलाई हिरासतमुक्त गर्न हुन्डीमार्फत रकम पठाइएको छ। थाइल्यान्डस्थित एक नेपालीले भने– ‘नेपालबाट करिब ७ लाख भाट आएको छ। जमानतमा छुटाउन सो रकम आएको हुन सक्ने आशंका गरिएको छ।’ अदालतमै नगईकन प्रहरीले अनुसन्धान गरिरहेको सो मुद्दाको प्ररम्भिक छलफल आज सोमबार हुने भएको छ।

पारससित तीनथरी लागुऔषध भेटिए

थाई प्रहरीले पारस तीनथरी लागुऔषधसहित पक्राउ परेको मौखिक जानकारी बैंककस्थित नेपाली दूतावासलाई गराएको छ । कोकिन, गाँजा र आइस ड्रग राख्ने बट्टामा थोरै लागुऔषध भेटिएको थियो । सबै लागुऔषध १० ग्रामभन्दा कम परिमाणको रहेको दूतावासलाई जानकारी गराइएको छ ।

थाई कानुनअनुसार कोकिन सबैभन्दा धेरै सजाय हुने लागुऔषधको दोस्रो नम्बरमा पर्छ । पारसको साथबाट १० ग्राम कोकिन बरामद भएको थाई मिडियाले जनाएका छन् । समाचारअनुसार १० ग्राम कोकिन बरामद भएको भए उनलाई जेल सजाय हुनसक्छ । पारसको गाडीबाट प्रहरीले लागुऔषध बरामद गरेको थियो । कडा कानुन भए पनि थाइल्यान्ड विश्वमा धेरै लागुऔषध उत्पादन र कारोबार हुने देशमा पर्छ ।

थाइल्यान्डको जेलमा थुनिने नेपालीको संख्या ७२ पुगेको छ । सबैजसो लागुऔषध ओसारपसारको कसुरमा जेल परेका हुन् ।

थाइल्यान्डमा धादिङकी एक महिला लागुऔषध ओसारपसार गर्ने गिरोहको नाइकेका रूपमा सक्रिय छिन् । उनलाई पक्राउ गर्न थाई प्रहरीले नेपाल प्रहरीलाई आग्रहसमेत गरेको छ । जेलमा रहेका अधिकांश नेपाली पनि धादिङकै छन् ।