म नास्तिक हुँ। सामाजिक सन्जालमा घेरै साथीहरूले जहिल्यैपनि उनीहरूको ईश्वरको विज्ञापन गरेको देख्दा मलाई पनि यस विषयमा बहस गर्न मन पर्यो। यो लेख यसै सन्दर्भमा एक जना सज्जन, जो हिन्दु धर्मावलम्बी हुनुहुन्छ, उहाँलाई मैले दिएको जवाफ हो। यहाँ उहाँको टिप्पणी समावेश गरिएको छैन।
संसारको बास्तबिकता वा ठोस यथार्थ हाम्रो चाहना, हेराई र सोचाईमा भरपर्ने होइन । तर नैतिकता वा सामाजिक मर्यादा चाँहि हाम्रो दृष्टिकोणमा भरपर्न सक्छ । यदि कुनै कुराको, मानौं भगवानको कुनै प्रमाण छ भने मात्र उसको अस्तित्व स्वीकार्ने हो, प्रमाण छैन भने भगवान छ भन्ने कुरो झुटो हो । हामीले नदेखिने प्रमाणबिहीन कुराको (ईश्वर) भर पर्न वा डर छाडेर हाम्रो लागि हामी आफ्नै राम्रो हुनुपर्दछ । धर्मले ग्रहण लाग्ने कुरा मात्र होईन, त्यसबाहेक अरु थेरै कुराको ज्ञान भएको दाबी गर्दछ । तर अरू कुनै पनि दाबीको प्रमाण दिंदैन । धर्मको पुस्तक लेख्ने पनि मानिस नै हुन् । धर्म भनेको हजारौ वर्ष पहिलेका मानिसहरूले संसार बुझ्न गरेको पहिलो प्रयास मात्र हो । तर आज मानिसको ज्ञानको बिकास धेरै बृहत भैसकेको छ । तसर्थ धर्ममा भनिएको कति कुरा सहि पनि हुन्छन तर धर्मको मुख्य कुरा जस्तै भगवान, दानब, भुतप्रेत, पुनर्जन्म, स्वर्ग, नर्क आत्मा, बोक्सी, ज्योतिस्शास्त्र, राशिफल आदिको अस्तित्वको र सत्यताको कुनै प्रमाण छैन । तसर्थ ती सबै कुरा झुटा हुन् । अनि मानिसलाई अनेक वाहियत नियम बनाएर सताउने, हेप्ने, दल्ने, भ्रममा पार्ने, अपत्यारिला कथा कथेर मन भुल्याउने र मन एकोहोर्याउने, एक आपसमा लडाउने आदि सबै कुरा हावादारी, अर्थहीन र मानिसको लागि अहितकर कुरा हुन् ।
ज्योतिस्शास्त्र पुरानो हो तर त्यो पनि झुट हो । यदि कुनै कुरो पुरानो छ र अहिलेसम्म तगिरहेको छ भने त्यो सत्यनै हुन्छ भन्ने होइन । धर्म मान्ने मानिस सबै गलत वा खराब भनेर म कहिल्यै पनि भन्दिन । तर तिनीहरुको संसारलाई हेर्ने र बुझ्ने जुन तरिका हो, त्यो चाँहि अवस्य गलत हो । तर धर्मले धेरै राम्रा मानिसलाई नराम्रा र मूर्खतापूर्ण कुरा गर्न बाध्य पार्दछ । मानिस आफैंमा राम्रो वा नराम्रो हुन्छ, धर्म मान्नु र नमान्नुले केही फरक पार्दैन । मानिसको राम्रो र नराम्रो छुट्याउने मस्तिस्क हुन्छ । सामाजिक मर्यादा र नैतिकता पनि धर्मको देन होइन । तपाईंले पनि यदि ईश्वर छैन भन्ने बुझ्नु भयो भने भोलिपल्ट देखि नै मानिस मार्दै, बलात्कार गर्दै अवश्य नै हिड्नु हुदैन होला । अहिले जस्तै नै भलाद्मी भएरनै बांकी जीवन बिताउनु हुन्छ । मात्र तपार्इंको संसारप्रतिको बुझाई फरक हुनेछ र तपाईले कतिपय धार्मिक अन्धबिश्वासहरु छाड्नु हुनेछ ।
यो संसार भगवानको रचना हो र यो उसैको शक्तिमा चलेको छ भन्ने कुनै प्रमाण छैन, त्यसैले म त्यो कुरो मान्दिन । धर्मशास्त्रमा त्यो कुरो लेख्दैमा सत्य हुँदैन । ती पुस्तकमा लेखकले त्यो कुरो लेखकलाई कसरी थाहा भयो वा त्यसको जाँच कसरी गर्ने भनेर कुनै कुरो पनि उल्लेख गरेको छैन, तसर्थ सम्पूर्ण धर्मशास्त्र मिथ्य हुन् र तिनमा विश्वास गर्ने कुनै आधार नै छैन । धर्मले मानिसलाई बालककालदेखि व्रेन वास गरेर, कथित भगवानको र नर्कको डर धम्की देखाएर, विभिन्न सामाजिक र पारिवारिक बन्धनमा पारेर ज़बर्जस्ती मानिसमा थोपरिएको हो ।
पृथ्बी, सुर्य, चन्द्र, मंगल ग्रह वा सम्पूर्ण बिश्व ब्रह्माण्ड कसरी भयो भनेर ठोस रुपमा कसैले भन्न सक्दैन । हरेक धर्मको आफ्नो आफ्नो सृष्टिको बनावटी र हावादारी कथा छ, कुन चाँहि पत्याउनु, कुन चाँहि नपत्याउनु ? सबै आफू मात्र सही र अरु चाँहि झुट भन्छन् । भगवानले सृष्टि गरेको भन्ने कुनै प्रमाण छैन, त्यसैले सम्पूर्ण धर्मको कथाहरु बनावटी र झुट हुन् । विज्ञानले ब्रह्माण्ड र जीवको उत्पतिको बारेको अध्ययन गरिरहेको छ । कति कुरा हामीलाई बिस्तारै थाहा हुनसक्छ र कति क़ुरा कहिलैपनि थाहा नहुन पनि सक्छ । तर हामीलाई थाहा भएन भने पनि त्यसको मतलब ‘भगवान’ भन्न मिल्दैन किनभने भगवानको पनि कुनै प्रमाण छैन । विज्ञानले पृथ्बीमा जीव आफ्नै उत्पत्ति भएको (Evolution) र ब्रह्माण्ड पनि भगवान बिना नै यो अवस्थामा पुगेको (Big Bang) भन्ने कुरा प्रमाणसहित देखाइसकेको छ ।
हिन्दु धर्म शास्त्रमा चन्द्रमा, सुर्य आदिको कथा पनि आउँछ । कथामा तिनीहरुले बोलेको ,हिडेको आदि कुरा भनिएको छ । सुर्यले त सात वटा घोडामा चडेर पृथ्वीको परिक्रमा गर्छ भनिएको छ । तपाईलाई थाहा नै छ, सुर्य ग्याँसको डल्लो हो भने चन्द्रमा पनि पृथ्बी जस्तै एक पिण्ड हो । बास्तबमा, सुर्यले पृथ्वीको परिक्रमा नगरेर पृथ्वीले चाँहि सुर्यको परिक्रमा गर्दछ र सुर्यको चड्ने घोडा पनि हुदैन । अब तपाईंको शास्त्रको कथालाई तपाई कुन रुपमा लिनुहुन्छ ? हाम्रो अहिलेको संसारिक बुझाई र विज्ञानको आधारमा ति कथाहरु सबै झुट र बनावटी हुन् । यदि कुनै पुस्तकमा यस्तो स्पस्ट रुपमा गलत कुरो छ भने त्यो पुस्तकका अरु प्रमाणबिहीन कुरा पत्याउनु मानव चेतना र सभ्यताको आपमन गर्नु हो ।
विष्णुले बध गरेको मधु र कैटवबाट पृथ्वी बनिएको, हनुमानले सुर्य निलेको, शिवले मान्छेको टाउको काटेर हात्ती तथा बोकाको जोडिदिएको, शिवलिङगले ब्रह्माण्ड ढाकेको, त्यत्रो भुँडे गणेश सानो छुचुन्द्रोमा चढेर यात्रा गरेको, शिब को विर्यबाट निस्केको आगो ताप्दा सप्तऋषिका पात्नीहरु गर्भवती भएको र गङगामा गई उल्टी गर्दा कुमार उत्पन्न भएको अनि दक्षप्रजापतीको श्रीमतीले तेत्तीस कोटी देउताहरुको निम्ति तेत्तीस कोटी छोरी पाइदिएको आदि आदि कुरा अपत्यारिला, अप्राकृतिक, असम्भव र काल्पनिक कथा मात्र हुन।
यहाँ के स्पस्ट हुन्छ भने, हाम्रा पुर्खाहरुले उनीहरुको ज्ञानले भ्याएको र देखेको अनि कल्पना गरेको आधारमा धर्मको स्थापना गरेको हो। र
यो प्रक्रिया संसारभर नै चल्यो, त्यसकारण त आज यति धेरै धर्म र भगवान छन् अनि सबै आफूलाई एक मात्र सत्य भन्छन । सबैले एक अर्काको अस्तित्वलाई स्विकार्दैनन, अनि मारामार गर्छन । भगवानले मानिसको होइन, मानिसले चाँहि भगवानको रचना गरेको हो, कल्पनामा र पुस्तकमा । भगवान मानिसको कल्पना हो त्यसैले त देख्दै नदेखेको र नदेखिने भगवानको स्वरुप मानिससंग मिल्छ । भगवानले पनि बिवाह गर्छन, कोहीकोहीले त बाल विवाह गर्छन, बहुबिवाह गर्छन अनि कोहीले चाँहि झुक्क्याएर करणी गर्छन । भगवानलाई पनि रिस उठ्दछ अनि आफैँ दानब बनाएर युद्ध गर्दछन्, आफ्नै पुत्रलाई पनि रिसको सुरमा मारिदिन्छन ।
अमेरिकाको पैसामा “In God We Trust” 1957 AD. बाट मात्र लेख्न थालिएको हो । त्यो भन्दा अगाडि थिएन । आज पनि धेरै मनावाताबादी मानिसहरुले त्यसको बिरोध गरिरहेका छन् र अदालतमा मुद्धा भैरहेको अवस्था छ । भविष्यमा त्यो कुरो हराउन सक्छ किनकी यो संबिधान बिपरित छ अनि देशका नास्तिक नागरिकहरुलाई समेट्दैन । अमेरिका धर्म निरपेक्ष देश हो र यसको संविधानले सरकारलाई कुनै पनि धर्मको स्थापना गर्न वा पक्ष लिन बाट बन्चित गर्छ अनि सरकार धर्मबाट अलग हुनु पर्छ भन्छ । यसको इतिहास हेर्दा, तत्कालिन रुस र चिन लगायत अरु कम्युनिस्ट देशहरुसंगको शित युद्धमा कमुनिज्म भन्दा फरक हुनलाई र जनतालाई कमुनिज्मबाट अलग राख्न यो कुराको सुरुवात गरेको हो । इश्वर प्रतिको दृष्टिकोण लगभग एउटै भएपनि कमुनिज्म र नास्तिकताबीच एक अर्कासंग केही लिनु या दिनु छैन । नास्तिक हुदैमा कम्युनिस्ट हुन्छ भन्ने हुदैन ।
डाक्टर वा कोही कोही बैज्ञानिक वा जुनै पेशाका मानिस पनि धार्मिक हुन सक्छन । किनकी उनीहरुलाई पनि सानैदेखि त्यही कुरो सिकाइएको हुन्छ र ठुलो भएपछि दिमागमा गाडिएको कुरो अनि भावनासंग जोडिएको कुरो छाड्न त्यति सजिलो हुदैन । डाक्टरले भगवान पुकार्नु भगवानको अस्तित्वको प्रमाण होइन । डाक्टर लगायत हामी सबैलाई थाहा छ, बिरामीको उपचार डाक्टरले गरको हो, भगवानले होइन । मानिस धार्मिक छन्, त्यसैले तिनीहरुले धार्मिक कुरा गर्छन, भगवान पुकार गर्छन तर धार्मिक कार्यक्रम र जीवन पद्धति पनि भगवानको अस्तित्वको प्रमाण होइनन् । भगवान छैनन् भन्दै धार्मिक पुस्तक जलाउनु मुर्खता हो अनि अरु मानिसलाई धर्म मान्न बाधा पुर्याउनु मानब अधिकारको हनन गर्नु हो । तसर्थ ज्ञानी मानिसले त्यसो गर्दैनन् । संसारको कुनै पनि ठाउँमा धर्म मान्नु कानुनी अपराध होइन, त्यसकारण धर्म मान्ने वा प्रचार गर्नेलाई कुनै पनि सजाय हुदैन र हुनु पनि हुदैन किनकी त्यो अपराध होइन । तर बेलायतमा चाँहि स्कूलमा संसारको रचना भगवानले गरेको हो भनेर पढाउन भर्खरै निषेध गरिएको छ किनकी त्यो कुरो प्रमाणबिहीन हो र झुटो कुरो स्कूलमा सिकाउनु हुँदैन । धर्म मान्न जहाँ पनि छुट छ तर नमान्न वा परिवर्तन गर्न चाँहि कतिपय देशमा छुट छैन । कतिपय मुस्लिम देशमा धर्म नमान्दा वा परिवर्तन गर्दा ढुंगाले हानेर मार्ने जस्ता अमानवीय कानुन छन् ।
हो, तपाई हामी भन्दा धेरै पढेको मानिस भगवानमा विश्वास गर्छन तर तिनीहरुको पनि आफ्नो आफ्नो धर्म र भगवान हुन्छ र एकआपसमा मिल्दैनन् । ती सबै मानिस सानैदेखि धार्मिक वातावरणमा हुर्किएको हुनाले ठूलो भएपछि धर्मलाई प्रश्न गर्न सक्दैनन् वा विभिन्न सामाजिक कारणले नास्तिक हुँ भनी खुलेर भन्न पनि सक्दैनन् । फेरी, तपाई हामी भन्दा धेरै पढेको मानिस पनि नास्तिक छन् । विशेषगरि धेरै प्रतिशत बैज्ञानिकहरु नास्तिक छन् र मानिसले जति धेरै समालोचनात्मक रुपले सोच्न थाल्दछ त्यति धेरै भगवानमा विश्वास गर्न छोड्दछ ।
संसारमा जुन देशमा धर्मको शासन छ, त्यहाँ धेरै लडाईं, झगडा, असमानता, अशिक्षा र कम बिकास भएको छ । जस्तैः मुस्लिम देशहरु । अनि जुन देश धर्म निरपेक्ष वा नास्तिक छन्, त्यहाँ धेरै समानता, शान्ति, शिक्षा र बिकाश छ । जस्तैः अमेरिका, चीन, रुस र उत्तर युरोपेली देशहरु ।
आफ्नो परिवारको कुरो गर्दा, हामीले व्यक्तिगत अधिकारको सम्मान गर्नु पर्दछ । म नास्तिक भएपनि मेरो परिवारका सदस्य धार्मिक हुन सक्छन र त्यो तिनीहरुको अधिकारको कुरो हो । मेरो ब्यक्तिगत जीवन अनि संसारिक बुझाईसंग उनीहरुलाई मुछ्न मिल्दैन र मैले मेरो नस्तिकताको प्रमाण दिन उनीहरुको व्यक्तिगत जीवनलाई बाधा दिन मिल्दैन । मेरो संसारिक जीवनको बुझाईको समर्थनको लागि धार्मिक पुस्तक समाजको सामु जलाउनु भन्ने कुरो मुर्खता हो । र समाज सुधार्ने तरिका पुस्तक जलाउने होइन । कुनै पनि पुस्तक जलाउनु आवश्यक छैन । फेरी मैले मेरो जीवन मा के गरूँ वा कसरी बाँचू, सबै कुरा समाजलाई हिसाब किताब बुझाउनुपर्छ भन्ने पनि छैन । मानिस आफैँमा स्वतन्त्र छ र कुनै पनि धर्म अनुरूप चल्नु पर्छ भन्ने पनि छैन, केवल कानुनी दायरामा रहेर कसैलाई हानी नपुर्याई बाँचेमा त्यो नै असल मानिस हो । धर्मको नाममा अरुको ब्यक्तिगत स्वतन्त्रता र अधिकारको हनन गर्नु अनि अपमान गर्नु कदापी पनि राम्रो होइन ।
धेरैजसो मानिसहरू आफ्नो धर्म र ईश्वरलाई मात्र सत्य अनि अरूको धर्म र ईश्वरलाई असत्य मान्छन। तसर्थ तिनीहरू आफ्नो धर्म र ईश्वरवाहेक अरू धर्म र ईश्वरप्रति नास्तिक छन्। त्यसैले हामी सबै नास्तिक हौं। तर म जस्ता कोही कोही चाँहि एक खुड्किलो माथि उठेर सम्पूर्ण धर्म र ईश्वर प्रति नाश्तिक छौं।














प्रतिक्रिया