बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

सिफारिसपत्र गाविसमै थन्कियो

दैनिक नेपाल २०७१ असोज २६ गते ६:१९

fasttracललितपुर, २६ असोज । काठमाडौं र तराई जोड्ने दु्रत मार्ग (फास्टट्रयाक) निर्माणकार्य अलपत्रमा परेको छ । काठमाडौं–तराई दु्रत मार्ग आयोजनाले पठाएको वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी सिफारिसपत्र गाविसमा थन्किएपछि आयोजनामा ढिलाइ हुने देखिएको हो ।

सरकारले खोकनावासीको मागबारे स्पष्ट धारणा सार्वजनिक नगरेको भन्दै स्थानीयले विरोध गरिरहँदा गाविसबाट सिफारिसपत्र तयार हुन सकेको छैन ।

स्थानीयले जग्गाको मुआब्जा मात्र विवादित विषय नभएको भन्दै अन्य ठूला आयोजना, रोजगारीलगायत गाउँको मौलिक पहिचान, सांस्कृतिक सम्पदा र प्राकृतिक सम्पदा तीनै पक्षसहित अन्य मुद्दाका विषयमा एकमुष्ट सरकारले स्पष्ट धारणा दिनुपर्ने बताएका छन् ।

आयोजनाले गाविसलाई फास्टट्रयाकबारे स्पष्ट जानकारी दिनुपर्ने खोकना सरोकार समितिका संयोजक श्याम महर्जनले बताए । ‘वातावरणीय प्रभाव मूल्यांकनको पत्रको स्वीकृतिअघि खोकनावासीहरूको माग सम्बोधन हुने ग्यारेन्टी हुनुपर्छ,’ उनले भने, ‘हामी फस्टट्रयाक विरोधी होइनौं ।’

खोकनावासीले भैंसेपाटीस्थित रेडियो नेपालको टावर, खानेपानी पाइप लाइन विस्तारलगायत थुप्रै परियोजनालाई जग्गा उपलब्ध गराएको तर उचित प्रतिफल नपाएको गुनासो गरेका छन् ।

खोकना गाविस सचिव नगेन्द्र पौडेलले वातावरणीय मूल्यांकन स्वीकृत सिफारिस पत्रबारे आवश्यक छलफल भइरहेको बताए ।

‘तिहार अगाडि सहमति गरी पठाउने योजना छ,’ उनले भने । अन्तर्राष्ट्रिय मापदण्डअनुसार योजना सञ्चालन गर्नुपूर्व वातावरणीय मूल्यांकन गर्नुपर्ने प्रावधान रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

काठमाडौं–तराई दु्रत मार्गको आयोजना लेखा शाखाका प्रमुख वासुनाथ लुइँटेलले वातावरणीय मूल्यांकनसम्बन्धी स्वीकृतपत्र गाविसले पठाएमा काम चाँडै अघि बढ्ने बताए । ‘खोकनावासीले आफ्नो माग मौखिक रूपमा मात्र दिएका छन्,’ उनले भने, ‘लिखित रूपमा आए सम्बोधनका लागि आवश्यक कदम चाल्न सकिन्छ ।’

लुइँटेलले सिफारिसपत्र आइसकेपछि मालपोत कार्यालयबाट लगत लिई जिल्ला प्रशासन कार्यालयलाई रेखांकनको जिम्मा दिने बताए । सेनाले ट्रयाक खोल्ने काम खोकना आसपासका क्षेत्रबाहेक अन्यत्र गरिसकेको छ ।

जग्गाको मुआब्जा वैज्ञानिक ढंगबाट हुनुपर्ने एमाले गाउँ कमिटीका अध्यक्ष ज्ञानभक्त डंगोलले बताए । ‘कृषकहरूलाई रोजगारी सिर्जना हुने गरी व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘गाउँ विस्थापित नहुने र संस्कृतिक सम्पदाको संरक्षण हुने गरी योजना अघि बढ्नुपर्छ ।’

वाग्मती करिडोर, १३३ केभीको प्रसारण लाइन, बाहिरी चक्रपथको बिन्दु खोकनामा पर्ने भएकाले गाउँ नै सखाप हुने जोखिम रहेको स्थानीयवासी बताउँछन् । कृषि पेसामा निर्भर खोकनावासीलाई रोपनीको ८/९ मुरी धान फल्ने जग्गाबाट आउने मुआब्जाले परिवार पाल्न समस्या हुने स्थानीय यबु टोलका ३६ वर्षीय कृष्णहरि महर्जनले बताए ।

प्रतिक्रिया
सम्बन्धित