शनिबार, १४ मंसिर २०७६
DainikNepal.com
शनिबार, १४ मंसिर २०७६

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह

दैनिक नेपाल २०७१ असोज २५ गते २२:५०

sushil-koirala

काठमाडौँ, २५ असोज । प्रधानमन्त्री सुशील कोइरालाले मुलुक र जननीप्रति आफ्नो पनि जिम्मेवारी भएको महसुस गर्दै लगानीका लागि गैरआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ ।

गैरआवासीय नेपाली दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकमा क्रमशः लगानीको वातावरण बन्दै गएकाले खुला मनले लगानी गर्न आग्रह गर्नुभएको हो ।

मुलुकलाई सधैँ गरिबी र अभावमा राख्न नहुनेमा जोड दिँदै उहाँले आर्थिक समृद्धिबिनाको राजनीतिसमेत स्थिर हुन नसक्ने भएकाले विदेशमा सिकेको सीप र योग्यतालाई राष्ट्र हितमा प्रयोग गर्न सुझाव दिनुभयो ।

एकपटकको नेपाली सधैँको नेपाली भएकाले आफू नेपाली होइन कि राज्यले कुनै पनि सहयोग गर्दैन कि भन्ने हीन भावना नराख्न अनुरोध गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘‘ मुलुकको राजनीतिक क्रमशः सफलताको दिशातर्फ केन्द्रित भएको छ, तोकिएकै समयमा संविधान पनि जारी हुन्छ । संविधान जारी भएपछि मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्छ ।’’

रोजगारीको खोजीमा विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी प्रदान गर्न सरकार एक्लैले केही पनि गर्न नसक्ने भएकाले सबैको साथ र सहयोग जरुरी रहेको उहाँको कथन थियो ।

शान्ति, विकास र लोकतन्त्रको युग मुलुकमा सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले सबैको समान सहयोग भएमात्र केही वर्षभित्रै राष्ट्रमा देख्न र अनुभव गर्न सकिने परिवर्तन हुने बताउनुभयो ।

सो अवसरमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र आर्थिक उन्नतिको दिशामा सबै राजनीतिक दलको समान धारणा भएकाले लगानीको वातावरण छैन कि भनेर हिच्किचाउन नहुने बताउनुभयो ।

दुई अङ्कको आर्थिक वृद्धि नहुँदासम्म मुलुकमा जारी बेरोजगारी, अशिक्षा, गरिबी न्यून हुन नसक्ने बताउँदै उहाँले आगामी माघ ८ गतेभित्र लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुने र आर्थिक समृद्धिको बाटोमा सबै राजनीतिक दल लाग्ने विश्वास दिलाउनुभयो ।

आर्थिक वृद्धिको लागि आठ अर्बभन्दा बढी लगानी गर्नुपर्ने तर्क गर्दै उहाँले गरिबी, बेरोजगारी, अशिक्षा र अभावको अन्त्य नगर्दासम्म युवा शक्तिको पलायन रोक्न नसकिने धारणा व्यक्त गर्नुभयो ।

परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले विदेशमा रहेका गैरआवासीय नेपाली नागरिक मुलुकको अवैतनिक राजदूत भएको भावना राखेर काम गर्न आग्रह गर्नुभयो ।

हाल नेपालले १३८ मुलुकसँग कुटनीतिक सम्बन्ध राखेको भएपनि नेपाली दूतावास केवल ३२ मुलुकमा मात्रै रहेको जानकारी दिँदै मन्त्री पाण्डेले बाँकी अन्य मुलुकका रहेका गैरआवासीय नेपाली नै नेपालको सच्चा प्रतिनिधि भएको बताउनुभयो । वैदेशिक लगानी भित्र्याउन दिलोज्यानले लाग्नसमेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालको माया गर्ने र नेपालीको हित चिताउने जो कोहीलाई सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो । सरकार गैरआवासीय नेपालीलाई विशेष नागरिकता दिने पक्षमा रहेको उहाँको कथन थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्षहरू उपेन्द्र महतो र जीवा लामिछाने एवम् संरक्षक रामप्रताप थापालगायतले मुलुकप्रति इमान्दार भएर लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभएको थियो ।

हाल विश्वका करिब ७० मुलुकमा करिब ४० लाख नेपाली रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित