सिद्धार्थनगर, २५ असोज । गौतमबुद्धको जन्मस्थान लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा रहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
लामो समयको अन्योललाई चिर्दै विमानस्थल निर्माणको मुख्य लगानीकर्ता एसियाली विकास बैंकले असोज २४ गते अन्तिम सूचना जारी गर्दै अन्योलको अन्त्य गरेको हो ।
निर्माण गर्नका लागि परेका छवटा निर्माण कम्पनीको बोलपत्रमा सबैभन्दा कम लागतमा निर्माण गर्न इच्छुक चाइना साउथ वेस्ट कन्स्ट्रक्सन ग्रुपलाई छनोट गरेको गौतमबुद्ध विमानस्थलको सूचना शाखाले जनाएको छ ।
कम लागतमा निर्माण गर्न इच्छुक रहेको चाइना साउथ वेस्ट कन्स्ट्रक्सन ग्रुपलाई सेक्युरिटी बोन्ड दिनका लागि एडिबीले पत्र काटिसकेको गौतमबुद्ध विमानस्थलका प्रमुख धर्मेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको वैकल्पिक रुपमा निर्माण गर्न लागिएको गौतमबुद्ध विमानस्थलको स्तरोन्नति सन् २०१७ जुन २ तारिखसम्म निर्माण सम्पन्न गरिने लक्ष्य रहेको नागरिक उड्डयन प्राधिकरण शाखाले जनाएको छ ।
प्रथम चरणमा विमानस्थलको तीन हजार मिटरको रनवे, ट्याक्सी वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकीय भवन, आन्तरिक तथा बाह्य पेरिफेरि रोड, एअर कार्गो भवन, सुरक्षा पोष्टहरु, नदी डाइभर्सनलगायतका निर्माण कार्यहरु रहेको गौतमबुद्ध विमानस्थल शाखाले जनाएको छ ।
विमानस्थल निर्माणपछि ७७७ का बोइङ पनि उडान र अवतरण गर्न सकिने छ । रासस













प्रतिक्रिया