वीरेन्द्रनगर (सुर्खेत), २५ असोज । सुर्खेतमा पछिल्लो समय मानसिक रोगीका बिरामी बढ्न थालेका छन् ।
शुक्रबार देशभर विश्व मानसिक रोग दिवस मनाइरहँदा सुर्खेतमा भने ५०० भन्दा बढी मानसिक रोगका बिरामी रहेको तथ्य खुलेको छ ।
मानसिक तनाव बढेपछि कमजोर मानिसमा मानसिक रोग देखिने गरेको पाइएको छ । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम सुर्खेत भए पनि उपचारको प्रभावकारी व्यवस्था नहुँदा मानसिक रोगका बिरामी बढ्न थालेको बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले मानसिक रोगीका लागि सरकारले राम्रो कार्यक्रम नबनाएको जनाएको छ । गैरसरकाररी संस्थाले सञ्चालन गरेका विभिन्न कार्यक्रम पनि सीमित समयका लागि हुने भएकाले काम प्रभावकारी नदेखिएको पाइएको छ ।
जिल्ला स्वास्थ्य शिक्षा प्राविधिक वसन्तमान श्रेष्ठले जिल्लाभर ५०० भन्दा बढी मानसिक रोगी भेटिएको बताउनुभयो । मानसिक रोगीमा पनि ६० जना कडा खालका मानसिक रोगी भेटिएको पनि उहाँले बताउनुभयो ।
जिल्लाका तीन गाविस सालकोट, दशरथपुर र मेहलकुना प्राथमिक स्वास्थ्य केन्द्रमा मानसिक रोगको उपचार गरिने व्यवस्था भएको जानकारी दिनुभयो । यी केन्द्रमा सिएमसीको सहयोगमा उपचार सेवा सञ्चालन गरिएको हो ।
सिएमसीको चार वर्षे अवधि सकिएकाले अहिले निरन्तरता दिन चुनौती देखिएको स्वास्थ्य शिक्षा प्राविधिक श्रेष्ठले उल्लेख गर्नुभयो ।
उहाँले जिल्लाभर मानसिक रोगको उपचार गर्ने व्यवस्था हुनुपर्ने भए पनि व्यवस्था हुन नसक्नु दुःखद् भएको बताउनुभयो । तीनवटै स्वास्थ्य केन्द्रमा पनि सबैखाले मानसिक रोगीलाई आवश्यक पर्ने औषधि उपलब्ध नहुँदा पनि उपचारमा समस्या देखिएको छ । रासस













प्रतिक्रिया