काठमाडौँ, २२ असोज । प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संसद सुचारु गर्ने विषयमा भएको छलफल निष्कर्षविहीन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटवार्तामा नयाँ संविधान निर्माणका क्रममा दलहरुबीच देखिएका केही असहमतिका बुँदा राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणाली र अवरुद्ध संसद् सुचारु गर्ने विषयमा उहाँहरुबीच कुराकानी भएको थियो ।
करिब एक घण्टा भएको छलफलमा प्रधानमन्त्री कोइरालाले माघ ८ गतेभित्र नयाँ संविधान जारी गर्न दलहरु अझ सहकार्य र सहमति गरी अगाडि बढ्नुपर्छ भन्दै सहमतिद्वारा नै संविधान निर्माणमा आफूले प्राथमिता दिएको अध्यक्ष प्रचण्डलाई भन्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कोइरालाले लामो सयम संसद् अवरुद्ध भइरहँदा यसको असर जनतालाई पुग्ने भन्दै अवरुद्ध संसद् सुचारु गर्न सहयोग गर्न प्रतिपक्षी दलका नेता प्रचण्डलाई आग्रहसमेत गर्नुभएको थियो ।
जबाफमा प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनसम्बन्धमा दलहरुबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कोइरालालाई आग्रह गर्नुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
















प्रतिक्रिया