काठमाडौं, २२ असोज । सरकारी अधिकृतहरूले प्रयोग गर्ने नीलो पासपोर्ट मानव तस्करीमा दुरूपयोग हुने गरेको छ। पासपोर्ट दुरूपयोग गर्ने केही उच्च सरकारी अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले छानबिन थालेको छ।
सेमिनारका नाममा सरकारी कर्मचारीसँगै सर्वसाधारणलाई पनि विभिन्न देशमा पठाउँदै आएका नुवाकोटका श्यामराज पाण्डेले मिलेमतोमा नीलो पासपोर्ट दुरूपयोग गरेका छन्। पाण्डे डेढ महिनादेखि प्रहरी हिरासतमा छन्। पाण्डेको ठगीको जालो ठूलो रहेकाले अनुसन्धान जारी रहेको केन्द्रीय अनुसन्धान ब्यूरो९सिआइबी०का निर्देशक डिआइजी हेमन्त मल्लले बताए।
पाण्डेले सरकारी कर्मचारीको मिलेमतोमा नीलो पासपोर्ट दुरुपयोग गरेको आशंकामा अख्तियारले समेत अनुसन्धान थालेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ । स्रोतका अनुसार भौतिक योजना तथा निर्माण मन्त्रालयका १२ भन्दा बढी कर्मचारी छानबिनमा तानिएका छन्।
सहरी फोहोर प्राविधिक व्यवस्थापन सेवा तथा समीक्ष टी एन्ड कफी नामक दुई गैरसरकारी संस्था स्थापना गरी पाण्डेले विभिन्न देशमा हुने सेमिनारमा नेपालका उच्चपदस्थ कर्मचारीलाई पठाउने गरेका थिए। त्यसबापत सरकारी कर्मचारीहरूले पनि मानव तस्करीका लागि भिसा नोट दिएर सहयोग गर्दै आएको प्रहरीले जनाएको छ। सोही क्रममा नीलो पासपोर्ट पनि दुरुपयोग भएको प्रहरी आशंका छ।
पाण्डेविरुद्ध वैदेशिक रोजगार विभाग, सिआइबी र महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगीका विभिन्न उजुरी छन्। सिआइबी स्रोतका अनुसार सयभन्दा धेरै पीडितले पाण्डेविरुद्ध उजुरी दिएका छन्। अमेरिका पठाइदिने भन्दै लाक्पा शेर्पा नामक युवालाई मात्र उनले ४० लाख रुपैयाँ ठगी गरेको खुलेको छ।
प्रहरीका अनुसार मन्त्री, सभासद्, सचिव, सहसचिवलगायतलाई पाण्डेले आफ्नो संस्थाबाट विभिन्न देश पठाएका थिए। त्यही आधार देखाएर सयौँ युवासँग पैसा उठाएर उनले ठगी गरेको अनुसन्धानमा आबद्ध प्रहरीको भनाइ छ।















प्रतिक्रिया