किशोर पन्थी
न्युयोर्क, २२ असोज । अमेरिकामा नेपालीहरुले एसाइलम शरणार्थीका सबै पुराना रेकर्ड तोडेका छन् । विगतका वर्षहरुको तुलनामा अमेरिकामा एसाइलम गर्ने (ग्रीनकार्डका लागि शरणार्थी बन्ने) र एसाइलम स्वीकृति पाउने नेपालीहरुको संख्या बढेपछि पुराना रेकर्डहरु तोडिएका हुन् । अमेरिकामा सबैभन्दा धेरै एसाइलम स्वीकृत हुने देशका व्यक्तिमा नेपालीहरु सन् २०११ मा छैठौं र सन् २०१२ मा पाँचौं नम्बरमा रहेकोमा गतवर्ष अर्थात् सन् २०१३ मा चौथो नम्बरमा उक्लेका छन् । गतसाता अमेरिकी सरकारले सार्वजनिक गरेको रिपोर्टमा एसाइलम स्वीकृत हुने विश्वकै देशका व्यक्तिहरुको सुचीमा नेपालीहरु अग्रपंक्तिमा देखिएका हुन् । सन् २०११ सम्म सबैभन्दा धेरै व्यक्तिको एसाइलम स्वीकृत भएका देशको सुचीमा नेपालभन्दा अगाडि चीन, भेनेजुयला, इथोपिया, इजिप्ट र हैटी रहेका थिए । सन् २०१२ मा नेपालीहरुले हैटीका नागरिकहरुलाई उछिनेर एसाइलम स्वीकृत हुने देशको सुचीमा पाँचौं नम्बरमा परे । गतवर्ष अर्थात् २०१३ मा त नेपालीहरुले भेनेजुयलाका नागरिकलाई समेत उछिनेर चौथो नम्बरमा आएका छन् ।
यदि सिरियामा संकट नहुँदो हो त यो वर्ष नेपालीहरुले इथोपियाका नागरिकहरुलाई पनि उछिनेर तेश्रो नम्बरमा आउने उच्च सम्भावना रहेको थियो । किनभने अमेरिकामा एसाइलम स्वीकृति पाउने नेपालीहरु र इथोपियाका नागरिकको अन्तर निकै कम रहेको छ । गतवर्ष ८५४ जना नेपालीले एसाइलम स्वीकृति पाउदा ८९३ जना इथोपियनले अमेरिकामा एसाइलम स्वीकृति पाएका थिए । अर्थात् यो जम्मा ३९ जनाले फरक हो । तर यो वर्ष अमेरिकामा आएर एसाइलम गर्ने सिरियनहरुको संख्या ह्वात्तै बढेकाले नेपाल र इथोपियालाई सिरियाले उछिन्ने सम्भावना छ । किनभने सन् २०१३ मा एसाइलम स्वीकृति पाउने ८११ जनामध्ये ७६३ जनाले त सिधै एसाइलम अफिसरबाटै स्वीकृति पाएका थिए भने अदालतबाट स्वीकृति पाउनेहरु ४८ जना रहेका थिए । त्यस्तै सन् २०१२ मा ३६४ जना सिरियनहरुको एसाइलम स्वीकृत भएकोमा ३२७ जनाले एसाइलम अफिसरबाटै स्वीकृति पाएका थिए भने ३७ जनाले अदालतबाट । सिरियामा अशान्ति सुरु भएको वर्ष सन् २०११ मा ६० जनाले अमेरिकामा एसाइलम स्वीकृति पाएका थिए जसमध्ये ४६ जनाले एसाइलम अफिसरबाटै स्वीकृति पाएका थिए । सन् २०१३ मा सिरियामा भिषण युद्ध सुरु भएकाले र सन् २०१४ को अप्रिलसम्ममा त झण्डै २ लाख सिरियनहरुले ज्यान गुमाइसकेकाले यो वर्ष अमेरिकामा एसाइलम गर्ने र स्वीकृति पाउने सिरियनहरुको संख्या गुणात्मक रुपमा बढ्ने निश्चित छ ।
नेपालीहरुले सन् २००४ मा १६३ जनाले, सन् २००५ मा २३७ जनाले, सन् २००६ मा २११ जनाले, सन् २००७ मा २८१ जनाले, सन् २००८ मा ३४७ जनाले, सन् २००९ मा ४९३ जनाले, सन् २०१० मा ४०८ जनाले, सन् २०११ मा ४१७ जनाले, सन् २०१२ मा ५७२ जनाले र सन् २०१३ मा ४७३ जनाले दिएको एसाइलम आवेदन युएससीआईएसका एसाइलम अफिसरले नै स्वीकृत गरे । उनीहरुलाई अदालतसम्म पुग्नु परेन । नेपालीहरुले सन् २००४ मा ९३ जनाले, सन् २००५ मा ८५ जनाले, सन् २००६ मा १६५ जनाले, सन् २००७ मा १३१ जनाले, सन् २००८ मा १५२ जनाले, सन् २००९ मा १७२ जनाले, सन् २०१० मा २३१ जनाले, सन् २०११ मा ३२३ जनाले, सन् २०१२ मा ४०३ जनाले र सन् २०१३ मा ३८१ जनाले अदालतबाट आवेदनउपर स्वीकृति प्राप्त गरे । अदालतले सुनुवाइका लागि बोलाएपछि उनीहरुका पक्षमा निर्णय दिएको हो । यसरी अदालतसम्म पुग्नेहरु मेक्सिकोको बाटोहुँदै अमेरिका छिर्न खोज्दा पक्राउ परेकाहरु, युएससीआईएसको एसाइलम अफिसरले एसाइलम स्वीकृत नगरेकाहरु र इमिग्रेसन स्टाटसको उल्लंघन गर्दा अमेरिकामा पक्राउ परेकाहरु हुन् ।
केही नेपालीहरु नेपालमा बस्न असुरक्षा भएको कारण देखाउदै उतैबाट शरणार्थीको दर्जा प्राप्त गरेर पनि अमेरिकामा आएका छन् । यसरी अमेरिकामा आउनेहरु सन् २००७ मा ३ जना, सन् २००८ मा ४ जना, सन् २००९ मा ७ मा, २०११ मा १० जना , सन् २०१२ मा ४७ जना र गतवर्ष सन् २०१३ मा ३४ जना रहेका थिए । यसरी नेपालबाटै शरणार्थीको दर्जा प्राप्त गरेर अमेरिका आएकाहरुले अमेरिकामा आएर एसाइलमका लागि आवेदन दिनु पर्दैन । उनीहरुले सिधै ग्रिनकार्डका लागि आवेदन दिन पाउँछन् । यसरी शरणार्थीको रुपमा अमेरिका आएकाहरु भुटानीहरु सन् २००६ मा ३ जना, सन् २००८ मा ५३२० जना, सन् २००९ मा १३४५२ जना, सन् २०१० मा १२३६३ जना, सन् २०११ म १४९९९ जना, सन् २०१२ मा १५०७० जना र गतवर्ष अर्थात् सन् २०१३ मा ९१३४ जना रहेका छन् । यसरी सन् २०१३ सम्ममा ७० हजार ३ सय ४१ जना भुटानी शरणार्थीहरु अमेरिकामा आएका छन् ।
अमेरिकामा एसाइलम स्वीकृत भएका बुबाआमा वा श्रीमान् श्रीमतिसँग बस्नका लागि ग्रिनकार्ड पाउनेगरी आउने नेपालीहरुको संख्या एसाइलम स्वीकृत हुने नेपालीहरुको भन्दा धेरै छ । किनभने एकजनाको एसाइलम स्वीकृत भएका उसका श्रीमान् वा श्रीमति र २१ वर्ष ननाघेका छोराछोरीहरु अमेरिकामा आउन पाउँछन् । यसरी अमेरिका आउनेहरु सन् २०११ मा १ हजार ८२ जना रहेको थिए । यो संख्या एसाइलम स्वीकृत भएर विश्वभरबाटै बुबाआमा वा श्रीमान् श्रीमति भेट्न अमेरिका आउनेहरुमध्येको ९ दशमलव ७ प्रतिशत हो । सन् २०१२ मा यसरी अमेरिकामा आउनेहरु ८२६ जना रहेका थिए भने गत वर्ष सन् २०१३ मा जम्मा ७०५ जना यसरी अमेरिकामा आएका थिए ।
मेक्सिकोको बाटो हुँदै गैर कानुनी रुपमा अमेरिका छिरेर एसाइलम गर्नेहरुमा पनि नेपालीहरु अग्रपंक्तिमा देखिएका छन् । यद्यपी सिमा क्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्नेमा मेक्सिकनसहितका दक्षिण अमेरिकीहरुको संख्या अत्यन्तै ठूलो छ तर उनीहरु एसाइलम नगरी अमेरिकामा लुकिछिपी बस्ने भएकाले सिमा क्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिरेर एसाइलम गर्ने र स्वीकृति पाउने नेपालीहरुको संख्या ठूलो देखिन आएको हो । सिमा क्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिरेर एसाइलम गर्ने र स्वीकृति पाउनेहरुमा नेपालीहरुभन्दा अगाडि चिनिया र इथोपियनहरु रहेका छन् । सन् २०११ मा एरिट्रिया पनि नेपालभन्दा अगाडि थियो तर सन् २०१२ देखि नेपालले एरिट्रियालाई पनि उछिन्दै आएको छ । कैयन भारतीयहरु समेत सिमा क्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्ने भएता पनि अमेरिका छिरेर एसाइलम गर्ने र स्वीकृति पाउनेहरुमा नेपालीहरुभन्दा भारतीयहरु पछाडि नै छन् ।
अमेरिकाले दुईप्रकारका मान्छेहरुलाई शरण प्रदान गर्दै आएको छ । अमेरिका बाहिर रहेका एवं उनीहरुका आफन्तहरुलाई रिफ्युजी कार्यक्रम अन्तरगत र अमेरिका आइसकेका एवं उनीहरुका आफन्तहरुलाई एसाइलम कार्यक्रम अन्तरगत अमेरिकाले शरण प्रदान गर्दै आएको छ । यसै कार्यक्रम अन्तरगत सन् २०१३ मा ६९ हजार ९ सय ९ जना व्यक्ति अमेरिकामा रिफ्युजीका रुपमा शरण लिन आएका थिए । गतवर्ष अमेरिकामा रिफ्युजीका रुपमा शरण लिन आउने देशका व्यक्तिमा इराकी, बर्मेली र भुटानीहरु सबैभन्दा धेरै रहेका थिए । गतवर्ष अर्थात् सन् २०१३ मा नै २५ हजार १ सय ९९ जनाको एसाइलम अमेरिकामा स्वीकृत गरिएको थियो जसमध्ये १५ हजार २ सय ६६ जनाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगत सिधै एसाइलम अफिसरबाटै र ९ हजार ९ सय ३३ जनाको डिपार्टमेन्ट अफ जस्टिस अन्तरगत अदालतबाट स्वीकृत गरिएको थियो । एसाइलम अफिसर र अदालतबाट एसाइलम स्वीकृत हुने देशका व्यक्तिमा चिनिया, इजिप्सियन र इथोपियनहरु सबैभन्दा अगाडि रहेका छन् । गतवर्ष अमेरिकामा एसाइलम स्वीकृत भएका आफन्तहरुसँग आउनेहरु १३ हजार २६ जना रहेका थिए । यसरी अमेरिकामा एसाइलम स्वीकृत भएकाहरुका आफन्तहरुमा चीन, हैटी र इथोपियाका नागरिकहरु सबैभन्दा धेरै रहेका छन् । अमेरिकामा एसाइलम स्वीकृत भएर अमेरिकामा नै रहेका उनीहरुका आफन्तहरुले पनि अमेरिकामा स्थायी बसोबासको कानुनी हैसियत प्राप्त गर्छन् । त्यस्ता व्यक्ति सन् २०१३ मा २२ सय ४० जना रहेका थिए ।
अमेरिकामा रिफ्युजी वा एसाइलम स्टाटसका लागि योग्य हुनका लागि कुनै पनि आवेदनक अध्यागमन तथा राष्ट्रियता ऐनको परिभाषाभित्र पर्नुपर्छ । यो ऐनमा कुनै पनि व्यक्ति कुनै जाती, धर्म, राष्ट्रियता वा कुनै पनि राजनीतिक वा सामाजिक समुहको सदस्य भएका आधारमा भएको असुरक्षाका कारण उसलाई आफ्नो देशमा फर्कने अवस्था नभएमा वा असुरक्षाको डरका कारण कुनै व्यक्ति आफ्नो देश फर्कन नचाहेमा त्यस्तो व्यक्तिले रिफ्युजी वा एसाइलमको स्टाटस प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ । रिफ्युजी स्टाटस प्राप्त गर्न चाहने व्यक्ति अमेरिका बाहिर भएको हुनुपर्छ भने एसाइलम स्टाटस प्राप्त गर्न चाहने व्यक्ति अमेरिकाभित्र वा अमेरिका छिर्ने नाकामा रहेको हुनुपर्छ ।
रिफ्युजी स्टाटसमा अमेरिका आउनेबारे तथ्यगत विश्लेषण
अमेरिकामा सन् १९४८ मा ल्याइएको विस्थापित व्यक्तिबारेको ऐन नै रिफ्युजी सम्बन्धी पहिलो कानुन हो । यो कानुन लागु भएपछि ४ लाख पूर्वी युरोपियनहरु रिफ्युजीका रुपमा अमेरिकामा आए । सन् १९५३ र सन् १९६० मा रिफ्युजी सम्बन्धी थप कानुन ल्याइयो । त्यसपछि सन् १९७० सम्म लाखौं मान्छेहरु रिफ्युजीका रुपमा अमेरिकामा आए । सन् १९६७ मा संयुक्त राष्ट्रसंघको प्रोटोकलले कुनै पनि देशबाट शरणार्थीका रुपमा आएकाहरुलाई उनीहरुका देशमा फर्कन निषेध गरिदियो । त्यसपछि आएका कानुनहरुले रिफ्युजी र एसाइलम स्टाटसका बारेमा निश्चित मापदण्डहरु स्थापित गरिदियो । सन् २०१३ मा ७० हजार रिफ्युजीहरुलाई शरण दिने अमेरिकी योजना रहेको थियो जसमध्ये अधिकांश इराक, इरान र भुटानी शरणार्थीहरु रहेका छन् ।
सन् २०१३ मा अमेरिकामा रिफ्युजीको स्टाटसमा ६९ हजार ९ सय ९ जना आएका थिए, जुन अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढी हो । अघिल्लो वर्ष ५८ हजार १ सय ७९ जना व्यक्ति रिफ्युजी स्टाटसमा अमेरिकामा आएका थिए । सन् २००२ मा निकै कममात्र रिफ्युजीहरुलाई अमेरिका आउन दिइएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलापछिको सुरक्षा अवस्थाका कारण सन् २००२ मा निकै कममात्र रिफ्युजीहरु अमेरिकामा आएपनि त्यसपछि सन् २००९ सम्म आइपुग्दा भने रिफ्युजीका रुपमा अमेरिकामा आउनेहरुको संख्या बढ्दै गयो । सन् २००९ देखि ११ मा रिफ्युजीका रुपमा अमेरिका आउनेको संख्या केही घटेपनि सन् २०१२ देखि भने ह्वात्तै बढेको छ ।
रिफ्युजीका रुपमा सन् २०१३ मा अमेरिका आउने ६९ हजार ९ सय ९ जनामध्ये ४५ प्रतिशत अर्थात् ३१ हजार ६ सय ९८ जना मुल आवेदकहरु थिए भने ३९ प्रतिशत उनीहरुका बच्चाबच्ची र १६ प्रतिशत उनीहरुका श्रीमान् वा श्रीमतिहरु रहेका थिए । त्यसैगरी कुल संख्याको २ दशमलव ३ प्रतिशत अर्थात् १६४१ जना भने आफ्ना नजिकका आफन्तहरुसँग मिसिन अमेरिका आएका थिए । सन् २०१३ मा रिफ्युजीको स्टाटसमा अमेरिका आउनेहरुमा २८ प्रतिशत इराकी, बर्माका २३ प्रतिशत, भुटानका १३ प्रतिशत र सोमालियाका ११ प्रतिशत रहेका थिए । यी चारवटा देशबाटमात्रै ७५ प्रतिशत रिफ्युजीहरु अमेरिकामा आएका थिए । सन् २०१३ मा अमेरिका आएका रिफ्युजीहरुमा ३४ प्रतिशत १८ वर्ष मुनीका रहेका छन् । अमेरिका आउने रिफ्युजीहरुमा ५४ प्रतिशत पुरुषहरु रहेका थिए भने ३८ प्रतिशत विवाहित रहेका थिए ।
अमेरिकामा एसाइलम स्टाटस पाउनेबारे तथ्यगत विश्लेषण
साधारणतया कुनै व्यक्ति अमेरिकामा वा अमेरिका छिर्ने नाकामा रहेको छ भने तीनप्रकारले एसाइलम स्टाटस प्राप्त गर्नका लागि आवेदन दिनसक्छ । युएससीआईएसको एसाइलम अफिसरमार्फत, अमेरिकाबाट हटाइने प्रकृयामा रहेको अवस्थामा अदालतमार्फत र एसाइलम प्राप्त गरेका व्यक्तिका दम्पत्ति वा छोराछोरीले एसाइलम स्टाटस प्राप्त गर्न सक्छन् । एसाइलम स्टाटस प्राप्त गर्नका लागि अमेरिका छिरेको एकवर्षभित्रै आवेदन दिइसकेको हुनुपर्छ । अन्यथा एकवर्षभित्र आवेदन दिन नसक्नुको असाधारण कारण पेश गर्न सक्नुपर्छ । आई ५८९ नामको फारम भरेर अमेरिकामा एसाइलमका लागि आवेदन दिन सकिन्छ ।
एसाइलम स्वीकृत भएका कुनै पनि व्यक्तिलाई अमेरिकाभित्र रहेर काम गर्ने अनुमति प्राप्त हुन्छ । त्यो बाहेक उनीहरु रोजगारका लागि सहयोग, सोसल सेक्युरिटी कार्ड र सामाजिक सेवा लगायतका केही निश्चित फाइदा लिनका लागि समेत योग्य हुन्छन् । यदि कुनै पनि व्यक्तिको स्टाटस अद्यावधिक छ र उसले युएससीआईएसमा आवेदन दिदा एसाइलमको योग्यता स्थापित नसकेको खण्डमा उसको आवेदन नै अस्वीकृत हुन्छ तर त्यो व्यक्तिको पुरानो स्टाटस भने कायमै रहनेछ । अर्थात् कुनै व्यक्ति विद्यार्थी भिसामा भएको अवस्थामा उसको एसाइलम आवेदन अस्वीकृत भएपनि उसको विद्यार्थी भिसा भने कायमै रहन्छ । उसले एसाइलम आवेदन स्वीकृतिको माग गर्दै अदालतमा जान पाउँदैन । यदि आवेदकको स्टाटस अद्यावधिक छैन र एसाइलम पनि स्वीकृत भएन भने उसलाई युएससीआईएसले अमेरिकाबाट निकाल्ने प्रकृयामा राख्छ । त्यतीबेला आवेदकले आफूलाई न्यायाधिस समक्ष प्रस्तुत गर्ने मौका पाउँछ । कुनै पनि व्यक्ति अमेरिकामा कागजपत्रविहिन भएका कारण वा भिसा सकिएका कारण वा भिसाको उल्लंघन गरेका कारण वा आवश्यक कागजात विना नै अमेरिका छिर्ने प्रयास गरेका कारण पक्राउ परेको खण्डमा पनि त्यस्ता व्यक्तिलाई उनीहरुको देशमा फिर्ता पठाउने प्रकृयामा राखिन्छ । त्यस्ता व्यक्तिले सिधै अदालतको शरण लिएर एसाइलम फाइल गर्न सक्छन् । न्यायाधिसले त्यस्ता व्यक्तिको आवेदन स्वीकार गर्न सक्छ । यदि स्वीकार गरेन भने बोर्ड अफ इमिग्रेशन अपिल र युएस कोर्ट अफ अपिलमा पुनरावेदन गर्ने अधिकार आवेदकसमक्ष हुन्छ ।
सन् २०१३ मा एसाइलम अफिसरबाट र अदालतबाट गरी २५ हजार १ सय ९९ जनाको एसाइलम स्वीकृत भएको थियो । जबकी सन् २०१२ मा २९ हजार ३ सय ६७ जनाको एसाइलम स्वीकृत भएको थियो । सन् २०१२ मा १७ हजार ३८९ जनाले एसाइलम अफिसरबाटै स्वीकृत पाए भने सन् २०१३ मा १५ हजार २ सय ६६ जनाको एसाइलम सुरुमै अफिसरले स्वीकृत गरे । सन् २०१२ को तुलनामा सन् २०१३ मा एसाइलम अफिसरले १२ प्रतिशत कम एसाइलम स्वीकृत गरेका थिए । त्यस्तै अघिल्लो वर्षको तुलनामा अदालतबाट एसाइलम स्वीकृतको दरमा पनि सन् २०१३ मा कमी आएको थियो । सन् २०१२ मा कुल ११ हजार ९ सय ७८ जनाको एसाइलम अदालतबाट स्वीकृत भएको थियो भने सन् २०१३ मा ९ हजार ९ सय ३३ जनाको एसाइलम अदालतबाट स्वीकृत भएको थियो । अमेरिकामा एसाइलम स्वीकृत भएका आफन्तको आधारमा अमेरिकामा आउनेको संख्या भने सन् २०१२ को तुलनामा गतवर्ष बढी रहेको थियो । अमेरिकामा एसाइलम स्वीकृत भएकाहरुका १२ हजार १ सय ४५ जना आफन्तहरु सन् २०१२ मा अमेरिका आएका थिए भने सन् २०१३ मा १३ हजार २६ जना अमेरिकामा आएका थिए ।
सन् २०१३ मा अमेरिकामा एसाइलम स्वीकृत हुने व्यक्तिका देशमा चीन, इजिप्ट, इथोपिया, नेपाल र सिरिया अग्रपंक्तिमा रहेका छन् । सन् २०१३ मा चिनका ३४ प्रतिशतले, इजिप्टका १४ प्रतिशतले, इथोपियाका ३ दशमलव ५ प्रतिशतले , नेपालका ३ दशमलव ४ प्रतिशतले र सिरियाका ३ दशमलव २ प्रतिशतले एसाइलम पाएका थिए । अदालतबाट एसाइलम पाउनेमा सन् २०१३ मा चीन, नेपाल र इथोपिया अग्रपंक्तिमा रहेका थिए । ४६ प्रतिशत चीनिया, ४ प्रतिशत इथोपियन र ३ दशमलव ८ प्रतिशत नेपालीहरुले सन् २०१३ मा अदालतबाट एसाइलमको स्टाटस प्राप्त गरे । एसाइलम अफिसरबाटै एसाइलम स्वीकृत हुने राज्यहरुको सुचीमा क्यालिफोर्निया सबैभन्दा अगाडि रहेको छ । एसाइलम अफिसरबाटै एसाइलम स्वीकृत पाउनेहरुमा सन् २०१३ मा ४२ प्रतिशत क्यालिफोर्निया, १३ प्रतिशत न्युयोर्क र १२ प्रतिशत फ्लोरिडामा बस्दै आएकाहरु थिए ।
लेखक न्यूयोर्कबाट प्रकाशित हुने खसोखास साप्ताहिकका प्रधान सम्पादक हुन्




















प्रतिक्रिया