विकासराज न्यौपाने
अमेरिका । नेपाली समाज टेक्साससँगको सहकार्यमा डालस एभरेष्ट लायन्स क्लबको आयोजनामा नेपाली हास्य जगतका सम्राट मानिने मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यको जोडीको साथमा भव्य कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रम टेक्सास राज्यमा अहिलेसम्मकै अभूतपूर्ब रहेको कार्यक्रमका सभापति प्रकाश गौतमले बताए । १७ सय ५० सिट क्षमता भएको कार्यक्रम हलमा क्षमता भन्दा बढी दर्शकहरुको सहभागी थियो । कार्यक्रमको इभेन्ट संयोजन गर्दै आएका प्रा. प्रभात दीक्षित तथा क्लबका पूर्व अध्यक्ष महेन्द्र पौडेलका अनुसार कार्यक्रममा झन्डै २० हजार डलर भन्दा बढी आर्थिक रकम मुनाफा भएको छ ।

‘मह साँझ’ कार्यक्रममा मदन कृष्ण श्रेष्ठ तथा हरिबँश आचार्यसँग कलाकारहरू बसुन्धरा भुसाल, किरण केसी, शिवहरी पौडेल, मोहित आचार्य, यमन श्रेष्ठको प्रस्तुति रहेको थियो । कार्यक्रममा अतिथि कलाकारहरुको प्रस्तुतिको फोटो खिच्न तथा भिडियो रेकर्ड गर्न प्रतिबन्ध लगाइएको जानकारी सञ्चालक रवि लामिछानेले गराएका थिए ।
डालस एभरेष्ट लायन्स क्लबका सचिव बी एन पन्तले औपचारिक कार्यक्रम सन्चालन गरेका थिए । कार्यक्रमको अन्त्यमा क्लबका अध्यक्ष खेमराज बास्तोलाले सम्पूर्ण दर्शक तथा कलाकारहरुलाई धन्यवाद दिएका थिए ।
त्यसै गरी युनिभर्सिटी अफ टेक्सास नेपाली विद्यार्थी समूहले पनि मह जोडीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा १ सय २० भन्दा बढीको सङ्ख्यामा नेपाली विद्यार्थीहरू सहभागी थिए ।
यसैगरी, मह जोडीलाई नेपाली आध्यात्मिक एवं सास्कृतिक समाजका संयोजक डा मुरली अधिकारीले नेपालीहरूद्वारा निर्मित आफ्नै १६ हजार वर्ग क्षेत्रको नेपाली मन्दिर तथा स्कुलको भ्रमण गराए । भवनका मुर्तिहरु देखेपछि हरिबँश आचार्यले पशुपति मन्दिरमा नै गएको अनुभव गर्दै नेपाल बाहिर यस्तो मन्दिर कमै भएको बताए ।
सोही दिन नेपाली समाज टेक्सासको आयोजनामा मह सम्मान कार्यक्रमको आयोजना पनि गरियो। नेपाली समाज टेक्सासका महासचिव विजयराज भट्टराईले नेपाली समाजद्वारा स्थापित उच्च तहको सम्मान पर्पल रिबन अवार्ड नेपाली हास्य व्यंगमा मात्र सीमित नभएर सामाजिक परिवर्तनका सम्बाहक बनेका कलाकारद्वय महलाई प्रदान गर्न लागिएको जानकारी गराए । कार्यक्रममा उपसभापति बाल जोशीले स्वागत तथा सदस्य कृष्ण लामिछानेले समाजका गतिविधि प्रस्तुत गरेका थिए ।

नेपाली समाज टेक्सासका कार्यबाहक अध्यक्ष तारा भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु गौरीराज जोशी, राम पोखरेल तथा डा प्रेमराज अधिकारीले समाजका तर्फबाट नेपाली हास्य विधाका मुर्धन्य कलाकारहरू मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यलाई पर्पल रिबन अवार्ड तथा अन्य कलाकारहरू बसुन्धरा भुसाल, किरण केसी तथा शिबहरि पौडेललाई सम्मान पत्र प्रदान गरे ।














प्रतिक्रिया