उत्तम अधिकारी
यूएई । एनआरएन यूएईको सहयोगमा मुलपानी क्रिकेट स्टेडियममा निर्माणहुने इन्डोर प्राक्टिस ग्राउण्डको सहयोगका लागि झन्डै ४० लाख रुपैया जुटेको छ ।
गत शुक्रवार दुबईमा सम्पन्न उक्त समितीको एक बिशेष भेलामा सो जानकारी गराउदै इन्डोर प्राक्टिस ग्राउण्ड निर्माण सहयोगअभियानका लागि गठित समितीको पुनर्गठन समेत गरिएको छ । सो बिशेष भेलाले २३ सदस्य रहेको समितिलाई १३ सदस्य मात्रै रहने गरी पुनर्गठन गरेको हो । समितिका संयोजक तथा गैर आवासीय नेपाली संघ आईसिसिका मध्यपूर्व संयोजक चन्द्र बहादुर रोकाहाको सभापतित्वमा सम्पन्न भेलाले केहि सदस्यहरुमा हेरफेर गरेको हो । जस अनुसार रोकाहाको संयोजकत्वमा कृष्ण प्रसाद भुसाल,बिकाश अधिकारी, प्रकाश कोइराला, चन्द्र प्रसाद सापकोटा, भूपति न्यौपाने, संजिव खड्का, सन्तोष प्रसाईं, गोपाल कंडेल, हेमन्त पौडेल, प्रकाश पौडेल, हिरालाल श्रेष्ठ र सुदिप कार्की सदस्यहरु रहने गरी समितिको पुनर्गठन गरेको छ ।
गैर आवासीय नेपाली संघ यूएईले २ बर्ष अगाडी काठमाण्डौको मुलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको छेउमा झन्डै ६२ लाख रुपैयाको लागतमा क्रिकेट इन्डोर प्राक्टिस ग्राउण्ड सहयोग स्वरूप निर्माण गरिदिने भन्दै नेपाल क्रिकेट संघसंग सम्झौता गरेको थियो । उक्त प्राक्टिस ग्राउण्ड निर्माणको लागि लाग्ने अर्थ संकलनका लागि गैर आवासीय संघ यूएईले संघका तत्कालिन अध्यक्ष रोकाहाको संयोजकत्वमा नेपाली रास्ट्रिय क्रिकेट टिमको जर्शी बिक्री अभियान संचालन गरेको थियो । सो भेलामा २ बर्षको अबधिमा संचालित सो अभियानका क्रममा संकलित रकम तथा सहयोगीहरुबाट प्रतिबद्धता स्वरूप व्यक्त भएका रकमको विवरण समेत सार्वजनिक गरियो ।
अभियानका संयोजक रोकाहाका अनुसार जर्शी बिक्री मार्फत झन्डै २५ लाख रुपैया संकलन भएको र सो मध्ये ११ लाख नब्बे हजार दुई सय रुपैया जर्शी उत्पादन गर्ने कम्पनीलाई बुझाएको र ५२ हजार सात सय अठ्तीस रुपैया कुरियर वापत खर्च भएको विवरण पेश गरेका थिए । चुक्ता गरी बाँकि हुन आएको १२ लाख रुपैया नेपाल क्रिकेट संघसंगको संयुक्त खातामा रहेको सो क्रममा जानकारी गराईएको थियो ।त्यसैगरी प्राप्त भएको जर्शीमध्ये ६१ हजार चार सय चौध यूएई दिर्हाम ९झन्डै १६ लाख रुपैया० संकलन हुन बाँकि रहेको जानकारी दिए । उक्त रकम बराबरको जर्शीहरु सो अभियानका सहयोगी, यूएईका बिभिन्न समाजसेवीहरुसंग रहेको, धेरैसँग रहेको जर्शिहरु बिक्री भैसकेको र त्यसको रकम संकलन कार्य भने बाँकि रहेको तथा बाँकि रहेका केहि जर्शिहरु पनि यथाशिघ्र बिक्री गरी सो रकम संकलनमा तदारुकताका साथ लाग्नु पर्ने आवस्यकताका बारेमा भेलामा प्रकाश पारिएको थियो । सो भेलाले उक्त जर्शी अभियानलाई आगामी ६ महिना भित्रमा सम्पन्न गरिसक्नु पर्ने म्यान्डेट सहित उक्त समितिलाई पुनर्गठन गरेको हो । तर जर्शी बाहेक अन्य क्षेत्रबाट प्राप्त हुने सहयोग अभियान भने इन्डोर प्राक्टिस ग्राउण्ड निर्माण अबधिभर नै संचालन गर्नसक्ने सो भेलाले निर्णय गरेको छ ।
त्यसैगरी गैर आवासीय नेपाली संघ आईसिसिका अध्यक्ष शेष घलेले १० लाख रुपैया सहितयूएई र यूएई बाहिर रहेका संघका पदाधिकारी, सदस्यहरु तथा अन्य समाजसेवीहरुले हालसम्म १४ लाख रुपैया भन्दा बढी उक्त अभियानका लागि उपलब्ध गराउने प्रतिबद्धता गरेका र सो रकम समेत यथाशिघ्र संकलन गरिने योजना रहेको रोकाहाले बताए । गत बर्षको नोभेम्बरमा यूएईमा प्रतिस्पर्धा गर्न आएको नेपाली क्रिकेट टिमलाई स्तरीय ब्याट सहयोग गर्ने क्रममा संकलित रकम मध्येबाट बचेको झन्डै १ लाख तिस हजार रुपैया पनि सोहि अभियानमा थपिने उक्त भेलामा बताइएको थियो । सोहि अभियानको सहयोगार्थ दुबईमा गत ३० मईका दिन आयोजित सत्य स्वरूप लाइभ कन्सर्टका संयोजक सन्तोष प्रसाईंले १ लाख रुपैया अभियानलाई उपलब्ध गराउने घोषणा गरेका छन् । संयोजक रोकाहाले निर्माण शुरु भएमा आवस्यक रकम सहयोग गर्न केहि समाजसेवी तत्पर रहेकाले योजना सफल हुनेमा कुनै शंका नरहेको स्पष्ट परेका थिए ।
उक्त अभियानका लागि जम्मा २ हजार छ सय सत्तरी जर्शी, २ सय नब्बे ट्राउजर र १७६ क्याप प्राप्त भएको जानकारी भेलामा गराइएको थियो । जसमध्ये झन्डै चालिस प्रतिशत रकम बराबरको जर्शी बजारमा रहेको र बिक्री भएतापनि नगद प्राप्त हुन बाँकि रहेको अनुमान छ ।
दुई बर्ष भित्रमा निर्माण पुरा गरिसक्ने लक्ष्य लिईएको उक्त इन्डोर प्राक्टिस ग्राउण्डको निर्माण कार्यको कार्य अझै शुरुवात हुन सकेको छैन । त्यसमाथि निर्माणाधीन मुलपानी क्रिकेट ग्राउण्डमा पनि बिगत केहि समयदेखि निर्माण कार्यको बिकाश नदेखिएकाले इन्डोर प्राक्टिस ग्राउण्डको योजना केहि पर धकेलिन गएको देखिन्छ ।














प्रतिक्रिया