कञ्चनपुर, २० असोज । विपद्का लागि स्थापना गरिएको आकस्मिक कोषबाट कर्जा लिएर देखतभूली–३ तिलकीका एक दर्जन युवा वैदेशिक रोजगारीमा गएका छन् ।
कोषमा जम्मा भएको रकम कर्जाका रुपमा लिएर १३ जना युवा वैदेशिक रोजगारीमा गएको इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष बालसुग्रिव रानाले बताउनुभयो ।
दुईजना युवालाई मलेसिया वैदेशिक रोजगारीमा पठाउन एक लाख ८० हजारका दरले र १० जना युवालाई राहदानी बनाउन २५ हजारका दरले कर्जाका रुपमा रकम प्रदान गरिएको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारीमा गएकामध्ये अधिकांशले पहिलो किस्ताबापत रु ५० हजारका दरले रकम कोषमा जम्मा गरेको उहाँले उल्लेख गर्नुभयो ।
“अझै वैदेशिक रोजगारीमा जानका लागि इच्छा देखाउने चारजना युवालाई कर्जा उपलब्ध गराउने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।
तीन प्रतिशत ब्याज लिने गरी छ लाख १० हजार कर्जाका रुपमा प्रदान गरिएको छ । कोषमा देउसी भैली खेलेर र नदी किनारामा संरक्षण गरिएको घाँस बेचेर समितिले रकम जम्मा गर्दै आएको छ । कोषमा हालसम्म रु सात लाख बढी रकम जम्मा रहेको छ ।
“समितिमा आबद्ध आर्थिक रुपमा विपन्न भएका दुईजनालाई कुखुरापालनका लागि रु १० हजारका दरले कर्जासमेत उपलब्ध गराएका छौँ”, समितिका सचिव मङ्गलप्रसाद चौधरीले भन्नुभयो ।
विगतमा कर्जा लिनका लागि स्थानीय साहुकहाँ जाँदा १५ प्रतिशतका दरले ब्याज तिर्दासमेत कर्जा पाउन मुस्किल हुन्थ्यो स्थानीय सुरेश रानाले भन्नुभयो, “गाउँमै कोष स्थापना गरिएपछि कर्जा पाउन सहज भएको छ ।”
बिरामी पर्दा विवाह र बालबालिकाको विद्यालयको खर्चका लागिसमेत कोषबाट रकम उपलब्ध गराउने व्यवस्था भएकाले गाउँमै सुविधा पाएको उहाँले बताउनुभयो ।
कोष नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरको पहलमा विसं २०६८ मा स्थापना गरिएको हो । कोषमा ६० घरघुरीका ३०० बढी परिवार आबद्ध रहेका छन् ।
















प्रतिक्रिया