काठमाडौं, २० असोज । नेटवर्किङ व्यवसायका नाममा संगठित ठगी धन्दा चलाएका युनिटीका केही संचालक जेल परेपनि केही भने जनता ठगेको पैसामा मस्ती गरिरहेका छन् । डेढ लाखभन्दा धेरै नेपालीबाट अर्बौ उठाई ठगी गरेका युनिटी लाइफ इन्टरनेशनलका मुख्य नाइके विष्णु क्षेत्री त्यही पैसामा मस्ती गरिरहेका छन् ।
अन्य अधिकांश संचालकहरू जेल परे पनि क्षेत्री भने प्रहरीसँगकै सेटिङमा खुलमखुल्ला हिड्दै आएका छन् । पछिल्लो समय युनिटीकै संचालकहरूसँग मुद्दा मिलाउन भन्दै उनले ५ करोड उठाउने अभियान थालेका छन् । विभिन्न प्रलोभन देखाउँदै डेढ लाखभन्दा बढी सर्वसाधारणबाट सदस्यताका नाममा सो कम्पनीले तीन अर्ब रुपैयाँ ठगी गरेको अनुसन्धानमा खुलेको थियो । सरकारले २०६७ जेष्ठ ३ गतेदेखि कम्पनीमा हस्तक्षेप गरेर संचालक र कर्मचारी लगायतलाई पक्राउ गर्न थालेको थियो । धेरै पक्राउ परेपछि प्रबन्ध निर्देशक रहेका विष्ण्ुा क्षेत्री हालसम्म पनि फरार नै छन् । अझै पनि उनी चलखेल गर्दै आएको स्रोत बताउँछ ।
२०७० साल चैत्र १७ गते ललितपुर जिल्ला अदालतका न्यायाधिश टेकनारायण कुँवरको इजलासले युनिटी लाइफको मुद्दालाई संगठित अपराध ठहर गरेको थियो । अदालतले संचालकहरू काशिराम गुरुङ, नेत्र राजवंशी, भीम गुरुङ, इन्द्र विक, विश्वनाथ गौतम, शिशिर योगी र तारेखमा रहेका लोकबहादुर टन्डन, गोविन्द ज्ञवाली र फरार रहेका विष्णु क्षेत्री, कृष्ण क्षेत्री र महेन्द्र केसीलाई समेत दोषी ठहर गर्दै जनही तीन वर्ष कैद र एक करोड छ लाख २६ हजार दुई सय ७३ रुपैयाँ जरिवाना तथा सोही बराबर हर्जाना पीडितहरूलाई बिगो भराउने फैसला गरिसकेको छ । तीन वर्ष कैद सजाय पूरा गरी काशिराज गुरुङबाहेक अरु छुटिसकेका छन् ।
युनिटी प्रकरणमै जेलपरेका नारायण सिवाकोटी, गोविन्द कोइराला, कुमार डंगोल, नेत्रकुमार राई, डाकबहादुर पराजुली, गुणप्रसाद भण्डारी, भानुभक्त कँडेल, रामप्रसाद घिमिरे, मञ्जु श्रेष्ठ, प्रिन्स सन्तोष साह, रत्नकाजी, धनकुमार गुरुङ, नारायणप्रसाद सापकोटा, तुलसीप्रसाद अधिकारी, जहरमान घिसिङ, हरिहर पौडेल र गणेश खातीलाई अदालतले पछि सफाई दिएको थियो । जिल्ला अदालतले लामो समय थुनामा बसेर सफाई पाउने व्यक्तिहरूलाई प्रति वर्ष थुनाबापत १ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिनसमेत आदेश दिएको थियो ।
न्यायिक क्षेत्रमा स्वच्छ छवि भएका र कतैबाट कुनै दाग नलागेका न्यायाधीश टेकनारायण कुँवरले युनिटीको मुद्दामा गरेको फैसलालाई न्यायिक क्षेत्रका ज्ञाताहरूले समेत निष्पक्ष र पीडितको पक्षमा फैसला गरेको भन्दै सराहनासमेत गरेका थिए । कुँवर उनै न्यायधीश हुन् जसलाई हालै मात्र मानव बेचबिखनविरुद्धको कानुन कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्याएबापत अमेरिकामा सम्मान गरिएको थियो । सोही मुद्दामा फरार रहँदै आएका विष्णुबहादुर क्षेत्रीले अहिले न्यायाधीश कुँवरको नाममा डिल्लीबजार र नख्खु कारागारमा थुनामा रहेका आफ्ना साझेदारहरूसंग उक्त मुद्दामा धेरै जरिवाना र कैद हुने र अन्य तीन मुद्दामा पनि सजाय हुनेमा अन्य तीन मुद्दा सफाई दिलाउन र ठगी मुद्दामा कम सजाय गरिदिन भन्दै पैसा असुलेका हुन् । आफूले न्यायाधीश कुँवरलाई भनेर मिलाएकोले उक्त बेलामा आफूले खर्च गरेको पाँच करोड रुपैया तुरुन्त चाहियो भन्दै थुनामा रहेका साझेदारका परिवार एवं आफन्तहरूसंग बार्गेनिङ गरिरहेको स्रोत बताउँछ ।
राज्यको नजरमा फरार र प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका र अदालतले समेत दोषी ठहर गरिसकेका क्षेत्री अहिले पनि केही भ्रष्ट प्रहरीको संरक्षणमा खुल्ला तरिकाले हिंडडुल गर्दै आएका छन् । कहिले भारत त कहिले उनी नेपाल बस्ने गरेका छन् । नेपालमा ललितपुर भैंसेपाटीमा रहेको उनको घरमा बस्ने गर्छन् । जहाँ हालै उनले श्रीषा शर्मालाई कान्छी श्रीमतीका रुपमा भित्राएका छन् ।
उता ललितपुर जिल्ला अदालतले मुद्दा फैसला गरेको पाँच महिनासम्म पनि फैसलाको पूर्णपाठ तयार गरेको छैन । सामान्यत आर्थिक वर्षको अन्त्यमा १ महिना अदालत बन्द गरेरै फैसलाको पूर्ण पाठ लगाएतका काम गर्ने गर्दछन तर युनिटीको मुद्दा फैसला भएको पाँच महिना बितिसक्दा पनि फैसलाको पूर्ण पाठ नदिंदा त्यही पूर्णपाठको निहुँमा न्यायाधीशको नाममा पाँच करोडको बार्गेनिङ गर्न विष्णु क्षेत्रीलाई पनि सजिलो भएको छ ।
अहिले कान्छी श्रीमती श्रीषा शर्मालाई प्रयोग गरेर पाँच करोडको हिसाब नमिलाएसम्म फैसलाको पूर्ण पाठ नआउने भन्दै विष्णु क्षेत्रीले धम्क्याई रहेको स्रोत बताउँछ ।
मुद्दा दायर हुनुअघि युनिटीका नाममा विभिन्न बैंकमा ४१ करोड २८ लाख ७ सय ८३ रुपैयाँ मौज्दात थियो । उक्त रकम जम्मा गरेको सम्पूर्ण बैंक खाताहरू रोक्का रहेकोले अदालतले तोकेको जरिवाना र बिगो त्यहि मौज्दात रकमबाट कट्टा गरेर असुली गर्ने गरी फैसलाको पूर्ण पाठमा लेखाउने तयारी रहेको भन्दै विष्णु क्षेत्रीले कान्छी श्रीमतीमार्फत् ब्ल्याकमेल गरिरहेका हुन् । पैसा नदिए अझै ६ महिना पूर्ण पाठ नआउने भनेर धम्की दिइरहेको डिल्लीबजार जेलमा थुनामा रहेका एक युनिटी संचालकका आफन्तले बताए । फरार रहेका क्षेत्री अधिकांश समय फेसबुकमा समेत अनलाइन हुने गरेका छन् । प्रहरी भगौडा उनी प्रहरीकै संरक्षणमा फरार रहँदा पनि अनेक धन्दा चलाइरहेका छन् ।
काशिराम गुरुङबाहेक अन्य सबैको अदालतले तोकेको कैद संजाय भुक्तान भैसकेको छ । गुरुङ भने विगत साढे ३ वर्षदेखि जेलमै छन् । अदालतले तोकेको जरिवाना र बिगो नबुझाएकाले उनी थुनामुक्त नभएका हुन् । जरिवाना र बिगो गर्दा सवा दुई करोड रकम नगद बुझाउन नसकेको पनि फैसलाको पूर्णपाठ आएपछि पुनरावेदन अदालत पाटनमा पुनरावेदन दर्ता गरेर जग्गा जमिन धरौटी राख्ने र थुनामुक्त हुने उनको योजना रहेको बुझिएको छ ।
















प्रतिक्रिया