गणेश पाण्डे
कतार ! नेपाली श्रमिकको प्रमुख गन्तव्य । सरसर्ती हेर्दा नेपाली कामदार जाने ठाउँ मात्रै हो, कतार । अलि—अलि पढे गुनेका, देशमा खासै अवसर नपाएका र अवसरको खोजीमा भौंतारिएका नेपालीहरु मात्रै छन् कतार पुग्छन भन्ने पनि लाग्न सक्छ । चार लाख नेपाली कार्यरत कतारमा यस्ता पनि नेपाली छन्, जो आफ्नै मेहनत र परिश्रमले करोडपति भएका छन् । एक सयको हाराहारीमा रहेका नेपाली व्यवसायीहरुले मध्यपूर्वी राष्ट्र कतारमा आफ्नो व्यवसायिक छवि उचो राख्न सफल भएका छन् । तीमध्ये अधिकांश नेपाली निर्माण व्यवसायमा सफल संलग्न छन् । जुन नेपालीहरुलाई फलिफाप भएको छ । कतारमा नेपालीहरु विदेशी कम्पनीको कामदारमात्रै होइनन, विदेशीलाई जागिर दिन सक्ने हैसियत समेत राख्छन् । कतार नेपाली व्यवसायीका लागि समेत उत्कृष्ट थलो बन्दै गएको प्रमाण कतारका करिब एक सय व्यवसायी हुन् । जसको सफलता प्रशंसा लायक छ । एकदेखि दुई दशकको अवधिमा करोडौं सम्पत्ति जोड्न केही नेपाली व्यवसायीको अनुभव :
आर के शर्मा
१३ बर्षअघि नयाँदिल्लीको एउटा ट्राभल एजेन्सीमा काम गर्थे, चितवन मंगलपुरका आरके शर्मा । कतारको एउटा कम्पनीले विमानको टिकटबापतको रकम नतिरेपछि उनी कतार हानिए, पैसा उठाउन । २० बर्षका शर्मालाई कतारका अनगिन्ती अवसरहरुले लोभ्यायो । नयाँ दिल्ली फर्किनासाथ उनले कतार जाने निर्णय लिए । सोही बर्ष (सन २००१ मा) कतार हानिए, एउटा कम्पनीको कामदार भएर । बाणिज्यशास्त्रमा स्नातक शर्माले दुईबर्ष एउटा कम्पनीमा कोर्डिनेटरका रुपमा काम गरे । सन २००४ मा नयाँ सोच पलायो, व्यापार व्यवसाय गर्ने । घरबाट बाबुले २८ लाख रुपैंया पठाइदिए, आफैले कमाएर साँचेको पनि छँदै थियो, त्यसैबाट कतारमा निर्माण व्यवसाय सुरु गरे उनले । निर्माण सम्बन्धी सिभिल र पेट्रोलियम उत्पादन केन्द्रहरुमा प्राविधिक जनशक्ति उपलब्ध गराउने काम पनि मिलिहाल्यो ।

सुनौलो भविष्य साँच्दै रोजगारीको खोजीमा कतार टेकेका शर्मालाई एकदशकमा नचिताएको उपलब्धि हात लागेको छ । यो सफलता हासिल गर्न दैनिक २० घण्टासम्म घोटिएको अनुभव छ, उनको । कतारमा मात्रै उनका तीन वटा कम्पनी छन् । लगानीमात्रै २ अर्ब ८० करोड बराबरको छ । व्यवसाय कतारबाट दुबई र अमेरिकासम्म विस्तार भएको छ । १४ सय ९५ जना कामदार त दिनरात उनको कम्पनीमा काम गर्छन । नेपाली बाहेक भारतीय, बंगलादेशी, युरोपियन र अमेरिकी नागरिक समेत उनकोमा काम गर्छन । एउटा कामदारले महिनामा १२ सय रियालदेखि ९६ हजार रियाल (२८ लाख नेपाली) सम्म तलब बुझ्छ उनको कम्पनीमा । सिभिल निर्माणबाट व्यवसाय सुरु गरेकाले अहिले अझै केही बर्षमा त्यही काम गर्ने सोच छ । नेपालमा समेत उनले जलविद्युत र बैंकिङ क्षेत्रमा लगानी गरेका छन् । ‘नेपालमा शान्तिबहाली, संविधान लेखन र स्थिरता कायम भए बैंकिङ क्षेत्रमा लगानी विस्तार गर्ने सोचमा छु,’ भन्छन—‘मैले कमाएको एक रुपैंया पनि नेपाल फर्कन्छ, विकसित देशको नागरिकका रुपमा नेपाल फर्कने चाहना छ ।’
बद्रीप्रसाद पाण्डे
साउथ इसियन ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ र अल्फजर कन्ट्रयाक्टिङ एण्ड ट्रेडिङका मालिक बद्रीप्रसाद पाण्डे कतारमा लोभलाग्दो प्रगति गर्ने मध्येका एक हुन् । इन्जिनियरिङका विद्यार्थी पाण्डे सन् १९९३ मा कामदारका रुपमा कतार प्रवेश गरेका हुन् । ७ बर्षसम्म एउटा परियोजनाको इन्चार्जको रुपमा काम गरेपछि उनले सन २००१ मा अल्फजर कन्ट्रयाक्टिङ एण्ड ट्रेडिङ कम्पनी खोले । उनी अहिले कतारको निर्माण व्यवसायका बादशाह हुन् । ८० मिलियन रुपैंया बराबरको बार्षिक करोबार गर्ने पाण्डेको कतारमा सांढे २ अर्ब लगानी छ ।

कतारका थुप्रै सरकारी भवन निर्माण गरेको अनुभव छ, पाण्डेसँग । कतारको राजदरबार निर्माणका लागि ५० करोड रुपैंयाको ठेक्का पाएका छन् । अर्को ११५ मिलियन कतारी रियलको परियोजनाको जिम्मेवारी समेत सम्हालिरहेका पाण्डेको कम्पनीमा भारत, बंगलादेश, सुडान, श्रीलंकाका समेत गरी ४ सय श्रमिक काम गर्छन् । उनको एउटा कम्पनी भने छोरी सबनमले नेतृत्व गर्छिन । गोरखा स्थायी घर भएका उनको काठमाडौंमा संचारमाध्यम, बैंक, जग्गा र अपार्टमेन्ट गरी विभिन्न क्षेत्रमा लगानी छ । काठमाडौंको मातातिर्थमा उनले ४२ रोपनी जग्गा जोडेका छन् । त्यहीं स्तरीय रिसोर्ट खोल्ने सपना छ, उनको । पाण्डेले कतारबाट कमाएकै पैसाले बेलायत, अमेरिका र क्यानडामा समेत सम्पत्ति जोडेका छन् । ‘यतिधेरै प्रगति हासिल गरिन्छ भन्ने लागेको थिएन,’ भन्छन्— ‘इमान्दारिता र निष्ठापूर्वक काम गर्ने हो भने सफलता आफैं प्राप्त हुंदोरहेछ ।’ विभिन्न देशमा हाउजिङ निर्माण गरेको अनुभवले गर्दा नेपाल फर्केर अन्तर्राष्ट्रियस्तरको हाउजिङ खोल्ने सपना समेत छ, उनको ।
टिबी कार्की
एनआरएनका विश्व उपाध्यक्ष समेत रहेका मोरङ इटहराका टेकबहादुर कार्की (टिबी) कतार प्रवेश गरेको ८ बर्षमात्रै भएको छ । सन् २००५ मा म्यानपावर व्यवसायीका रुपमा उनी कतार पुगेका थिए । त्यसको एक बर्षपछि उनले निर्माण व्यवसायमा पनि हात हाले, वेभ जनरल सर्भिसेस नामक कम्पनी खोलेर । १० लाख रुपैंया र ३ जना नेपाली कामदारबाट व्यवसाय आरम्भ गरेका कार्कीको कम्पनीमा अहिले एक सय ५० जना नेपाली कामदार दिनरात काम गर्छन । सन २०१२ मा उनले कार्की ट्ेरडिङ एण्ड कन्ट्याक्टिङ कम्पनी पनि खोले । यो कम्पनीमा चाँहि नेपाली, इजिप्ट र बंगलादेशीसहित ६० जना काम गर्छन् । बार्षिक १६ करोडको हाराहारीमा कारोबार हुने गरेको उनको भनाइ छ ।

कम्पनीको कारोबार बढ्दो गतिमा छ । यसैले यो बर्षको अन्त्यसम्ममा उनले ४ सय कामदारलाई रोजगारी दिने योजना बनाउंदैछन् । नेपालबाट कामदार लैजान कठिन रहेको कार्कीको अनुभव छ । ‘नेपाली कामदार सस्ता छन् । तर, नेपाल सरकारका झन्झटिला नियमका कारण विदेशबाट कामदार ल्याएर काम गर्नुपर्छ, नत्र पाएको काम पनि गुम्ने खतरा हुन्छ ।’ कार्की भन्छन— ‘वैदेशिक रोजगार सम्बन्धी स्पष्ट नीति बन्ने हो भने कतार नेपाली कामदार र व्यवसायीका लागि उत्कृष्ट गन्तव्य हो ।’
बार्षिक करोडौं मुनाफा आर्जन गर्ने कार्कीको अन्तिम इच्छा पनि नेपाल फर्किएर लगानी गर्ने छ । ‘नागरिक धनी भएमात्र राज्य पनि धनी हुन्छ । तर त्यसका लागि राज्यले उपयुक्त वातावरण सिर्जना गरिदिनुपर्छ ।’
महेन्द्र चौंलागाईं
झापा अनारमनिका महेन्द्र चौलागाईं १८ बर्षदेखि कतारमा छन् । सेल्सम्यानका रुपमा काम गर्न कतार पुगेका महेन्द्र पनि कतारका भाग्यमानी नेपालीमध्ये एक पर्छन । १९९५ मा कतार पुगे पनि सन २००३ मा मात्र उनले कम्पनी खोले । ठेक्कापट्टा, म्यानपावर र ट्रेडिङ गरी कतारमा उनका तीन वटा कम्पनी छन् । नेपाल, भारत, बंगलादेश र श्रींलकामा समेत व्यवसाय विस्तार भएको छ । कतारको आफ्नै कम्पनीमा ९७ जना कामदार काम गर्छन । एक हजार भन्दा बढी कामदार अन्य कम्पनीलाई सप्लाई गर्छन, उनले । निर्माणाधिन दोहा मेट्रोमा मात्र उनका ५ सय कामदार काम गर्छन । ‘कहिलेकाँही २/४ करोड पनि नाफा भइहाल्छ, नत्र मासिक २० देखि ३० लाखसम्म भने ढुक्कले कमाइ हुन्छ ।’,— चौंलागाई भन्छन् ।
५ लाख जनसंख्या रहेको कतारमा त्यसको तीन गुना भन्दा बढी विदेशी कामदार छन् । एक तथ्यांक अनुसार, अहिले करिब १७ लाख विदेशी कामदार कतारमा काम गर्छन् । कतारको प्रतिव्यक्ति आय बर्षेनी बढिरहेको छ, गगनचुम्बी भवन थपिए जस्तै गरी । ‘तुफानी विकास, आकर्षक रोजगारी र व्यवसायको सुरक्षाको प्रत्याभुतिका कारण कतारमा विदेशीहरु हाम्फाल्ने क्रम जारी छ । त्यसको फाइदा नेपालीले पनि लिनुपर्छ ।’ चौंलागाई भन्छन ।
नरेन्द्र भाट
डडेल्धुराका नरेन्द्र भाट सन २००२ मा भ्रमण भिसामा कतार पुगेका थिए, अवसरको खोजीमा । उनलाई पनि कतारका अवसरहरुले लोभ्याए । त्यसको दुईबर्षपछि उनले आफ्नै कम्पनी सुरु गरे, स्पेशलाइज मार्बल एण्ड जनरल कन्ट्याक्टिङ कम्पनी । उनको कम्पनीमा अहिले डेढ सय कामदार कार्यरत छन् । ९ करोड भन्दा बढी लगानी छ, उनको ।

आरके शर्मा, बद्री पाण्डे, टिबी कार्की, महेन्द्र चौंलागाई, नरेन्द्र भाट जस्तै कोमल सिंह, अशोक श्रेष्ठ, सागर नेपाल र डा. देवकाजी डंगोल पनि कतारका करोडपति नेपाली हुन् । जसले विदेशी भूमिमा आर्थिक हैसियत उचो पारेका छन् ।
कसरी सम्भव भयो सफलता ?
अधिकांश नेपालीले ठेक्कापट्टाबाटै यो सफलता हासिल गरेका हुन् । त्यसको प्रत्यक्ष—अप्रत्यक्ष योगदान भने नेपाली श्रमिककै छ । सस्तोमा पाइने र सहजै काम लगाउन सकिने भएको हुँदा अधिकांशले नेपाली कामदारलाई उपयोग गरेर ठेक्कापट्टा व्यवसाय सुरु गरे । कम्पनी फाइदामा जान थालेपछि दक्ष कामदारको पनि आवश्यकता पर्न थाल्यो, त्यसपछि स्वदेशी भन्दा विदेशी बढी रोजाइमा परे । कतिपयले भने आफ्नै देशका कामदारलाई दु:ख दिएका उदाहरण पनि नभएका होइनन ।
कतारमा अहिले करिब ५० जना व्यवसायीले डब्ल्यूएलएलसी अर्थात कानुनी इजाजत प्राप्त कम्पनी स्थापना गरेका छन् । त्यसमध्ये १० जना मुख्य ठेकेदार हुन् । बांकी भने सहायक ठेकेदार र जनशक्ति आपूर्तिकर्ताका रुपमा कार्यरत छन् । निर्माण व्यवसायको अलवा होटल, सैलुन, ट्रेडिङ, खाद्यान्न, ग्रोसरीमा नेपालीको लगानी छ ।
नेपालीले कतारमा व्यवसाय सुरुवात गर्न त्यति सजिलो भने छैन । व्यवसायका लागि इजाजत लिनु अगावै २ लाख कतारी रियाल अर्थात ५० लाख रुपैंया बराबरको पुँजी ग्यारेन्टी राख्नुपर्छ । त्यसपछि मात्र सरकारले व्यवसाय गर्न अनुमति प्रदान गर्छ । विदेशीको शतप्रतिशत लगानीमा कम्पनी खोल्न नपाइने कतार सरकारको नियमका कारण स्थानीय नागरिकलाई अनिवार्य साझेदार बनाउनुपर्ने झन्झट छ । शत प्रतिशत लगानी गरेपनि विदेशीको ४९ प्रतिशतमात्रै स्वामित्व हुन्छ, बांकी ४९ प्रतिशत लगानी पनि आफैले गरिदिएर कतारी नागरिकलाई विना लगानी साझेदार बनाउनुपर्ने बाध्यता छ ।
कतारका नागरिकलाई विना रकम लगानीकर्ता बनाउँदा नेपालीले विभिन्न समस्या पनि झेल्नुपर्छ । जब व्यवसायको आकार बढ्दै जान्छ, स्थानीय साझेदारले कम्पनी हडपेका घटना पनि छन् । तर पनि त्यसलाई स्वीकार्नुबाहेक कुनै विकल्पै रहंदैन । विदेशमा झगडा गरेर बसिरहने कुरा भएन, साझेदारले धेरै—थोरै जति दिन्छ त्यो लिएर नेपाल फर्किनुबाहेक नेपालीसँग केही रहंदैंन । त्यसकारण पनि नेपाली लगानीकर्ताले त्यहाँको आम्दानीलाई छिटोछिटो नेपाल पठाउने गरेका छन् । कतार सरकारले विदेशीलाई सम्पत्ति किन्ने अधिकार दिएको छ । त्यसैले अधिकांश व्यवसायीले कतारमा घर किनेका छन् ।
कतारमा विदेशीहरुमध्ये भारतीयको सबैभन्दा ठूलो लगानी छ । त्यसपछि बंगलादेशी, श्रीलंकन पर्छन् । नेपाली भने दशौंको हाराहारीमा पर्छन । नेपाल सरकारले लगानी सम्बन्धी नीति खुकुलो बनाउने हो भने कतारमा नेपाली व्यवसायीले थप प्रगति गर्न सक्ने व्यवसायीहरुको भनाइ छ । नेपालको कानुनका कारण नेपालीहरुले कतारमा चाहेजति लगानी गर्न सकेका छैनन । नेपाल सरकारले विदेशमा लगानी गर्न छुट त दिएको छ । तर, विदेशमा रकम लैजान सीमा तोकिएको छ । जसका कारण व्यवसायीहरुले अवैधानिक बाटो रोज्नुपर्छ । ‘सानो पुँजीबाट लगानी गर्यो, त्यहाँबाट आएको नाफा त्यसैमा रोप्यो, अनिमात्र लगानी बढ्छ ।’ व्यवसायी पाण्डे भन्छन्— ‘विदेशमा पनि लगानीको वातावरण सिर्जना गरिदिने हो भने देशमा रेमिट्यान्स झन धेरै भित्राउन सकिन्छ, नेपाल सरकारको यसमा ध्यान जाओस ।’ व्यवसायी पाण्डेलाई नेपालमा रहेका साथीभाइ र आफन्तको मानसिकताबाट पनि चित्त दुख्दो रहेछ । ‘एउटा सोच लिएर घर फकिन्छौं, तर नेपालमा लगानी गर्ने अवस्था छैन भनेर निराशा मात्रै देखाइदिन्छन ।’— उनको दु:खेसो छ ।
कतारका व्यवसायी समेत रहेका नेपाल लोकतान्त्रिक मञ्चका उपाध्यक्ष चानक पोखरेल पनि ४ लाख नेपाली रहेको कतारमा नेपालीहरुले दु:ख मात्र पाइरहेका छन् भन्ने आम बुझाइ गलत रहेको बताउँछन । ‘कतारमा रहेका ५० हजारले दु:ख पाउलान, तर ३ लाख ५० हजारले त प्रगति गरिरहेका छन नि, उनीहरुको प्रगतिलाई पनि हेरिनुपर्छ ।’
स्वदेशमा रेमिट्यान्स पठाउनेमा कतारमा रहेका नेपालीहरु छैटौं नम्बरमा पर्छन । जनशक्तिका हिसाबले नेपालीको संख्या तेश्रो नम्बरमा छ । कतार सरकारले युवाहरुलाई मात्र भिसा दिन्छ, जसले बलियोबांगो भइन्जेल खाडीमा जीवन बिताउँछन । प्रचण्ड गर्मीका कारण हप्तामा २ देखि ३ जना युवाले प्राण पखेरु गुमाउँछन । युवा शक्तिलाई तालिम दिएर पठाउने हो भने रेमिट्यान्स अझै बढ्थ्यो कि ! (कतारबाट फर्किएर)
















प्रतिक्रिया