२८ आश्विन २०८३, बुधबार

एचआइभी एड्स हुँदा पनि जसले हरेश खाएका छैनन्…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hiv-aids

कृष्ण दर्नाल

पाल्पा, १५ असोज । आयआर्जन गर्ने उद्देश्यले समूहमा आबद्ध भई लागिपरेपछि पाल्पाका एचआइभी÷एड्सबाट सङ्क्रमित आत्मनिर्भर बन्दै गएका छन् ।

एक वर्षपहिले छिमेकी र आफन्तसँग निर्भर रहेका जिल्लाका सङ्क्रमित÷प्रभावित सामूहिक रूपमा आयआर्जनमा लागेर आत्मनिर्भर बन्दै गएका हुन् ।

जिल्लाका सङ्क्रमित, प्रभावित तथा विपन्न समुदाय मिलेर आयआर्जन गर्न एक वर्षअघि समूह बनाएपछि उनीहरूलाई आयआर्जनमा लाग्न सहज भएको छ ।

जिल्लाको झडेवा, रामपुर, अर्गली र पालुङ्मैनादी गाविसमा २० देखि ४० जनासम्मको चारवटा समूह बनाएर समूहमार्फत उनीहरू आत्मनिर्भरका काममा सक्रिय छन् ।

समूह बनाएर मासिक बचत गर्ने, सस्तोमा ऋण लिएर तरकारी खेती, बाख्रा, भैँसीपालन, माछापालन, बङ्गुरपालन र पसल सञ्चालनमा उनीहरू सक्रिय भएको सक्रिय सेवा समाजका टोली नेता लीलाराज भट्टराईको भनाइ छ ।

परिवारका अन्य सदस्य, छिमेकी र आफन्तसँग निर्भर भएका एचआइभी÷एड्सबाट सङ्क्रमित २३७ र सयौँ प्रभावित व्यक्ति अहिले आत्मनिर्भर बन्दै गएको उहाँले बताउनुभयो ।

आत्मनिर्भर बन्दै गएपछि समाजले हेर्ने धारणासमेत परिवर्तन भएको पालुङ्मैनादी स्वावलम्बन बचत समूहकी सदस्य माया पाण्डेले बताउनुभयो ।

महँगो ब्याजमा ऋण खोज्नुपथ्र्यो उहाँले भन्नुभयो–“समूह भएपछि सस्तोमा ऋण पनि पाइयो, अरूसँग माग्नुपर्ने नभएपछि सबैले सम्मान गर्दा रहेछन् ।” सङ्क्रमित पाण्डेले समूहले बचत गर्ने सिकाएको र दुईदेखि पाँच प्रतिशतमा ऋण खोज्नुपर्ने बाध्यताबाट मुक्त गराएको बताउनुभयो ।

जीविकोपार्जन गर्नसमेत अरूको साहरा लिनुपर्ने सङ्क्रमित पेसा / व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि अन्तै ऋण खोज्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

आर्थिक रूपले सबल बनेपछि आफूहरू अस्वस्थ हुँदा औषधि उपचार गर्न र सामाजिक सम्मान पाउन सकेको झडेवास्थित सप्तरङ्गी आयआर्जन समूहका उपाध्यक्ष हरिरतन परियारले बताउनुभयो ।

एक वर्षमा समूहको कोषमा झन्डै एक लाख बचत भएको बताउँदै उहाँले बचत भएको रकम सङ्क्रमित तथा प्रभावितको आयआर्जनमा लगानी भएको जानकारी दिनुभयो ।

चारवटा समूहमार्फत मासिक रूपमा बचत भएको ७० भन्दा बढी सङ्क्रमित/प्रभावित परिवारलाई आत्मनिर्भर बनाउन सस्तोमा ऋण प्रदान गरिएको छ ।

समूहबाट भएको आयआर्जनको कामबाट उनीहरूले सामाजिक जिम्मेवारीको भूमिका निर्वाह गर्नुका साथै स्वयम् आफू आत्मनिर्भर बन्न सहयोगी बनेको आयआर्जन अधिकृत कृष्ण धितालले बताउनुभयो ।

समूहले समाजमा सङ्क्रमित भनेर चिनिएर र नचिनिएका सबैलाई आयआर्जन गर्न र आत्मनिर्भर गर्न प्रेरित गरेको जनाएको छ । रासस