हिन्दु धर्मको दशैं पर्व चलिरहेको अवस्थामा नेवार समुदायका हिन्दु र बौद्धसमेत दुबैले समानरूपले मान्दै आएको मोहनी नखः एकै तिथि मितिमा मनाइने र उनमा धेरै समता देखिएका हुँदा यसबारेमा बुझ्न मैले बौद्ध संस्कृति एवम बौद्ध वाङ्गमयका प्रखर विद्वान केदार शाक्यसँग केही प्रश्न सामाजिक सञ्जालमार्फत राखी अन्तर्वार्ता लिएको थिएँ । त्यसैलाई यहाँ प्रस्तुत गर्दै छु । विद्वान केदार शाक्य लुम्बिनी विश्व विद्यालयका पूर्व रजिस्ट्रार र गोरखापत्रका पूर्व सम्पादक हुनुहुन्छ । साथै उहाँ लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका सार्क सल्लाहकार पनि हुनुहुन्छ ।
नेपालमा बुद्ध धर्मावलम्बीहरूले दशैँ मनाउँछ कि मनाउँदैनन् ?
दशैँनै नभनौँ, त्यही तिथिमा नेवार बुद्धिस्टहरूले मोहनी नखः मनाउँछन् । यसो हेर्दा तिथिमिति समेत मिलेको हुनाले अरूले दशैँ मानेको देख्छन् त्यो बेग्लै कुरा हो । बाहिरका नेवारहरूले मोहनी नखः लाई नै दशैं भन्ने गरेको पनि पाइएको छ । यसबाहेक अरु जनजाती बौद्ध थकाली, शेर्पा, तामाङ, घले, गुरुङ दशैँलाई आफ्नो चाड भन्दैनन् । पहिले राज्यको करकापले माने र पछि राष्ट्रिय चाडको रूपमा मानेर नछोड्ने पनि देखिन्छ । तर आपसमा बिबाद छ । त्यसबाहेक उनीहरू मिठो पकवान खाने गर्छन् । यसमा फरक छैन । सेनामा जागिर खानेहरू घरैमा मासु किनेर खान्छन् । तर पूजाआजा गर्दैनन् ।

नेवार बुद्धिस्टहरूले मोहनी नखः मनाउँछन् भन्नु भो त्यो हिन्दु नेवारहरूको जस्तै छ कि भिन्न छ ?
नेवार बौद्ध लगायात सबै नेवार समुदायले मोहनी नखः मनाउँछन् । भिन्नता धेरै नै कम छ । सबैले जमरा राखछन् र मोहनी सिन्ह थाप्छन् ।
जमरा कसरी राखिन्छ ?
जमरा अरु हिन्दुहरूले राख्ने दिन घटस्थापनाकै दिन राख्छन् । जौ, मकै मिसाएर बालुवा मिसिएको माटोमा जमरा राख्ने चलन छ । माटोको भेगतमा जमरा राखिन्छ । दिनहुँ पानी दिने र भेगतले छोप्ने गरिन्छ ।
मोहनी सिन्ह कसरी थापिन्छ ?
माटोको सलिमा तेलमा भिजाएको धागोको बत्ति बालेर बत्तिलाई अर्को सलिले छोपेर त्यसमा कालो मिहिन ध्वाँसो जम्मा गरिन्छ । यसबाट लागेको कालोलाई मोहनी सिन्ह अर्थात् कालो टीका भनिन्छ ।
अष्टमी, नवमी र दशमी कसरी मनाइन्छ ? नेपाल भाषागत नाम केके छन् ?
अष्टमीको दिन बेलुकी कुछी भोय भनेर विभिन्न परिकारसहित घरका सबै परिवार बसेर भोज खाइन्छ, अष्टमात्रिकाको र भैरबको पूजा गरिन्छ ।
नवमीको दिन काम गर्ने सबैथरिको ज्यावल, लेख्ने पढने पुस्तक, कलमलाई पूजा गरिन्छ । मोटर, कलकारखाना, हतियार सबैको पूजा गरिन्छ ।
भोलिपल्ट दशमीमा तिनीहरू सबैलाई फेरि फूल अक्षेताले पूजा गरेर बाहिर निकालिन्छ । बुद्धिस्ट नेवारले वा हिँसा नचाहने हिन्दु नेवारले पशु बली दिदैनन् । कुभिन्डोलाई बलिको रूपमा पूजा गरेर टुक्रा पारिन्छ । घरको आँगनमा रातोमाटोले लिपेर पूजा गरिन्छ । टीकाको साइतमा चामलको रातो टीकासहित घरको मुलिले परिवारका सबैलाई पालैपालो जेठो कान्छो मिलाएर मोहनी सिन्ह अर्थात् कालो टीका लगाएपछि जमरा फूल पनि दिइन्छ । दक्षिणा दाम दिइन्छ । दहिमा तेल र नून मिसाएर हत्केला थापेर सुरुप्प खान दिइन्छ । यो सगुन प्रसाद हो ।
कोजाग्रत पुर्णेको दिन छोरीचेली जुवाई भान्जाभान्जी आफन्तलाई बोलाएर नखत्या भन्दै भोज खुवाइन्छ । अक्षेताको टीका सहित मोहनी सिन्ह, जमरा र दक्षिणा दिइन्छ । मुलतः बौद्ध र नेवारको चलन यस्तो छ ।
बौद्ध नेवार भन्नाले यसमा कुन थरि पर्दछन् ?
बौद्ध नेवारमा शाक्य, मानन्धर, महर्जन (ज्याफु), खड्गी, बज्राचार्य, तुलाधर, सिखराकार, डंगोल, सुवाल आदि पर्छन् ।
बौद्ध नेवार र हिन्दु नेवारबीचको मोहनी नखः मा भिन्नता के कस्ता छन् ?
हिन्दु नेवारहरूले भगवतीलाई बोका, कुखुरा, हाँस भालेको बलि दिन्छन् । तर बौद्ध नेवारले बलि दिदैनन् । मासुसहितको भोज हुन्छ । तर आफू हिंसा गर्दैनन् । दशैँलाई मोहनी नख भन्छन् । बिजया दशमी भन्दैनन् ।
मोहनी नखको मूल विशेषता के हो ?
नेवार सुदायमा मोहनी नख खेति किसानी सकिएर हिलो मैलो सकिएपछि खुशियाली मनाउन चाडको रूपमा थालिएको हुन सक्छ । हिन्दुहरूको बिजय दशमी दशैँसंगै संजोगले पर्न गएको मात्र हो ।
मैले एक मित्रबाट सुनेको थिएँ यो कालो टिका लगाउने चलन पृथ्वीनारायणको हमलाबाट हारेको सम्झनामा लाउन सुरु भाको हो, के यो सही हो ?
त्यसो अलि होइन कि १ पहिले यस्तो सुनिएको थिएन । पछिका कुरा हुन सक्छ यो । वास्तवमा कालो टिका लगाउने चलन प्राचिनकालदेखि भएको हुन सक्छ । नेवार जातिमा दसैंमा मात्र होइन भुतप्रेत, वायु, बोक्सी र इर्ष्यालु आँखाको लगानबाट बच्न अरू समयमा पनि कालो टिका लगाउने चलन छ ।
मोहनी नख र दशैँमा धेरै नजिक देखिन्छ । त्यस्तै बौद्ध नेवारहरू र हिन्दु नेवारहरूमा पनि धेरै कुरा एकै हो कि भनेको देखिन्छ, यसबारेमा तपाईं के भन्नु हुन्छ ?
दशैँ बौद्ध नेवारले पनि मनाउँछ्न भन्नु अलि गलत छ । हिन्दुहरूको चाड र बौद्ध नेवारको चाड एकै समयमा पर्यो भन्दैमा हिन्दुहरूको दशैँ नेवार बौद्धले पनि मान्छन् भन्नु गलत हुन्छ । संस्कृति मनाउने पद्धति तरिका फरक छ । देवीदेवताको पूजा पनि गर्छन् भन्दैमा हिन्दु र बौद्ध संस्कृति एकै हो भन्नु गलत हुन्छ । बौद्धहरू पनि भक्ति मार्गमा छन् । करुणामय किसानको देवतालाई मछेन्द्रनाथ भन्दैमा हिन्दु र बौद्धले एकै देवता मान्छन् भन्नु पनि गलत हुन्छ । हलेसीको गुरु पद्मसम्भवको मूर्तिलाई महादेव मानेर पूजा गर्ने हिन्दुहरू छन्, स्वयम्भुको मंजुश्रीको मूर्तिलाई सरस्वती माता भनेर पूजा गर्ने हिन्दुहरू छन्, विभिन्न कालखण्डमा थरिथरिका सांस्कृतिक तत्वहरू छ्यासमिस भएका छन् । यस्तो दुवै धर्मबीचको सहिष्णुता भएकोले हो, सदभाव भएकोले हो ।
प्रस्तुति: डा. कविताराम श्रेष्ठ















प्रतिक्रिया