२८ आश्विन २०८३, बुधबार

एएनएलाई खुला पत्र

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay-thapa

एएनए तिमीलाई गाथमा आराम होला भन्ने विश्वास लिएको छु । बडादशैं नजिकिँदै जाँदा तिम्रो धेरै सम्झना आयो । र, तिम्रो उत्तरोउत्तर प्रगतिको लागि हार्दिक शुभकामना ! तिमी पनि बडादशैमा रमाइरहेको हौला भन्ने आशा गरेको छु । हामीलाई मात्र हैन, तिमीलाई पनि दशैँ पक्का लागेको होला । केहि बर्षदेखि तिमीलाई शायद दशैँ लागेको छैन होला । किनभने तिमीलाई ग्रहदशा लागेको सुनेको छु ।

भनिन्छ, धनीलाई दशैँ गरिबलाई दशा, कति सत्य हो ? त्यो तिमी हामी भन्दा धेरै जान्ने छौ । किनभने तिमी ३२ बर्ष अगाडि बिश्वको सबैभन्दा शक्तिशाली र धनी राष्ट्र अमेरिकामा जन्मेका हौ, मैले के भन्नु ? दशैमा सबैमा उत्साह र जाँगरको साथ भगवान र मन्दिरको दर्शनमा व्यस्त भएको देखेको छु । तिमी मौन भएर बसी रहेको अनुभूति भैरहेको छ । तिमी निर्जीव छौ, तर तिम्रा सन्तान सजीव छन । तिमी बोली दिने भए तिमीले हुकुम गरी घरभित्रको कुरा भित्रभित्रै मिलाई दिन्थ्यौ । तिम्रो घरमा दन्दनी आगो लागेको झन्डै ५ बर्ष हुन् लाग्यो, अझ निभ्ने छाँटकाँट देख्दिन । एउटा कुरा सोध्न मन लाग्यो, तिमीले बनाइदिएको राजगद्धीमा नजर लागेको मैले अनुभूति गरेँ । तिमीलाई सायद थाहा छैन होला, कसरी थाहा पाउछौँ ? तिमीले बनाइदिएको कुर्सीमा के त्यस्तो चिज छ, जसले तिम्रा सन्तानहरु एकआपसमा महाभारतमा झैँ लडिरहेको बिश्वले देखेको छ । तिमीले किन पदको बाँडफाँड गरिदियौ मैले बुझ्न सकिन । सामाजिक सेवाको लागि स्थापना गरिएको भन्दा राजनैतिक अखडा भएको छ । तिमी बोल्दैनौ, अनि तिम्रा सन्तानहरुबीच कटाक्ष छ । एकआपसमा केवल सत्ता प्राप्तिको लागि अहमताको लडाईँमा रुमलिएको छ ।

अब बोली देउ ! बोलेनौ भने अनर्थ हुनेछ किनभने सन्तान लाखापाखा लाग्ने छन् अनि केवल सीमित परिवारबादमा मात्र संस्था हुनेछ । भनिन्छ, फुटाउने भन्दा जोड्ने सन्तान काम लाग्ने हुन्छन । जुँगाको लडाईँमा कोही पनि बीरबहादुर र हारबहादुर हुँदैन, केवल संस्था माटोमा बिलीन हुने सम्भावना हुन्छ ।

तिम्रा हजारौ सन्तान मध्ये यस पंक्तिकारले पनि केही अवैतनिक सेवा गर्ने अवसर पायो । तिमी धन्य छौ । आफ्नो बिबेक र क्षमताले भ्याएसम्म केही गर्न सकेँ कि जस्तो लाग्दछ, तर तिमी कहाँ सम्झन्छौ ? किनभने तिमी निष्ठुरी छौ कि जस्तो कहिलेकाँही लाग्दछ । गलत भए माफ देऊ !

हामीले काम गरे नगरेको तिमीले भन्दा तिम्रा सन्तानले अभिलेख राख्नेछन्, त्यो कुरामा म निर्धक्क छु । तिमीलाई थाहा छ, कुर्सीमा बस्यौ कि तिमी फस्यौ भन्ने नेपाली उखान छ । पद लिनेमाथि लान्छना आउँछन तर त्यसलाई नकारात्मक लिनु कदापि हुँदैन किनभने अमेरिका जस्तो मुलुकमा कानुनले वाक स्वतन्त्रता दिएको छ ।

तर, यसो भन्दैमा सीमा नाघ्नु हुँदैन किनभने तिमीलाई कानुनको शरण जाने अधिकार राष्ट्रले प्रत्यायोजन गरेको छ । तिमीले अनेकौ ठूला ठूला काम गरेका छौ । यो राष्ट्रको एक धरोहर पनि हौ । तर तिमी कडा नहुँदा तिम्रा सन्तानमा विवाद भैरहेको छ । प्रजातान्त्रिक प्रणालीमा त्यो स्वाभाविक हुन्छ । सामाजिक सेवाको लागि अर्पण गरेको संस्थामा तिम्रा सन्तानले निजी क्लब जस्तो गरी संचालन गरेको अनुभूति नेपाली समुदायले गरेका छन् ।

स्थापनाकालदेखि नै तिम्रा सन्तानले निर्वाचनको नाममा केवल सर्वसम्मति गराई निर्वाचनको घोषणा गरेको पाइएको छ । के यो साँचो हो ? यदि हो भने ठीक पनि हुन्सक्छ किनभने सामाजिक सेवामा सर्वसम्मति हुनु गौरबको कुरा हो । प्रजातन्त्रमा प्रतिस्पर्धा हुनु राम्रो हो तर सामाजिक संस्थामा अस्वस्थ प्रतिस्पर्धा हुँदा संस्था फुट्ने, भाँडिने, टुक्रिने हुन्छ ।

तिमीलाई थाहा छ अमेरिकाभरिका नेपाली समुदाय तिमीले कहिले चुनाब गराउँछौ भनि सूचना पाउन आतुर छन् किनभने ४ बर्षदेखि निर्वाचन तिम्रै सन्तानका कारण स्थगित हुँदै तुहिएको छ । एकआपसमा षडयन्त्रमा व्यस्त भएको भान भैरहेको छ । नेपाली समुदायमा अब धैर्यताको बाँध फुट्ने भैसकेको छ । सुनिएको छ, तिम्रा सन्तानकै कारण सन २००२ देखि २०१० सम्म तिमी अमेरिकन सरकार या आन्तरिक राजस्व बिभागमा नै जीवित थिइनौ । तिम्रा सन्तान किन अल्छी भएको हो ? मैले बुझ्न सकिन, कि प्रमाणबिना दोषारोपण मात्र लगाइएको हो ? स्वयम् सेवा गर्नेले समय व्यवस्थापन गरेर मात्र संस्था नविकरण आदि इत्यादी कुरामा कुरामा ध्यानं दिने होकी ? नेतृत्ववर्गले यसो गरेको हो भने लत्तो पुरै छोडेको हुनुपर्छ । गल्ती मानिसबाट हुने हुनाले मानिसबाट गल्ती हुनु स्वाभाविक हुन्छ । तर २००२ देखि २०१० सम्म संस्थालाई जीवित राख्न किन गाह्रो भो ?

यसबाट तिम्रा सन्तानले ठूलो पाठ सिकेका छन् । तिम्रा सन्तानले जटिल बिधान बनाइदिएका कारण प्रतिभाशाली व्यक्ति किनारामा पर्ने केवल आसेपासे, भाई भारदार, नाताबाद, कृपाबाद मात्र कुर्सीमा बसेका छन । अब तिमीले उहिले बनाएको बिधान परिवर्तन गरेनौ भने ठूलो अनिष्ठ हुन्छ । तिमीलाई गैरआवासीय नेपाली संघ अमेरिकाबाट केहि महिना अगाडि निर्वाचन समितिले गरेको ऐतिहासिक बिधान संसोधनबाट गरेको उपलब्धि बारेमा थाहा छ ? जो कोही पनि कुनै पनि पदमा उम्मेदवार बन्न बाटो खोली दिएका कारण एनआरएन अमेरिकामा कहिले कुनै पनि पदमा बहाल नभएका ब्यक्ति हाल अध्यक्ष भएका छन ।

तिम्रा सन्तान यसो गर्न किन डराउँछन ? हिम्मत छ र हामी निर्वाचनबाट बिचलित हुँदैनौ भने मैदानमा तिम्रा सन्तानमलाई होमिन भनिदेउ अनि दुधको दुध पानीको पानी छुटिने छ । तिम्रो दशैँ भनेको जुलाई ४ हो । तिमीसंग टिका थाप्न हजारौ हजार तिम्रा सन्तान हाजिर हुन्छन तर तिमी याद राख तिम्रा सच्चा सन्तान भनेका खेलाडी हुन । उनीहरुलाई पृथ्वी ढले पनि केही सरोकार छैन केवल तिम्रो अस्तित्व बचाउने काममा तल्लिन छन् । उनीहरुलाई तिमी सम्झी राख्नु है । तिमी केहि बर्ष देखि दुखित भएका छौ, हामीलाई थाहा छ । तिमी ढुक्क हौ । कुनै पनि समस्या युगौँयुगसम्म लम्बिदैन । छिटो भन्दा छिटो निर्वाचन सम्पन्न हुनेछ र सबैकुरा राम्रो हुने छ ।

हेर एएनए ! म पनि एक तिम्रो सन्तान हुँ । केवल भौतिक रुपमा कुर्सीसँग पृथक भएको हुँ । तिमी दुख्यौ भने हामीलाई दुख्छ । तिमी करौडौ बर्ष बाँच । म पनि तिम्रो एक हिस्सा हुँ भन्ने ठान्नु । तिमी भित्र आगो लाग्दा हामीले पनि तिमीलाई साथ दिएको सम्झना गर है । तिमीसंग अनन्त अनन्त भावनात्मक सम्बन्ध बनेको छ । जहिले तिमी दुख्छौ, हामीलाई पनि सम्झनु किनभने तिमी जलेको, तिमी मरेको, तिमी खरानी भएको मुकदर्शक भई हेर्न कदापी सक्दिन । एउटा सन्तानको धर्म जे हो त्यो गर्न हामी तयार छौँ ।

लेखक एएनएका निवर्तमान महासचिव हुन् ।