यो काठमाडौं खाल्डोको शक्ति भनेकै विभिन्न जिल्ला–जिल्लाका विभिन्न ठाउँवाट आएर यहाँ धेरैले आफ्नो कर्म गरेका छन् । त्यसैले काठमाडौंसँग अलिकति रिस, अलिकति पिडा, अलिकति घृणा, अलिकति प्रेम, अलिकति असन्तुष्टि र अलिकति सन्तुष्टिको सम्बन्ध रहने गर्छ, अधिकांश मान्छेको ।
वर्षभरि यहि खाल्डोमा दुःख सुख जे गरेपनि दशैंमा यहाँको ठूलो हिस्सा आफ्नो गाउँ फर्कने गर्छ । यो क्रम केही दिन अगाडिवाट सुरु भइसकेको छ । घटस्थापनाबाट त स्कुल कलेजहरु बिदा हुन सुरु भयो, आज भोलि तपाईहरु पनि घर जानुहोला । कतिपयको काम फुलपातिसम्मै होला, फुलपातिमा तपाईं पनि घर जानुहोला । सवैलाई शुभयात्रा ।
दशैं सुरु हुनु त परको कुरा सोह्र श्राद्ध नसकिँदै मलाई जस्तै तपाईंलाई पनि आमाले वावु–“दशैंमा घर कहिले आउँछौ, यसपालि त अलि चाँडै आउ है, दशैं पनि छोटो छ यसपटक” भन्न थालिसक्नुभयो होला । घर जाने तारतम्य मिलाउँदै हुनुहोला, घरको लागि अलिकति नयाँ नोट साट्दै हुनुहोला, घरका परिवारलाई एकदुई जोर नयाँ कपडा किन्ने सुरसारमा हुनुहोला, कतिपयले त किनि पनि सक्नुभयो होला ।
दशैंका लागी भनेर वल्लो पल्लो घरका दाइभाइले साउदी,कतार र मलेसियावाट रेमिट्यान्स पठाइसके होलान । त्यही रेमिट्यान्स बोकर ठूला बा खसी किन्न गाउँ तिर उक्लिसके होलान, भाउजुले वावु नानीलाई वजारतिर लगेर नयाँ लुगा किनिसक्नुभयो होला । भाउजु ! दाई नभएपनि एउटा नयाँ साडी आफुलाई पनि हाल्नुस है यसपटक ।
हुन त दाई जाँदाको ऋण सकियो कि सकिएको छैन कुन्नि ? साहुलाई बरु नदिनुस, यसपटक दशैंमा केटाकेटीलाई एकजोर नयाँ लुगा हालिदिनुस है !
कतिपय आमाहरुले जमरा राख्ने बेला विदेशमा भएका छोराहरुलाई फोन गरेर बाबु यो दशैंमा नमिले पनि अर्को दशैंमा त पक्कै आऊ है भन्नुभयो होला । तैपनी चित्त बुझाएरै जमरा राख्नुभयो होला । रेमिट्यान्सको पिडा कस्तो छ ? यहाँ देश चलाउनेहरुलाई के थाहा ?
सबैका छोरा दशैंमा घर फर्किएको तर आफ्नो छोरो नफर्कँदा आमाको मन कति रोयो होला । तैपनी चित्त नवुझाएर के गर्नु र ?
पोहोर साल बिहे गरेकी माइली भाउजुको मन दुखेको पनि कसले पो देख्ला र ? बिहे गरेको एक हप्तामै दाई साउदी हानिएपछि विहे गरेको पहिलो सालको दशैंमा दाईको हात समाएर बाबाको हातको टिका थाप्न माइतीघर जाने भाउजुको इच्छा कसरी पूरा होला र खै ?
हिजो–अस्ति देखि नै गाउँका साथीभाईले फोन गरेर भन्न थालिसके– “ल है दशैंमा छिटो आउनुप¥यो, यसपटक त लिंगे पिङ हाल्नुपर्छ ।” हुन्छ–हुन्छ, म नआइन्जेल पिङ नहाल्नु है । मैले जस्तै तपाईंले पनि भन्नुभयो, होला ।
फोनमै काठमाडौंतिरको हालखबर के छ भनेर सोधिसके होलान । घर गएपछि सवैले सोध्लान, काठमाडौंको हाालखवर के छ त ?
मैले गाउँमा गएर काठमाडौंको हालखबर के छ भनेर भन्नु । अस्तिभर्खर बाढी पहिरोमा परेकाहरुका लागी सरकारले उचित व्यवस्था,राहत र पुर्नस्थापना गरेन भनुँकी, काठमाडौंको सडकका खाल्डाखुल्डी र हिलाम्मे सडकको खवर सुनाउनु ? वा दशैंमा यसपटक त महँगी छोइनसक्नु भयो भनेर भनुँ ? के खवर सुनाउनु गाउँमा ? भन्न लायक खवर खासै छैन ।
त्यति भन्दा नभन्दै कसैले त पक्कै सोध्ला, यसपटक चाँहि संविधान बन्छ कि के होला बाबु ? परारका सालहरुमा जस्तै संविधान त बन्छ, बनाउँछु भनेका छन नेताहरुले भनेर पनि कसरी भन्नु,यहाँ खै केही छाँटकाँटै छैन ।
जे भएपनि दशैं घर आँगनमा आइसक्यो, सुःख–दुःख त यस्तै हो । तैपनी अस्ति सिन्धुपाल्चोकको जुरेमा भटिएकी सुन्तलीलाई बिर्सिएको छैन । सुन्तली पाँच कक्षामा पढ्ने सानी नानी हो । सुन्तली तिम्रो घर कहाँनेर थियो भनेर भन्दा उसले औंलाले माथितिर पहिरोमा देखाई, जहाँ उसको घरको कुनै नामो निशान थिएन ।
सुन्तली यसपटक तिम्रो दशैं त के दशैं र ? तिमीहरुको दशैं नरमाइलो भयो, हाम्रो मात्र कसरी रमाइलो हुन्छ र ?














प्रतिक्रिया