३० आश्विन २०८३, शुक्रबार

सवा लाख पासपोर्टमा इन्टरपोल निगरानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Inter-pol-policeकाठमाडौं, १० असोज । नेपालले सवा लाख पासपोर्ट (राहदानी) को विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललाई बुझाएको छ। हराएका वा चोरी भएका यस्ता पासपोर्ट आतंकवादीलगायतले दुरुपयोग गरिरहेको आशंकामा अनुसन्धान गर्न इन्टरपोलकै आग्रहमा उक्त विवरण पठाइएको हो।

उक्त सूचीमा रहेका कुनै पनि राहदानीमा कसैले यात्रा गरे १ सय ९० इन्टरपोल सदस्यराष्ट्रका जुनसुकै विमानस्थलमा अध्यागमन कर्मचारीले पक्राउ गरी कारबाही अघि बढाउनेछन्।

पछिल्लो साढे तीन वर्ष अवधिमा हराएका तथा चोरी भएका करिब १ लाख १७ हजार नेपाली राहदानीको विवरण विश्व प्रहरी सञ्जाल इन्टरपोललाई उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

‘हामीले हराएका र चोरी भएका लाखभन्दा बढी नेपाली राहदानीको विवरण इन्टरपोललाई उपलब्ध गराएका छौं। यस्ता राहदानी दुरुपयोग नहोस् भनेर विवरण उपलब्ध गराएका हौं,’ परराष्ट्र मन्त्रालय राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले भने, ‘यी राहदानी कसैले प्रयोग गरेको अवस्थामा भेटे इन्टरपोलका सदस्यराष्ट्रका अध्यागमनले तुरुन्तै पक्राउ गरेर अनुसन्धान कारबाही गर्नेछन्।’

परराष्ट्रमन्त्री स्तरीय निर्णयपछि विभागले चोरी तथा हराएका राहदानीको विवरण नेपालस्थित इन्टरपोल शाखा (नेपाल प्रहरी) लाई बुझाएको हो। अहिले इन्टरपोलको ‘केन्द्रीय डाटाबेस प्रणाली’मा यो विवरण राख्ने प्रक्रिया सुरु भइसकेको प्रहरीस्रोतले जनायो।

‘इन्टरपोलको डाटा सबै सदस्यराष्ट्रका अध्यागमनले प्रयोग गरेका हुन्छन्। त्यस्ता राहदानी ती देशका अध्यागमनमा पुग्नेबित्तिकै कम्प्युटरले चोरी तथा हराएको भनी देखाउँछ। त्यसपछि राहदानीबाहकलाई पक्राउ गरी थप छानबिन प्रक्रिया अघि बढाउने हो,’ महानिर्देशक थापाले भने।

चोरी तथा हराएका राहदानी अन्तरदेशीय अपराधमा प्रयोग हुने गरेको प्रमाण धेरैपटक भेटिएपछि यसलाई रोक्न इन्टरपोलले यस्ता राहदानीको विवरण सदस्यराष्ट्रसँग मागेको र त्यहीअनुसार अन्तरदेशीय अपराधको जोखिम न्यून गर्न नेपालले पनि उक्त तथ्यांक इन्टरपोललाई उपलब्ध गराएको हो।

राहदानी विभागको तथ्यांकअनुसार २०६७ फागुन १२ गते ९२०११ फेब्रुअरी २४० यता हालसम्म हराएका तथा चोरी भएका राहदानीको संख्या १ लाख १६ हजार ८ सय ६४ छ। तीमध्ये हस्तलिखित राहदानीको संख्या १ लाख ९ हजार ७ सय २९ र मेसिनले पढ्नसक्ने राहदानी (एमआरपी) को संख्या ७ हजार १ सय ३५ छ।

विभागको तथ्यांकअनुसार बितेका साढे तीन वर्ष अवधिमा दैनिक औसत ९२ वटा राहदानी हराएको तथा चोरी भएको देखिन्छ।