काठमाडौं, ९ असोज । नेपालीलाई मोटो रकम लिएर अवैध रूपमा अमेरिका पुर्यााउने मानव तस्कर गिरोहले आफ्नो रूट परिवर्तन गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्जालका रूपमा फैलिएको उक्त गिरोहले यसअघि काठमाडौंबाट कतार र ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका छिराउने गरेको थियो। अहिले भने भारत र दक्षिणपूर्वी एसियाली राष्ट्र पनि घुमाउन थालेको छ।
पुरानो रूट धेरै प्रचलनमा आएर बीच बाटोबाटै पक्राउ पर्ने र डिपोर्ट हुनेको संख्या बढेपछि तस्कर गिरोहले नयाँ बाटो प्रयोग गर्न थालेको हो। अवैध रूपमा अमेरिका जाँदै गर्दा पक्राउ परी डिपोर्ट गरिएका नेपालीका अनुसार नयाँ रूटमा काठमाडौंबाट कतार लगिँदैन। संयुक्त अरब इमिरेट्स (युएई) को दुबईलाई नयाँ ट्रान्जिट बनाइएको छ। त्यहाँ पनि सोझै नलगेर भारतसहित चार देश घुमाइन्छ।
सबभन्दा पहिला काठमाडौंबाट भारतको नयाँदिल्ली लगिन्छ। त्यहाँबाट थाइल्यान्डको बैंकक, कम्बोडिया र भियतनाम हुँदै दुबई पुर्यााइन्छ। त्यसपछि दुबईबाट ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिराउने गरिन्छ। कतारले कडाइ गरेपछि तस्करहरूले नेपालीको निम्ति नयाँ रूट प्रयोग गरेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
‘म काठमाडौंबाट नयाँदिल्ली हुँदै बैंककबाट कम्बोडिया गएको हुँ। थाइल्यान्डबाट बसमा कम्बोडिया लगेका थिए। त्यसपछि हामी भियतनाम गयौं। भियतनामबाट दुबई हुँदै ब्राजिल पुर्याबइएको थियो,’ केही साताअघि ब्राजिलबाट डिपोर्ट गरिएका लक्ष्मण जुगजलीले अध्यागमन विभागसँगको बयानमा भनेका छन्।
उनीसँगै डिपोर्ट भएका सबैले यही रूटबाट ब्राजिल पुगेको बताएका छन्। पुरानो रूटमा नेपालबाट अमेरिका जाँदा बीचमा १२ देश पर्थे भने नयाँमा १६ देश पर्छन्। नेपालबाट ब्राजिलसम्म पुर्यायउने जिम्मा नेपाली तस्करको हो। ब्राजिलबाट अमेरिका पुर्यााउने जिम्मा भने बीचमा पर्ने देशकै तस्करले लिन्छ। एउटा देशको तस्करले सीमा कटाइदिएपछि अर्कोले जिम्मा लिन्छ।
डिपोर्ट भएका नेपालीका अनुसार तस्करले भारत, थाइल्यान्ड, कम्बोडिया र भियतनाममा रहेका ल्याटिन अमेरिकी राष्ट्रका दूतावासमा भिसाको आवेदन दिन्छ। भिसा लागे सिधै जहाजमा लगिन्छ, नलागे स्थलमार्ग हुँदै यही रूट प्रयोग गरिन्छ। तस्करले अमेरिकासँग सीमा जोडिएको मेक्सिकोको भिसा लगाउने प्रयास दक्षिणपूर्वी एसियाली राष्ट्रमा गर्छन्।















प्रतिक्रिया