३० आश्विन २०८३, शुक्रबार

शिक्षकलाई ल्यापटप दिने प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Teacherकाठमाडौं, ७ असोज । शिक्षा मन्त्रालयले कक्षा १० को गणित, अंग्रेजी र विज्ञान विषयलाई डिजिटल प्रविधिबाट शिक्षण गराउने निर्णय गरेको छ ।

हरेक वर्ष एसएलसीमा सबैभन्दा धेरै ती विषयका परीक्षार्थी अनुत्तीर्ण भएपछि मन्त्रालयले नयाँ व्यवस्था गर्नुपरेको जनाइएको छ । शिक्षामन्त्री चित्रलेखा यादवको अध्यक्षमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

सम्बन्धित विषयको जटिल पाठलाई उत्कृष्ट विषय शिक्षकले कक्षामा पढाएको नमुनालाई छायांकन गरी श्रव्यदृश्य सामग्री तयार गरिएको छ ।

ती सामग्रीलाई नेपाल टेलिभिजन र रेडियो नेपालबाट समेत प्रसारण गरिने मन्त्रालयका अधिकारीले जनाएका छन् । साथै, देशभरि विद्यालयको कक्षा कोठामा प्रदर्शन गर्न सकिने बनाइएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने काममा शिक्षक र विद्यार्थी दुवैलाई सहयोग पुग्ने छ,’ मन्त्रालयका योजना महाशाखाका सहसचिव हरिप्रसाद लम्सालले भने, ‘यी सामग्रीलाई तत्कालै परीक्षण प्रसारण हुनेछ । र देशभरिका माध्यमिक विद्यालयमा पुर्‍याएर कक्षा शिक्षणमा उपयोग गराइने छ ।’

सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी देशभरिका माध्यमिक विद्यालयमा पुर्‍याइने छ ।

मन्त्रालयअन्तर्गत शैक्षिक जनशक्ति विकास केन्द्रले उक्त सामग्री तयार गरेको हो । ‘हामीले सामान्यभन्दा बुझ्न बुझाउन गाह्रो पाठलाई श्रव्यदृश्य सामग्री तयार पारेका छौं,’ केन्द्रका कार्यकारी निर्देशक खगराज बरालले भने, तत्कालै नमुना प्रसारण गराउँदै छौं । अब सीडीमा उत्पादन गरेर विद्यालयको कक्षा कोठा र घरमै लिएर दोहोर्‍याइ तेहर्‍याइ हेर्न, बुझ्न, बुझाउन सकिने बनाउदै छौं ।’ तीन विषयका पाँच पाँच शृंखलाको श्रव्यदृश्य सामग्री तयारी भइसकेको छ ।

देशभरि ८ हजार ४ सयभन्दा बढी माध्यमिक विद्यालयले एसएलसी परीक्षा दिलाउँछन् । गत वर्षको एसएलसी नतिजाअनुसार नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ परीक्षार्थीमध्ये १ लाख ७३ हजार ४ सय ३६ ९४३।९२ प्रतिशत०मात्र उत्तीर्ण भएका थिए । जसमा अनुत्तीर्ण संख्या २ लाख २१ हजार ४ सय ९७ थिए । विषयगत रूपमा सबैभन्दा बढी अनिवार्य गणित विषयमा १ लाख ७२ हजार २ सय ११ (४३.६० प्रतिशत) असफल थिए ।

त्यसैगरी विज्ञानमा १ लाख ६१ हजार २ सय ६० (४०.८३ प्रतिशत) र अंग्रेजीमा १ लाख ३४ हजार ७ सय २९ (३४.११ प्रतिशत) अनुत्तीर्ण थिए । सामाजिक विषयमा १ लाख १ हजार २ सय ९४ विद्यार्थी अनुत्तीर्ण रहेका थिए । यो विषय अध्यापन गर्ने शिक्षकलाई पुनःताजगी तालिम दिने भनिएको छ ।

मन्त्रालयले प्रत्येक विद्यालयमा मल्टिमिडिया प्रोजक्टर, प्रिन्टर र पाँचवटा कम्प्यटर जोड्ने लक्ष्य राखेको छ । त्यसैअनुसार आर्थिक वर्ष २०७०र७१ मा देशभरिका ७ हजार १ सय ४३ विद्यालयमा कम्प्युटर उपलब्ध गराइसकेको छ ।

चालू आर्थिक वर्षसमेत उक्त कार्यक्रम सुचारु छ । त्यसैगरी ‘एक विद्यालय एक पुस्तकालय, एक विज्ञान प्रयोगशाला’ स्थापना गर्ने लक्ष्य सुचारु रहेको मन्त्रालयका उपसचिव आनन्दले बताए । विद्यालयमा कम्प्युटर विस्तारसँगै विषय शिक्षकले विषयगत डिजिटल सामग्री उपयोग गर्नसक्ने छन् ।

शिक्षकलाई ल्यापटप

मन्त्रालय स्रोतका अनुसार प्रत्येक शिक्षकलाई सूचना, सञ्चार प्रविधिमैत्री तुल्याउन ल्यापटप उपलब्ध गराउने गृहकार्य थालिएको छ । ‘त्यसनिम्ति शिक्षकलाई सहुलियत ऋण उपलब्ध गराउने र मासिक तलबबाट कट्टा हुने व्यवस्था गर्ने कि भन्ने प्रस्तावसहित प्रारम्भिक छलफल भएको छ,’ एक अधिकारीले भने, ‘यसो हुँदा चासो राख्ने शिक्षक प्रविधिमैत्री हुनसक्छन् । यसले शिक्षण सिकाइमा समेत मद्दत पुग्ने छ ।’ यसो हुँदा दुर्गम गाउँका शिक्षकसमेत लाभान्वित हुने ठानिएको छ ।