काठमाडौं, ६ असोज । नेपालका चर्चित अधिकारकर्मी एवं इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले नन्दप्रसादको घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने बताउनुभएको छ ।
दैनिक नेपाल डटकमसँग कुरा गर्दै प्याकुरेलले प्रधानमन्त्री सुशील प्याकुरेलले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुभन्दा पहिले नै यो घटनाको फेहरिस्त बनाएर न्युयोर्क (संयुक्त राष्ट्रसंघ)मा पुर्याउने बताउनुभयो।
नन्दप्रसादको स्वास्थ्य अबस्था बुझ्न सोमबार दिउँसो पनि अस्पताल पुग्नुभएका प्याकुरेलले इतिहासमा कहिल्यै घटना नेपालमा भएको बताउनुभयो ।
प्याकुरेलको प्रतिक्रियाको सम्पादित अंश यस्तो छ – राणाशासन र पञ्चायतकालमा पनि नभएको घटना नेपालमा भयो । यसरी ३ सय ३३ दिन आमरण अनशन बसेर कसैको ज्यान गएको थिएन । इतिहासमै पहिलोपटक यसरी ज्यान नन्दप्रसाद अधिकारीको गएको छ ।
म यतिबेला सम्झिरहेको छु, सुशील कोइराला, माधव नेपाल, खिलराज रेग्मीलाई, उहाँहरु सबैले नन्दप्रसादजीलाई न्याय दिने बताउनुभएको थियो । तर, नन्दप्रसाद सँधै भन्नुहुन्थ्यो, मलाई तपाईंहरुले केही गर्न पर्दैन मेरो छोरा कृष्णप्रसादको हत्याका विषयमा अभियोजन सुरु गर्नुस, नत्र मलाई तपाईंको विश्वास छैन भनेर ।
छ महिना अघि कनकमणि दीक्षित र म उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमलाई भेट्न गएका थियौं । त्यतिबेला उहाँले ‘म नन्दप्रसादलाई बचाउन सक्दिन तर न्याय दिन्छु’ भन्नुभएको थियो । वामदेवजीको पहिलो वचन पूरा भएको छ । म उहाँलाई सोध्न चाहन्छु– उहाँको दोस्रो वचनचाँहि कहिले पूरा हुन्छ ?
म प्रधानमन्त्री सुशील कोइरालालाई सम्झन चाहन्छु, अहिले अमेरिकामा रहेका प्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्रसंघको मञ्चमा उभिएर नेपालको न्याय र मानवअधिकारको विषयमा कस्तो मन्तव्य दिनुहोला ? र, त्यसलाई हामीले कसरी विश्वास गरौंला ।
एकीकृत नेकपा माओवादीका नेताहरुलाई चाँहि म बधाई दिन चाहन्छु । किनभने यो धर्तीमा उहाँहरुलाई कुनै पनि कानुन लाग्दैन । तर, माओवादी लगायत सबै राजनीतिक दलले निधार खुम्च्याएर सोच्नुपर्छ कि अब आइन्दा यो देशमा राजनीतिक दलको छाता ओढेर जस्तोसुकै जघन्य अपराध गर्न पाइन्छ !
प्रधानमन्त्रीको राजीनामा माग्नुहुन्छ भन्ने दैनिक नेपालको प्रश्नमा प्याकुरेलले यसो भन्नुभयो– राजनीतिमा राजीनामा त्यस्तो देशमा मागिन्छ, जहाँ नैतिकता हुन्छ । तर, जुन देशमा नैतिकता स्खलित भएको छ, त्यो देशमा राजनीतिक प्रश्नले कुनै महत्व दिँदैन ।
















प्रतिक्रिया