जनकपुर, ६ असोज । मानिसहरु कतिसम्म निर्दयी हुनसक्छन भन्ने कुरा महोत्तरीमा भएको एक घटनाले देखाएको छ । सात महिने बालक एक लाख रुपैंयामा अपहरणकारीहरुले बिक्री गरेको खुलासा भएको छ ।
धनुषा प्रहरीका अनुसार, नाबालक अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाबाट यो खुलासा भएको हो । बालक अपहरण गरी बिक्रीमा संलग्न महोत्तरी–८ का शत्रुधन यादव, धनुषा औरही–९ का राजेश मण्डल, झोझीकटैया–६ का किशोरी मण्डल र सोही गाविस–८ का गुलिया पासवानलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले सवैला–१ का प्रकाश मण्डलको ७ महिने छोरा मंगललाई अपहरण गरी बिक्री गरेका हुन् ।
जनकपुर–७ स्थित मिथिला आश्रममा आश्रित कुष्ठरोगीको रेखदेख गर्दै आएका प्रकाशका छोरा २०७० माघ ७ गते एकाएक अपहरणमा परेका थिए । अपहरणमा परेका बालक महोतरी हरिनमरिन गाविस–१ अजगेवाकी सुनिता महरासँग भेटिएका छन् । उनले एक लाख रुपैंयामा किनेको प्रहरीसामु बयान समेत दिएकी छिन् ।
प्रहरीले बेचिएका बालकको उद्दार गरी परिवारको जिम्मा लगाएके छ । बालक अहिले १५ महिनाका भएका छन् ।
बालक अपहरण गरी बिक्रीमा संलग्नलाई प्रहरीले हिरासतमा राखी मानव बेचबिखन तथा ओसारपोसारको अभियोगमा मुद्दा चलाएको धनुषाका प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिए ।
















प्रतिक्रिया