काठमाडौं,६ असोज । राजदूत नियुक्तीमा कांग्रेस र एमालेभित्रै दावेदारहरुबीच मारामार भएपछि दश राजदूतको नियुक्ति कम्तीमा दसैं तिहासम्मका लागि धकेलिएको छ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे प्रधानमन्त्री सुशील कोइरालालाई राजदूत बन्ने मापदण्ड पनि बुझाएर हिँडेका थिए । तर राजदूत बन्नका लागि पार्टीका चौवन्नी सदस्यदेखि पूवप्रशासकहरुको लाइन नेताहरुका घरमा लागेका कारण मान्छे छान्नै संकट परेको छ ।
हाल दश राजदूत नियुक्ति गर्न बाँकी छ । सरकारले ६ देशका लागि परराष्ट्रका सहसचिवहरुको नाम सिफरिस गरेर संसदीय सुनुवाई विशेष समितिमा पठाइसकेको छ । अब बाँकी दश देशका लागि दलभित्रै सहमति गरेर मिलाउने भनिए पनि सहमति जुट्न नसकेको छैन ।
स्रोतका अनुसार भारतमा प्रधानमन्त्रीले कांग्रेस नेता दीपकुमार उपाध्यायलाई राजदूत बनाएर पठाउने मनसाय प्रकट गरेका छन् । कांग्रेसबाट राजदूत हुने चर्चामा रहेका अन्यमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहाकार दिनेश भट्टराई पनि छन् । पुर्वपरराष्ट्र सचिव मधुरमण आचार्य,शम्भुराम सिम्खडा,पूर्व राजदुत सुरेश चालिसे,पुर्वसचिवहरु श्याम मैनालीदेखि राष्ट्रपतिको पहुँच लगाएर विद्याधर मल्लिकसमेत प्रतिष्पर्धामा छन् । एमालेमा राजदूत बन्नेहरुको झन् ठुलो ताँती छ ।
राजदूतका प्रबल दावेदार मानिएका गोविन्द कुसुम अख्तियारको आयुक्तमा सिफारिस हुने भएका छन् । मानवअधिकार आयोगमा भनिएका वृन्दा हाडा त्यता नपाएपछि एमाले उपमहासचिव विष्णु पौडेलको पावर लगाएर पल्ला भारी बनाउने खेलमा लागेकी छन् । स्रोतका अनुसार आरआरएनका अर्जुन कार्की र गायिका अन्जान शाक्यले पनि राजदूत बन्न लबिङ गरेका छन् । अध्यक्ष केपी ओली नजिकका कैलाश ढुंगेल,प्राध्यापक चैतन्य शर्मा,रमेश सिलवाल,नारद वाग्ले लगायतले पनि राजदूतका लागि लबिङ गरिरहेका छन् । आजको साँघु साप्ताहिकमा खबर ।
















प्रतिक्रिया