३० आश्विन २०८३, शुक्रबार

अनुगमन आउँदा धमाधम सटर बन्द, हाम्रो पसल अनुगमन गर्न पाइँदैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishal Bazarकाठमाडौं, ६ असोज । राजधानीको न्युरोडमा दसैंको चहलपहल बढे पनि विशाल बजार भने आइतबार बन्द रह्यो। बन्दको कारण अरू कोही नभएर व्यापारी आफैं थिए।

दसैंको छेकमा हुनसक्ने ुउपभोक्ता ठगी रोक्नु बजार अनुगमनमा गएको सरकारी टोलीलाई असहयोग गर्दै विशाल बजारका व्यापारीले सटर बन्द गरेका हुन्।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको टोली आफ्नो नियमित कार्यअन्तर्गत आइतबार दिउँसो विशाल बजारका पसल अनुगमन गर्न पुगेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सरकारी अधिकारी ४२, ४३ र ४४ नम्बरको पसल अनुगमन सकेर ४५ नम्बरमा पुग्दा अगाडिका सटर धमाधम बन्द हुन थाले। विशाल बजार व्यापार संघका पदाधिकारीसहित बिक्रेताहरू ‘हाम्रो पसल अनुगमन गर्न पाइँदैन’ भन्दै टोलीलाई घेर्न आइपुगे। अनुगमन अधिकारी चार वटाभन्दा बढी पसलमा छिर्नै सकेनन्।
‘हामीले बिक्रेतासँग खरिद मूल्य, बिक्री मूल्य, भ्याट बिललगायत कागजपत्र माग्दै थियौं,’ वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले भने, ‘यसको विरोधमा उनीहरूले धमाधम पसल बन्द गरे।’

पसल बन्द हुनुअघि टोलीले ओक ल्यान्ड, रेडिमेड स्टोर, इन्टर सोप र आरएसएस त्रिसा पसल अनुगमन गरेको थियो। यी चार पसलमा कतिपय सामान वास्तविक मोलभन्दा १२ गुणा बढीमा बिक्री भइरहेको पाइएको छ।

अनुगमन अधिकारीका अनुसार बिलमा ३ सय ७३ रुपैयाँ खरिद मूल्य रहेको ज्याकेट ३ हजार ५ सय ४० मा बिक्री गरिएको फेला पर्योा। बिलअनुसार २ सय ८७ पर्ने पाइन्टमा २ हजार २ सय ५० र १ सय ८७ मा ल्याएको सर्टमा १ हजार २ सय रुपैयाँको ट्याग झुन्ड्याइएको अनुगमन अधिकारीले जनाए।

यतिमात्र होइन, खरिद बिलमा २ सय १ रुपैयाँ लेखिएको हाफ ज्याकेट २ हजार ७ सय र ७३ रुपैयाँ परेको टिसर्ट १ हजारमा बिक्री भइरहेको समेत टोलीले जनाएको छ।
विभागले यी पसललाई सात दिनभित्र रेडिमेड कपडामा अनिवार्य मूल्य सूची राख्न र व्यवसाय दर्ता प्रमाणपत्र नवीकरण गर्न निर्देशन दिएको छ। ‘हामीले पसलमा गएर हिसाबकिताब हेर्दै निर्देशन दिन थालेपछि अरू बिक्रेता आपत्ति जनाएर विरोधमा ओर्लिएका हुन्,’ बिडारीले भने।

व्यापारीले सरकारी अनुगमनमा असहयोग गरेको घटना यो पहिलो होइन। बिडारीका अनुसार तीन दिनअघि पनि विशाल बजारका दुई पसल अनुगमन गर्दा यसरी नै सम्पूर्ण सटर बन्द गरेर अवरोध गरिएको थियो।

विशाल बजारका बिक्रेता भने सरकारी टोली ‘व्यापारीसँग पैसा खान दसैंको मुखमा मात्र अनुगमनमा आउने गरेको’ आरोप लगाउँछन्। ‘हामी वर्षैभरि पसल चलाएर बसेका छौं, दसैंमा ग्राहकको भीडभाड हुने बेला आएर व्यापार किन बिगार्ने’ एक बिक्रेताले प्रश्न गरे।

विशाल बजार व्यापार संघका पूर्व अध्यक्ष तथा त्यहाँका बिक्रेता गौतमलाल श्रेष्ठ आफूहरू अनुगमनको विरोधमा नरहेको दाबी गर्छन्। ‘अनुगमन हुनुपर्छ तर हात्ती छाड्यो, मुसा समात्यो भन्ने चालामा हुनुहुँदैन,’ उनले  भने, ‘भन्सारमा पैसा खाएर कम मूल्यमा छाड्ने, अनि अहिले आएर हामीलाई समात्न मिल्छ ‘ भन्सारमा कम मूल्यांकन गरेर सामान छाडिएकाले नै खरिद र बिक्री मूल्यमा अन्तर देखिएको उनको तर्क छ। यही तरिकाले अनुगमन गर्ने हो भने सोमबार पनि बजार बन्द गर्ने उनले बताए।

आन्तरिक राजस्व विभाग महानिर्देशक चूडामणि शर्मा भने भन्सारमा न्यून मूल्यांकनको आरोप अस्वीकार गर्छन्। उनले सामानको वास्तविक मूल्य जति हो, त्यसैमा भन्सार निर्धारण गरिने बताए।