केही घटनाक्रमहरु जुन पछिल्लो समयमा विकसित भएका छन् र तिनले ल्याएका तरंगहरु विनाप्रतिक्रिया हेरिरहेँ । घटनाक्रम अघि बढ्दै गएका छन् । र, केन्द्रमा छ यतिबेला एउटा प्रश्न, के नेपाललाई टुक्रा बनाउने माग जायज छ ? माग त जुनसुकै पनि राख्न सकिन्छ । तर, के यो समयको माग हो ? के माग गरिएकै जस्तो परिस्थितितर्फ देश अगाडि बढ्दै गएको हो ?
एउटा प्रसंग सिड्नीकै । नेपाल भाषामा एउटा चलचित्र निर्माण गरिएको छ, चलचित्र भन्दा पनि यसलाई लघु चलचित्र भन्दा उपयुक्त होला । म्हसिका । म्हसिका अर्थात् परिचय, चिनारी । यसको प्रथम प्रदर्शन रकडेलको काउन्सिल हलमा गरिएको थियो । यति टाढा आएर पनि आफ्नो भाषा, संस्कृतिको संरक्षणका निम्ति गरिएको यो प्रयत्न वास्तवमै प्रशंसनीय छ । कार्यक्रमअघि लौन चलचित्र कसरी बनाउन सकिन्छ ? भन्ने विषयमा केही युवालाई तालिम दिन पर्यो भनेर मित्र गंगा नेमकुलले मलाई आग्रह गरेका थिए । मैले भनें, चलचित्र बनाउने तरिकाको विषयमा त होइन, यदि साँच्चै आवश्यक नै हो भने म ‘तस्वीर र शब्द’ शीर्षकमा अर्थात् ‘पिक्चर एण्ड वर्डस्’ मा आफ्नो केही अनुभव र केही जानेका कुराहरु राख्न सक्छु । आखिर विगत एक दशकभन्दा बढी समयदेखि दृश्य र शब्दमै त खेल्दै आएको थिएँ । र, अझै पनि त्यही छ मेरो दिनचर्या । त्यहाँ चलचित्र हेर्नका लागि नेपाल भाषाको बारेमा ज्ञान भएका, बोल्न जान्ने, बुझ्न सक्नेहरु नै उपस्थित थिए । मलाई पनि नेपाल भाषा आउँछ, किनकि मेरो भक्तपुरमा बाल्यकाल वित्यो र मेरो अधिकांश मित्रहरु यही भाषा बोल्दछन् । तर, यही जमातमा एकजना व्यक्ति मैले देखें, उनी पञ्जावी थिए । भारतबाट आएका । यहाँ छोराछोरी, दोस्रो र तेस्रो पुस्ताका आफन्तहरु थिए । उनी करिब एक वर्षदेखि सिड्नीमै छन् । तर, उनी त्यहाँ किन आए ? उनी किन युरोपियनहरुले आयोजना गर्ने अर्को कुनै कार्यक्रममा गएनन् । शायद त्यहाँ अंग्रेजीमा कार्यक्रम हुन्थ्यो होला । नेपाल भाषाभन्दा पनि बढी उनले बुझ्थे होला । तर, उनी गएनन् । उनी त्यहीँ आए । र, पूरै अवधि कार्यक्रममा बसे मात्र होइन, चलचित्र हेरे पनि । कति बुझे कति बुझेनन् त्यो मलाई थाहा भएन । तर, उनी पूरै कार्यक्रम अवधिभर बसे । उनलाई देखेपछि मैले बुझेको एकमात्र कुरा हो, उनले आफन्त खोजीरहेका थिए । आपूmजस्तै, आफ्नै साथीभाई, संगीहरु खोजीरहेका थिए । यहाँ पञ्जावीको कुरा थिएन । न त हिन्दीको कुरा थियो । उनी त दक्षिण एशियाली कोही भेटिए पनि खुशीसाथ त्यससँग घुलमिल हुन खोजिरहेका थिए । अहो, कस्तो आत्मियता । आत्मियता या बाध्यता ? मलाई लाग्छ यो बिरानो ठाउँमा उनी आपूmजस्तै, अझ सिधै भन्दा ‘आपूm’ खोजिरहेका थिए ।
एउटा दृश्य यता यस्तो देखियो । अर्को दृश्य हाम्रो देशमा छ । जहाँ उत्पीडन भयो भनेर विद्रोहको नाममा नेपाल आमालाई ‘वेश्या हो’ भन्न समेत बाँकी राखिएको छैन । अझ क्रान्तिको ठूलो मशाल बोकेझैं मुठी उचालेर एउटा अरिमठे जुँगा भएको व्यक्ति भन्दैछ, स्वराज जिन्दावाद । वाह !
यसो भन्दै हिंड्ने ऊ त्यही माटोको मान्छे हो । नेपाली नागरिक हो । त्यसैले शायद यहाँ कसैले पनि उसलाई जवाफ दिइरहेको छैन । मात्र संयमता देखाइरहेका छन् । कामना गरिरहेका छन् बुद्धि फर्कियोस् । किनकि घरझगडा हुनसक्छ । तर, त्यसको निहुँमा कसैले पनि घरमा आगो लगाउँदैन । बरु सकेसम्म झगडा मिलाउने प्रयत्न हुन्छ । अन्यथा हामीले धेरै काण्ड देखेका छौं । नेपालीको रगत निकै तातो छ । कुनैपनि विदेशीले नेपाल आमालाई, हाम्रो देशका विरुद्ध एक शब्द निकाल्दा पनि त्यसका विरुद्ध जुरुक्कै उठेका उदाहरण धेरै छन् ।
हामी बुद्ध जन्मिएको देशका नागरिक हौं । शान्त छौं, रहनुपनि पर्छ । यो संसारमा सबैभन्दा ठूलो धर्म नै क्षमा हो । कुनै व्यक्तिले परिस्थितिको दास भएर । आफ्ना कमजोरीहरुका कारण । अरुका कमजोरीहरुका कारण परिस्थितिको परिबन्दमा कैयौं कामहरु गरेको हुनसक्छ । तर, जब ऊ निद्राबाट व्यूँझेझैं त्यस परिस्थितिबाट बाहिर आउँछ । अनि, त्यतिबेला चेत खुल्दछ र पश्चातापको आगोमा जल्न थाल्दछ । बुद्धिमान मान्छेले, ज्ञानीले पहिले नै त्यसलाई क्षमा दिनु पर्दछ । ताकि जब त्यस अभियुक्तको चेत खुल्दछ त्यतिबेला उसले को ज्ञानी थियो, बुद्धिमान को थियो यो स्पष्टसँग चिन्न सकोस् । यसअर्थमा जननी जन्मभूमिश्च स्वर्गादपी गरियसीः को नारा लगाउने हामी नेपाली आफ्नै जन्मभूमि आमालाई वेश्या भनेर सम्बोधन गर्दा पनि शान्त भएर, धैर्यपूर्वक, क्षमाशील भएर उसको कुरा सुनिरहेका छौं । उसलाई बोल्न दिइरहेका छौं र स्वराज जिन्दावाद भन्न दिइरहेका छौं ।
उत्पीडन कसले सहेको छैन ? के हामीले नेल्शन मन्डेलालाई विर्सिएका हौं ? उनले जब दक्षिण अफ्रिकालाई स्वतन्त्र तुल्याए । के उनले गोरा जातिका मानिस जति सबैलाई जेलमा कोच्न सक्दैनथे होला त ? के उनले गोरा जति सबैलाई देश निकाला गर्न सक्दैनथे होला त ? के उनले तिनीहरुको सारा सम्पत्ति लुट्न र तिनीहरुलाई बर्बाद पार्न सक्दैनथे होला त ? तर, उनले उपराष्ट्रपति तिनै गोरा समूदायका व्यक्तिलाई बनाए । र, सन्देश दिए हामीले पनि फेरि गोरामाथि भेदभाव गर्न थाल्यौं भने त उनीहरु र हामीमा के नै भेद रह्यो र ? उस्तै भयौं नी हामी । त्यसैले हामीले अब समानताको यात्रा सुरु गर्नु पर्दछ ।
आज अचम्म देखिँदैछ । मधेशको मान्छे काठमाडौंको नेवारले हेप्यो, दबायो, शोषण गर्यो भन्दैछ । नेवार क्षेत्री बाहुनले हामीलाई उत्पीडन गर्यो भन्दैछ । लिम्बु राईलाई दोष लगाउने, लिम्बु शेर्पाको कुरा काट्ने र पीडित बनायो भन्ने । एक जात अर्को कुनै जातिलाई दोष लगाउने फेरि अर्को कुनै जाति पीडित भएँ भन्ने । आखिर पीडक को ? पीडित को ? हामी सबै पीडित र हामी सबै पीडक । समयले दिएको जवाफ यही हो ।
हामी पीडित यस अर्थमा कि, हामी अहिले विश्वका विभिन्न ठाउँमा श्रम बेच्न बाध्य छौं । लाससँग रेमिट्यान्स साट्न बाध्य छौं । त्यहाँ त एउटा जाति विशेष मात्र गएको छैन होला ? खाडीका मुलुकहरुको के कुरा, अष्ट्रेलिया, युरोपमा पनि नेपालीहरु श्रम नै बेचिरहेका छन्, भविष्यको सुन्दर सपनासँग लास साटिरहेका छन् ।
पीडक यसअर्थमा कि, एकले अर्कालाई पीडक भनेर चोर औला देखाउँदा आफैंतिर फर्किएका अरु तीनवटा औला हामी बिर्सिरहेका छौं । आखिर समय क्रममा कोही तल, कोही माथि । कोही धनी, कोही गरिब, कोही शिक्षित, कोही अशिक्षित भएकै हो । एकले अर्कोलाई हेपेको पनि होला, दबाएको पनि होला, आफ्नो अस्तित्वको रक्षाका लागि अर्काको अस्तित्वलाई तिलाञ्जली पनि दिएको होला । कोही पराईले नकुल्चियोस् भनेर एकताबद्ध हुन अनेक उपाय अपनाएको पनि होला । त्यतिबेला त्यही सही मानियो, त्यही भयो । त्यतिबेला समाज शिक्षित थिएन, चेतना यतिस्तरमा थिएन ।
अब हामी चेतनशील भएका छौं । देशमा धमाधम पूर्ण साक्षर जिल्ला घोषणा गर्ने लहर मात्र छैन हामी क्याम्ब्रिज र अक्सफोर्ड जस्ता विश्वविद्यालयहरुमा पढ्ने भइसकेका छौं । र, यिनमा पढेर हामीले समाजशास्त्र, दर्शनशास्त्र, राजनीतिशास्त्र मात्र होइन व्यक्तिगत स्वतन्त्रता, देशको अखण्डताको समेत राम्रै ज्ञान लिइसकेका छौं । तर, के हुँदैछ यहाँ ? तिनै विश्वविद्यालयहरुमा गएर पाएको ज्ञानले नेल्शन मन्डेलाजस्तो बन्न सिकाइरहेछ अथवा स्वराज जिन्दावाद भन्दै सीके राउतजस्तो आमालाई गाली गर्नेहरु जन्माइरहेछ ? गम्भीर प्रश्न बारम्बार मेरो मनमा आइरहेछ । तर, पनि फेरि मलाई एकदमै खुशी लागेको छ । कति संयमित, कति क्षमाशिल छ हाम्रो समाज, वाह !














प्रतिक्रिया