२८ आश्विन २०८३, बुधबार

बेलायतका ३८ कलेज खारेज, नेपाली विद्यार्थी पीडित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

londonकाठमाडौं, ५ असोज । बेलायत सरकारले उसकै शब्दमा अध्यागमन नियमको परिधी नाघ्ने बेलायतस्थित ३८ कलेजको लाइसेन्स खारेज गरिदिएको छ ।

गत २४ जुनमा बेलायती अध्यागमन मन्त्री जेम्स ब्रोकेनसायरले अंग्रेजी परीक्षाको नक्कली प्रमाणपत्र  लिएर क्यास जारी गरेको अभियोगमा एक विश्वविद्यालयसहित ५७ निजी कलेज निलम्वन गरिएको घोषणा संसदबाटै गरेका थिए । निलम्बित मध्ये ३८ निजी कलेजले लाइसेन्स गुमाएको शुक्रवार जारी सूचनामा उल्लेख छ।

लाइसेन्स गुमेसँगै ती कलेजहरू सदाका लागि बन्द भएका छन्।बन्द गरिएका कलेजले वास्तविक विद्यार्थी भर्ना नलिएको, बेलायतको अध्यागमन नियम एवं विद्यार्थीको स्पोन्सरसीप जिम्मेवारी पूरा नगरेको निष्कर्ष सरकारको छ । सरकारको निर्णयबाट नेपालीसहित हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी पीडित हुने चिन्ता छ ।

होम अफिस अन्तर्गत यूके भिजा एण्ड इमिग्रेशनले लाइसेन्स खारेज भएका कलेजमा अध्ययनरत विद्यार्थीलाई साठी दिनभित्र अर्को शैक्षिक संस्थान खोज्न वा स्वदेश फर्कन भनेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । बाहिर बाट अध्ययन गर्न तयार विद्यार्थीलाई यूके प्रवेश गर्न नदिइने र निवेदन दिइसकेको भए अर्को निर्णय नभएसम्म प्रक्रिया स्थगित हुने जनाएको छ।

केही वर्ष यता ५० हजार भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीले ब्रिटिस भिसा बढाउन पेश गरेका अंग्रेजी परीक्षाको सर्टिफिकेट अवैध वा शंकास्पद भएको बेलायत सरकारको विश्वास छ। यही कारण उसले विद्यार्थी भिसामा कडाइ गर्दै लगेको हो।

अमेरिकी कम्पनी एजुकेशनल टेस्टिङ सर्भिसका टेस्ट सेन्टरहरुमा नक्कली परीक्षामार्फत् धमाधम अंग्रेजी जांचका सर्टिफिकेट किनबेच भएको पाइएपछि गत अप्रिलबाट होम अफिसले त्यस्ता सेन्टर खारेज गरी संस्थाले दिने टोइक (दि टेस्ट अफ इंगलिस फर इन्टरनेशनल कम्युनिकेशन) सर्टिफिकेट समेत मान्य नहुने गरी प्रतिबन्ध लगाएको थियो । अहिले त्यस्तो सर्टिफिकेट पेश गर्ने विद्यार्थीलाई पक्रेर वा सूचना दिएर देश छाड्न भनिएको विद्यार्थीले जनाएका छन् ।