काठमाडौं, ४ असोज । नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेस युनियन काठमाडौं शाखालाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
प्रेस युनियन काठमाडौंद्वारा आयोजित सम्मान एवं शुभकामना आदान प्रदान कार्यक्रममा खड्काले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गर्न १ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै सह–महामन्त्री खड्काले शान्ति र संविधानको यात्रामा लोकतन्त्रवादी पत्रकारहरुको भूमिका महत्वपूर्ण भएको सन्त नेताको नाममा अक्षय कोष खडा गर्न आफूले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभाषद नवीन्द्रराज जोशीले सरकारका कामलाई जवाफदेही बनाउन र संविधान लेखनमा खबरदारी गर्न नेपाली प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाले प्र्रेस युनियन काठमाडौं शाखालाई सम्पूर्ण हिसाबले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले श्रमजीवी पत्रकारहरुको हकहितका लागि युनियनले छिट्टै विषेश अभियान सञ्चालन गर्ने बताउनुभयो । प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष नकुल अर्यालले दसैं आइसक्दा पनि अधिकांश सञ्चार प्रतिष्ठानमा पत्रकारहरुले तलब नपाएको भन्दै तत्काल उपलब्ध गराउन माग गर्नुभयो ।
कार्यक्रममा प्रेस युनियनको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रेस युनियन काठमाडौंको कार्यालय तथा कार्यक्रम सञ्चालनका लागि पत्रकार भक्तबहादुर थापाले १५ हजार, बसन्तप्रकाश उपाध्यायले १० हजार तथा कांग्रेस प्रचार विभागका सदस्य सचिव दामोदरप्रसाद दवाडीले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
















प्रतिक्रिया