काठमाडौँ, ४ असोज । नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दी तथा भागबन्डाले विकृत रुप लिँदा नेताले कार्यकर्ताको र कार्यकर्ताले नेताको मूल्याङ्कन गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
नेपाली काँग्रेस लम्जुङ–काठमाडौँ सम्पर्क समितिद्वारा विजयादशमी तथा दिपावलीका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उहाँले पद्धतिलाई आत्मसात् नगरी भागबन्डाका आधारमा पार्टी सञ्चालन गरिँदा यसले समग्र पार्टीलाई अलमल बनाएको उल्लेख गर्नु भयो ।
गुटबन्दी तथा भागबन्डाले विकृत रुप लिइरहेको उल्लेख गर्दै उहाँले जसका कारण नेताले कार्यकर्ताको र कार्यकर्ताले नेताको मूल्याङ्कन गर्न नसकेको टिप्पणी गर्नुभयो ।
नेपालमा संविधान निर्माण तथा राजनीतिक स्थायित्वका लागि नेपाली जनताले नेपाली काँग्रेससँग धेरै अपेक्षा गरेको उहाँको भनाइ थियो ।
काँग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले संविधान लेखनलाई सम्पन्न गराउन तीव्र रुपमा काम भइरहेको बताउँदै संविधानका विवादित विषयलाई आगामी ८–९ दिनभित्रमा सहमतिको प्रयास गरिने र सहमति नभएमा त्यसको निर्णय संविधानसभाले गर्ने बताउनुभयो ।
काँग्रेस लम्जुङ काठमाडौँ सम्पर्क समितिका कावा अध्यक्ष हरिप्रसाद गुरुङले विजयादशमीले नेपालीको समृद्धिका साथै यहाँको राजनीतिक स्थायित्वका लागि सत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा सभासद् एवम् नेपाली काँग्रेस लम्जुङका पूर्व सभापति चन्द्रबहादुर गुरुङले संविधान निर्माण यतिखेर सबैको चासोको विषय भएको उल्लेख गर्दै संविधान निर्माणका लागि आइरहेका महान् चाडले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमममा रामचन्द्र अधिकारी, कृष्ण कोइराला, तुल्सीनारायण श्रेष्ठ, डा टकराज गुरुङ, नारायणबहादुर कार्कीलगायतले विजयादशमी तथा दीपावलीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संसद्को राज्य व्यवस्था समितिको सभापति निर्वाचित हुनुभएकामा दिलबहादुर घर्तीलाई सम्पर्क समितिका तर्फबाट सम्मान गरिएको थियो ।
















प्रतिक्रिया