भोलाराज पौडेल
नुवाकोट, ४ असोज । अविरल वर्षासँगै परेको चट्याङमा परेर नुवाकोटको रालुकादेवीमा एक महिलाको मृत्यु भएको छ ।
त्यसैगरी खहरे खोलाले बगाउदा विदुर नगरपालिकाका दुई जना व्यक्ति हराइरहेका छन् ।
चट्याङ लागेर रालुकादेवी गाविस वडा नं. २ का ३० वर्षीया मसिनी तामाङको शुक्रबार राति १ बज े मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर तामाङको घटनास्थलमै मृत्यु भएको निमित्त प्रहरी प्रमुख प्रकाशराज शर्माले जानकारी दिनुभयो । चट्याङ लागेर सोही ठाउँका तीन जना घाइते भएका छन् ।
यस्तै विदुर नगरपालिका वडा नं. ८ राइसिंङका ५६ वर्षीया हस्तबहादुर घले र थलबहादुर तामाङ वेपत्ता भएका छन् ।
पानी परिरहेको समयमा आफू घर आउनका लागि बगुवा खोला तर्न लागेको जानकारी गराएका तामाङ सोही समयदेखि वेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनीहरु दुवैलाई बगुवाखोलाले बगाएको अनुमान गर्दै स्थानीय र प्रहरीले रातभर खोजी कार्य गरेका थिए । दुवै जनाको खोजी कार्य आज विहानैदेखि स्थानीय र प्रहरीले गरिरहेका छन् ।
यस्तै शुक्रबार बेलुकी परेको भीषणा वर्षाका कारण सुन्दरादेवी गाविसको सातविसे नजिकै खहरेखोलाले वा ५१ प २८३१ नं.को मोटरसाइकल बगाएको छ ।
नुवाकोटमा शुक्रबार साँझ यस वर्षकै ठूलो वर्षा भएको स्थानीयवासीहरुले बताएका छन् ।















प्रतिक्रिया