२८ आश्विन २०८३, बुधबार

तातेसिना घोषणापत्र जारी गर्दै एनआरएनको आठौँ क्षेत्रीय सम्मेलन सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

11

जापान, ४ असोज । समृद्ध नेपालको मार्गचित्र कोर्ने मूल उद्देश्यका साथ भएको गैर अवासीय नेपाली संघको आठौं क्षेत्रीय सम्मेलन नौबुँदे तातेसिना घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

जापानको नागानोस्थित तातेसिनामा असोज २ र ३ गते आयोजना भएको सम्मेलनको अन्तिम दिन शुक्रवार गैरआवासीय नेपाली संघका प्रवक्ता मन केसीले घोषणापत्र जारी गर्नुभएको हो ।

देशमा संविधान निर्माणको क्रम चलिरहँदा गैरआवासीय नेपालीहरुको पनि, ध्यान संविधानसभामै केन्द्रित रहेको भन्दै घोषणापत्रमा देश अन्तरिम संविधानमार्फत चलिरहेको यो अवस्थामा नयाँ संविधान तोकिएको मिति भित्रै आओस् भन्ने आम चाहना जस्तै हामी सम्पूर्ण गैरआवासीय नेपालीहरुको भावना रहेको उल्लेख छ ।

यसैकारण सम्मेलनले दलहरुले भनेकै मितिभित्र संविधानसभामार्फत नयाँ संविधान जारी गर्न आह्वान गरेको छ ।

समृद्ध नेपाल नै विश्वभरका गैरआवासीय नेपालीहरुको चाहना रहेको र आर्थिक समृद्धिमा मात्र राष्ट्रियता दिगो र सबल रहन सक्छ भन्ने मान्यता राख्ने गैरआवासीय नेपालीहरु समृद्ध नेपालको लागि दीर्घकालीन आर्थिक मार्गचित्र बनाउन जरुरी ठान्दछौँ भन्दै घोषणापत्रमा नेपाल सरकारसँग सहकार्यकासाथ साझा आर्थिक मार्गचित्र तयार गर्न प्रतिवद्धता जाहेर गरिएको छ ।

घोषणापत्रमा आर्थिक विकास एवं समृृद्धिका लागि लगानीमैत्री वातावरण पहिलो सर्त मान्दै स्वस्थ एवं दिगो आर्थिक वृद्धि हासिल गर्न यथासक्य छिटो आवश्यक ऐन कानुन निर्माण गर्दै लगानीमैत्री वातावरण बनाएर समृद्ध मुलुक निर्माणको आधार तयार गर्न नेपाल सरकारसँग माग गरिएको छ ।

12

गैरआवासीय नेपालीहरुले स्थापनाकालदेखि नै उठाउँदै आएको नेपाली नागरिकताको निरन्तरता अझै सान्दर्भिक बनेको छ भन्दै घोषणापत्रमा संविधानसभाका सदस्य, राजनीतिक दललगायत सम्बन्धित पक्षसँग नयाँ संविधानमा नेपाली नागरिकताको निरन्तरताको व्यवस्था गर्न यो सम्मेलनले जोडदार माग गरेको घोषणापत्रमा उल्लेख छ ।

मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको वैदशिक रोजगारीका क्रममा कुनै पनि नेपालीले अनावश्यक दुःख पाउन नहने र यस क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु राज्य र सरोकारवाला निकायको सामूहिक दायित्व हो भन्दै घोषणापत्रमा गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न र वैदेशिक रोजगारीका लागि विदेश जानुअघि अभियानका रुपमा आवश्यक जनचेतना एवं ज्ञान र शीप प्रदान गर्न सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिवद्धता जाहेर गरिएको छ ।

घोषणापत्रमा विश्वभर रहेका ३० लाखभन्दा बढी गैरआवासीय नेपालीहरुको भावनात्मक प्रतिनिधित्व गर्ने प्रतीकका रुपमा गैरआवासीय नेपाली संघको आफ्नै भवन

निर्माणका लागि देखाइएको उत्साहजनक सहभागिताको सम्मान गर्दै यस अभियानमा हातेमालो गर्न सबैलाई यो सम्मेलन हार्दिक अपिल गरिएको छ ।
संघको भवन निर्माणका लागि सम्मेलनको क्रममा चलाइएको अभियानमा मात्र दुई करोड १२ लाख ३४ हजार रुपियाँ सङ्कलन भएको छ ।

घोषणापत्रमा परोपकारी तथा समाजिक कार्यहरुमा सकृय रहँदै आएको गैरआवासीय नेपाली संघ यो क्षेत्रमा आगामी दिनमा अझ महत्वपूर्ण योगदान गर्दै जाने प्रण गरिएको छ । संघका प्रवक्ता मन केसीले घोषणापत्र जारी गर्नुभएको थियो ।

समापन समारोहमा बोल्दै गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपालले गैर आवासीय नेपालीको लगानीलाई ध्यानमा राखेर नीति तथा ऐन बनाउनु पर्ने र त्यसो हुँदा अरु पनि प्रत्यक्ष वैदेशिक लगानी आउने बताउनुभयो ।

13

उहाँले नेपालसँगको भावनात्मक नाताले मात्रै सधै लगानी नआउने बताउँदै सरकारले लगानीमैत्री वातावरण बनाए मात्रै सम्भव हुने बताउनुभयो ।
गैर आवासीय नेपालीलाई नेपाली नागरिकताको निरन्तरता दिने काम नेपालमा लगानी भित्र्याउने विषयसँग सम्बन्धित रहेको बताउँदै उहाँले त्यसमा कन्जस्याँइ नगर्न अनुरोध गर्नुभयो ।

गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैर आवासीय नेपालीहरु नेपाललाई आर्थिक मात्र नभई बौद्धिक, सामाजिक लगायत समग्र रुपमा समृद्ध बनाउने आभियानमा लागेको बताउनुभयो ।

गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष जीवा लामिछानेले गैर आवासीय नेपालीलाई मताधिकारको व्यवस्था गर्न माग गर्नुभयो ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक भवन भट्टले समृद्ध नेपालको मार्गचित्रमा पर्याप्त वहस भएको उल्लेख गर्दै अब त्यसलाई मूर्तरुप दिएर कार्यान्वयन गर्न सबैको सहयोग चाहिने बताउनुभयो ।

समापन समारोहमा एनआरएन एसिया तथा प्रशान्त क्षेत्रका संयोजक गंगा राई, एनआरएन केन्द्रका सदस्य तथा सम्मेलन आयोजक समितिका सचिव भूषण घिमिरेले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।