हामीले पत्रकारिता सुरु गर्दाका दिन सम्झँदा अझै पनि जिउ जिरिङ्ग हुने गर्छ । ०३५–०३६ को विद्यार्थी आन्दोलनको रन्कोले तिमीलाई धरानमा तताइ रहँदा म पाल्पामा विद्यार्थी आन्दोलनको आगोमा होमिएको थिएँ । हाम्रो मिशन एउटै थियो । युवा जोश, त्यसमाथि क्रान्तिकारी विचारले ओतप्रोत हामी र हामीजस्ता युवाको तातो रगतले आज सिंगो देशमा राजनीतिक परिवर्तनको लहर आएको छ ।
स्कुले जीवनदेखि नै हामीमा प्रगतिशील साहित्य र राजनीतिको हल्का प्रभाव परेकै कारण विगत तीन दशकभन्दा अघिदेखि हामी युद्धको अग्रमोर्चामा छौँ । हामीले टेकेका कुनै पनि पाइला असफल भएका छैनन् । आन्दोलनको आँधी बेहरीमा लपेटिँदा धेरै पटक हामीलाई अविचलित बनाउन खोजियो । जेल, नेल, राजकाज मुद्दा हाम्रा लागि सामान्य बन्यो । तर, पनि युद्धको मैदानमा जस्तोसुकै आँधीबेहरीले पनि हाम्रो विचारलाई हल्लाउन सकेन । किनभने, हामी इमान्दारपूर्वक निष्ठाको राजनीतिमा समर्पित थियौँ ।
पञ्चायती निरंकुश शासन व्यवस्थामा राजनीतिक दलहरु प्रतिबन्धित थिए । नेताहरु कोही निर्वासनमा थिए त कोही भूमिगत । त्यस्तो कालरात्रीमा पनि कलमको दियो बालेर निरंकुशताका विरुद्ध लड्नु भनेको एक प्रकारको दुस्साहस नै थियो । त्यतिबेला हामीले यो दुस्साहस नगरेको भए सायद तिम्रो र मेरो भेट पत्रकारको रुपमा हुने पनि थिएन । पत्रकारिताको माध्यमबाट आज तिमी पूर्वबाट कोशी भएर निरन्तर बगिरहेका छौ । म पनि बाग्मती भएर काठमाडौंमा निरन्तर बगिरहेको छु । कोशी भनेको त्यतिबेला कम्युनिस्ट आन्दोलनको उर्वर भूमि थियो । जहाँ तिमीजस्ता निष्ठावान कार्यकर्ताले ज्यान हत्केलामा राखेर पत्रकारिता गर्यौँ । बागमती कोशीभन्दा अलि फरक र दुर्गन्धित छ । कोशीबाट संग्लिएर बागमतीमा आएकाहरु धेरै दुर्गन्धित बनिसकेका छन् । हिजोको जस्तो त्याग आज छैन । निष्ठावानहरुका लागि हरेक ढोका बन्द छन् । अवसरवादीका लागि बागमती उर्वरभूमि बनेको छ । त्यसैले कहिलेकाहीँ लाग्छ– यो देश साँच्चै नै सतिले सरापेको देश पो हो कि ?
प्रिय मित्र,
मेरो मोबाइलमा वर्षको एक पटक तिम्रो घण्टी बज्ने गर्छ । अस्ति पनि तिम्रो घण्टी बज्दा मलाई लागेको थियो, ‘ब्लाष्ट’को जन्म दिन आएर क्यारे । मेरो टेबुल अगाडि झुन्डिएको क्यालेन्डर हेरेँ । तिमीले भन्यौ असोज २ गतेका लागि एउटा शुभकामना ‘मेल’ गर्नु । तिमीलाई मेरो सधैँ शुभकामना छ । वर्षको एक दिन ‘मेल’ गर्नु त औपचारिकता मात्र हो । तर, पनि मलाई के विश्वास छ भने मैले लेखिएको यी शब्द तिम्रो पत्रिकामा प्रकाशित भएपछि तिम्रो दुई दशक लामो ‘ब्लाष्ट’ को आन्दोलनमा मेरो पनि ऐक्यवद्धता छ भन्ने कुरा जनताले बुझ्ने छन् ।
मैले यो शब्द लेखिरहँदा मेरो कोठमा झुन्डिएको मनमोहन अधिकारीको फोटोमा पटक पटक आँखा जाने गर्छ । ०४६ सालको आन्दोलन सफल भएपछि नेपालमा धेरै प्रधानमन्त्री भए । मन्त्रीको त गन्ती नै भएन । तर, पनि राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकास किन भएन भन्नेतिर बारम्बार सोच्ने गर्छु । हरेक राजनीतिको एउटै उद्देश्य समृद्धि हो । बाह्र वर्षे जनयुद्धले देशलाई मरुभुमि बनायो । लाखौं युवा पलायन भए । माओवादी संविधानसभामा आए । फेरि पनि संविधान किन बन्न सकेन ? फेरि पनि राजनीतिक स्थिरता किन हुन सकेन ? फेरि पनि आर्थिक विकासका गति किन अघि बढ्न सकेन ? किनभने नेतालाई सत्ता मात्र चाहिएको छ । देश र जनताप्रति उनीहरुको कुनै उत्तरदायित्व नै छैन । त्यसैले देशमा सयौं जना प्रधानमन्त्री होइन, मनमोहन अधिकारीजस्ता एक जना निष्ठावान राजनेताको खाँचो छ । मदन भण्डारीजस्ता दूरदर्शी जननेताको खाँचो छ । राजनीतिक बेरोजगारीले देश कंगाल बनेको छ । भ्रष्टाचार, कमिशनखोरी, अनियमितता, चन्दा आतंक आजको राजनीतिक आधार हो । जताततै राजनीति रंग छ्याप्दा सिंगो देश अराजकतावादतिर उन्मुख भएजस्तो लाग्छ । यो सबै बेथितिलाई थितिमा ल्याउने दायित्व फेरि पनि तिम्रो र हाम्रै हो । जसका लागि हामीले तीन दशक अघिदेखि कलम घोटिरहेका छौँ । हाम्रा कलमले कोर्ने अक्षरहरुले आज देश लोकतान्त्रिक गणतन्त्रमा परिणत भएको छ । जनताको बलिदानीबाट प्राप्त अधिकारको रक्षा गर्नु अहिले हाम्रो दायित्व र जिम्मेवारी दुवै हो । त्यसको पहिलो शर्त संविधान निर्माण हो । यसबाट अब कोही भाग्ने कोसिस गर्छ भने, त्यस्ता तत्वलाई हामीले खबरदारी गर्नुपर्छ ।
अन्त्यमा,
सगरमाथा आरोहण गर्नु बरु सजिलो होला । मिशन पत्रकारिता गर्नु अहिले पनि निकै कठिन छ । व्यावसायिकताको आवरणले नेपाली पत्रकारितालाई कुरुपतातिर धकेलिरहेको छ । ‘बोल्नेको पिठो बिक्ने…’ समाजमा तिमीले जुन उद्देश्य, लक्ष्य हासिल गर्न पत्रकारिताको माध्यमबाट निरन्तर संघर्ष गरिरहेका छौँ । त्यसमा सफलता मिलोस् । यही शुभकामना ।
(दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठद्वारा धरानको ब्लाष्ट दैनिकका सम्पादक राजकुमार कार्कीलाई लिखित पत्र)














प्रतिक्रिया