इलाम, ४ असोज । ‘राहदानी हराएको सूचना छाप्न कति रुपैयाँ लाग्छ’ सञ्चारकर्मीलाई फोन र भेटमा जनसाधारणले सोधिरहने एउटा प्रश्न हो, ‘अलि सस्तोमा मिलाउन सकिँदैन गृह मन्त्रालयले स्थानीय पत्रिकामै प्रकाशित गर्दा हुने प्रावधान राखे पनि राहदानी हराएको सूचना राष्ट्रिय दैनिक पत्रिकामै बढी छापिन्छ, यसबाट कतिपय सेवाग्राही ठगिन्छन् पनि।
नहराएको राहदानी पत्रिकामा हरायो भन्न जति सजिलो छ, अर्को बनाउन र हराएकोले हुन सक्ने क्षति रोक्न उत्तिकै मुस्किल। तैपनि राहदानी हराउनेक्रम रोकिएको छैन। राज्यले नागरिकलाई प्रदान गर्ने महत्त्वपूर्ण र संवेदनशील कागजात हो– राहदानी, जुन विदेशयात्रामा जान चाहनेले निश्चित प्रक्रिया पूरा गरेपछि गृह र परराष्ट्र मन्त्रालयअन्तर्गतका निकायबाट हात पार्छन्।
जारी भएको १० वर्षसम्म मान्य हुन्छ राहदानी, नवीकरण गर्नुपर्दैन। तर, पत्रिका पल्टाउँदा एकै दिन दर्जनौं वटासम्म ‘राहदानी हराएको सूचना देखिन्छ। हरेक जिल्लाको ठेगाना खुलेका राहदानी यत्तिको संख्यामा हराइरहँदा सरोकारवालाले भने वास्तविकता बुझ्न चाहेको देखिँदैन। जारी गर्ने परराष्ट्र मन्त्रालय र हराएको पुष्टि गर्ने नेपाल प्रहरी हराएका राहदानी खोज्न र हराउने क्रम रोक्न मौन छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहाडी जिल्ला इलाममै छ वर्षभित्र झन्डै एक हजारवटा राहदानी हराइसकेका छन्। आर्थिक वर्ष २०६५/०६६ मा १६९, ०६६/०६७ मा १२९, ०६७/०६८ मा १४०, ०६८/०६९ मा १९२, ०६९/०७० मा २१९, ०७०/७१ मा १४४ गरी राहदानी हराउने ९ सय ९३ जनाको विवरण प्रहरी कार्यालयमा रहेको समाचार आजको नागरिक दैनिकले छापेको छ।
चालू आर्थिक वर्ष २०७१र०७२ को दुई महिनामै ६६ जनाले ‘राहदानी हराएको’ विवरण प्रहरीमा बुझाएका छन्, त्यसमा महिलाको संख्या ९ छ। ‘महिनामा २५/३० जना राहदानी हरायो भन्दै अर्को झिक्ने सिफारिस लिन आइपुग्छन्,’ कार्यालयको राहदानी शाखाका हवल्दार हेम आचार्य भन्छन्, ‘हराउने यत्तिका भए पनि भेटिएको चाहिँ सुन्न पाइँदैन।’
पत्रिकाको सूचना नियाल्दा इलाममा हराउने राहदानी बिब्ल्याँटेदेखि चौकबजारसम्म र गोलाखर्कदेखि चौकबजारसम्मै भेटिनुपर्ने हो। किनकि अधिकतर सूचनामा हराएको क्षेत्र त्यही उल्लेख हुन्छ। ‘सूचनाको भर परेर ती क्षेत्र घुम्ने हो भने राहदानी नै राहदानी भेटिनुपर्ने,’ हवल्दार आचार्य हाँस्छन्, ‘जिल्ला प्रहरी कार्यालयमा बसेको छ वर्ष भयो। त्यहाँ मात्र होइन, कतैबाट राहदानी भेटिएको खबर आएन।’
इलामका प्रहरीप्रमुख डिएसपी अनुपमशम्शेर जबराका अनुसार वैदेशिक रोजगारीमा जाने उद्देश्यले बनाइएका राहदानी बढी ुहराउनेु गर्छन्। ग्रामीण क्षेत्रका युवायुवती म्यानपावरमा सिधै नपुग्ने र एजेन्टमार्फत राहदानी बुझाएर बिदेसिने प्रक्रिया थाल्छन्। एजेन्टले म्यानपावरमा बुझाएका राहदानीमध्ये जसले धेरै ताकेता गर्योे र पैसा खर्चियो उसैको भिसा छिटो आउँछ र रोजगारीका लागि बिदेसिने मौका पाउँछ।















प्रतिक्रिया