काठमाडौं, ३ असोज । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकका गृहमन्त्रीहरुको बैठक काठमाडौंमा शुरु भएको छ ।
बौद्धस्थित हायात रिजेन्सी होटलमा शुक्रबारबाट पाकिस्तानबाहेक सार्क मुलुकका सबै गृहमन्त्रीहरु भेला भएको गृह मन्त्रालयले जनाएको छ ।
सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा हुँदै गरेको उक्त बैठकमा नेपालका गृहमन्त्री वामदेव गौतम, भारतीय गृहमन्त्री राजनाथ सिंहसहित बंगलादेश, भुटान, माल्दिब्स, श्रीलंका र अफगानिस्तानका गृहमन्त्री बैठकमा सहभागी छन् ।
बैठकमा क्षेत्रीय शान्ति, आतंकवाद, लागुऔषध कारोबार, मानव बेचबिखन, भ्रष्टाचार र साइबर अपराध नियन्त्रणमा साझा प्रतिवद्धता जनाउने विषयमा छलफल भइरहेको बुझिएको छ ।
सन् २००५ मा बंगलादेशको ढाकामा सम्पन्न १३ औं सार्क शिखर सम्मेलनले आतंकवादी क्रियाकलापको निन्दा गर्दै हरेक वर्ष सार्क राष्ट्रका गृहमन्त्री र गृहसचिवको बैठक आयोजना गर्ने निर्णय गरेको थियो ।
सोही अनुरुप उक्त बैठक बसेको हो । गृहसचिवहरुको बैठक यस अघि नै सम्पन्न भइसकेको छ ।
















प्रतिक्रिया