२८ आश्विन २०८३, बुधबार

वीरगन्ज र फुच्चे घन्टाघर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ashok-Silwal

६ माघ ०७० । एक मध्यान्ह । धेरै दिनपछि पात्रसँग कुरा भयो । म आफ्ना केही कुरा सुनाउन थालें ।

…

वीरगन्ज जेल गएको थिएँ केही दिनअघि ।

काठमाडौं फर्केपछि मैले यसो भन्दा अल इन्डिया रेडियोमा ४२ बर्ष काम गरेर नेपाल फर्केका प्रकाशप्रसाद उपाध्याय एक छिन त झसँग भए ।

‘किन र ? के भयो ?’

खासमा भएको के थियो भने वीरगन्ज जेल हामी घुम्न गएका थियौं । जेलको परिवेश बुझ्ने त्यो एउटा अवसर बनेको थियो हामीलाई । वीरगन्जबारे धु्रवचन्द्र गौतमले मसँग धेरै पटक धेरै कुरा गरेका थिए । वीरगन्जको घन्टाघर मुन्तिर पुग्दा मैले उनलाई सम्झेको थिएँ ।

वीरगन्ज जानुअघि हामी चितवनको कवि डाँडा गएका थियौं । हामीले त्यो रात पनि त्यही बितायौं । तर, त्यहाँ डाँडा होइन, मैदान थियो । मैदानबीच बगैंचासहितको बंगलाजस्तो एउटा घर थियो । त्यसैलाई भनिएको रहेछ कवि डाँडा । घरको नाम भने ह्वाइट कर्नर । हामीले कवि एलबी क्षेत्रीको त्यो कर्नरमा एउटा सम्झनायोग्य रात बितायौं । कविहरूले कविता सुनाए ।

बिसे नगर्चीको बयान र अरु कविताहरू ।

म सोच्दै थिएँ, कविहरू मैदानमा पनि डाँडा बनाउन सक्दा रहेछन् । त्यही हो कविको शक्ति । त्यही हो कविताको शक्ति । तर, त्यो कल्पनाको कुरा हो । कल्पनामा होइन, अब व्यवहारमै विकासको डाँडा उठाउनु छ ।

म यसअघि सिमरासम्म मात्र पुगेको थिएँ । तर, यसपल्ट वीरगन्ज पहिलो पल्ट पुगें । वीरगन्जको घन्टाघर, त्यहाँका सडक, गल्ली, जेल, सडक छेउका पसलहरू, रिक्सा, टाँगा आदि । पान पसल । दुई सय थरी पान हुन्छन् भन्ने कुरा पनि चलेको थियो । जेलभित्र चाहिं ‘भयानक’ हुँदो रहेछ ।

बाह्र चौध सय जना छन् रे त्यो जेलमा । हामी जेलभित्र पुग्दा उनीहरूको लागि हामी नयाँ भयौं । उनीहरूको आँखाको लागि त्यो एउटा स्वाद भयो, अलग्गै । धेरै दिनपछि ।
हामी अगाडि बढिरहेका थियौं । हाम्रो अगाडि हुल हुन्थ्यो, तर हामी अगाडि बढिरहँदा त्यो हुल स्वचालितजस्तै गरी छेउ लाग्थ्यो । हामी अगाडि बढ्दै गर्दा मान्छे सरर दाया–बाँया सर्थे र बीचमा खाली हुन्थ्यो । हामीचाहिं ‘ज्ञानेन्द्र हिंडेजस्तो’ अगाडि बढिरहेका थियौं ।

ध्रुवचन्द्रले थपे, ‘शाही कालमा राजा ज्ञानेन्द्र हिंडेजस्तो । अहिले त कहाँ त्यस्तो छ र ?’

cover-lekhak-duniya

पटक पटकको भेटमा उनले थुप्रै पटक मसँग ‘वीरगन्ज’ बाँडेका थिए । यस पटक म आफै त्यहाँ गएर पनि मैले वीरगन्जलाई त्यति सुँघ्न र छाम्न पाइन । तर, आफू चढेको गाडीको पाँग्राले वीरगन्ज घुम्यो । जेलभित्रको अनुभव भने विशेष रह्यो । त्यहाँको वातावरणबारे लामै सम्झना छ ।

उनले फेरि थपे, ‘जेल त मेरो पनि गइरहने ठाउँ हो, बाल्यकालमा । हामी त्यहाँ खेल्न जान्थ्यौं ।’

जेलभित्रको जिन्दगी कति भयावह हुँदो रहेछ, मैले त्यहाँ देखें । र, अनुभव गरें, बाहिर आएपछि । भित्र हुँदा त रमाइलै लागेको थियो, नदेखेको ठाउँ र परिवेश देख्न पाउँदा । तर, पछि सम्झँदा मात्र पनि उकुसमुकस भयो ।

अधिंकाश मान्छे अपराध दुनियाँका । छलबलले परेका कोही अपवाद पनि हुन सक्लान् ।

जेलभित्रको वातावरणले उनीहरूलाई अपराध मनोविज्ञानबाट मुक्त गर्दैन बरु झन् एकोहोरो बनाइदिन्छ । समाजमा फर्केपछि उनीहरूलाई सामाजिक हुन निकै समय लाग्छ । त्यस्तो लाग्यो मलाई ।

उनले यत्ति भने, ‘त्यो अध्ययन गर्नु पर्ने विषय हो ।’

त्यसपछि मलाई थप बोलिरहनु जरुरी लागेन ।

म वीरगन्जबाट फर्केको केही दिनपछिकै कुरा हो । पात्र वीरगन्जकै दिन सम्झँदै थिए फेरि ।

…

तेह्र चौध बर्षको उमेर थियो । पुस्तक पहिलेदेखि नै पढिन्थ्यो भनिसकें । आ–आफ्नो पुस्तक ल्याएर एउटा पुस्तकालय खोल्यौं । दुईचार ओटा मैले, दुइचार ओटा अरुले गरेर पाँच छ जना मिलेर हामीले त्यो पुस्तकालय सुरु गरेका थियौं । एउटा फुसको घर थियो । माटोको भित्ता ।

त्यो पुस्तकालय पछि गएर धेरै फस्टायो । कुमाल टोलमा । गोपाल दाईले त्यसको नाम राखिदिनु भयो, जुनेली पुस्तकालय । मेरो लेखनयात्राको जगमा जुनेली पुस्तकालयको पनि उत्तिकै महत्व छ । त्यहाँ पुस्तकहरू बेस्सरी आइरहन्थ्यो । त्यहाँ बसेर तमाम हिन्दी लेखकहरू पढियो । किन पढियो भने पुस्तक प्रेम थियो । पुस्तक पढ्न मन पथ्र्यो ।

चन्दामामा पत्रिकाहरू आउँथे । हामी किन्न नसक्ने नै थियौं भन्नु प¥यो । एउटा साथी थियो, जसकहाँ चन्दामामा आउँथ्यो, नियमित । ऊ मलाई एउटा चन्दामामा दिन्थ्यो र भन्थ्यो, ‘यो पढेर फर्का अनि अर्को दिउँला ।’

मचाहिं के गर्थे भनें, घन्टाघरनेर …

फुच्चे घन्टाघर ?

फुच्चे कहाँ छ ?

मतलब काठमाडौंको तुलनामा ।

यहाँको तुलना नगरौं । फुच्चे त होइन ।

तपार्ईंंले ‘वीरगञ्ज’ बोल्नुभयो ।

तपार्ईंंले फुच्चे कसरी भन्नुभयो ? यहाँ (काठमाडौं)को घन्टाघरसँग तुलना गर्न मिलेन । आफू हुर्केको ठाउँ त प्रिय हुन्छ नि ।

घन्टाघरको ठाउँमा एउटा विशाल रुख थियो । वीरगन्जमा अरु पनि दुई तीनओटा विशाल रुख थिए । अहिले छैनन् । त्यो रुखमुन्तिर मीठाई बेच्नेहरू आउँथे । खासमा गर्मीमा शीतल खोज्दै त्यहाँ मान्छे आउँथे । त्यो चौतारो थियो । म त्यो चौतारोमा बसेर पढिसक्थें । तुरुन्त पढिसिध्याएर तुरुन्तै अर्को पत्रिका वा पुस्तक लिन जान्थें फेरि । त्यसरी पढिन्थ्यो । मतलब जति पाए पनि पढौं भन्ने लाग्थ्यो ।

त्यतिखेर लेखक बन्ने सपना मनमा उदाइसकेको थियो ?

सपनामात्र होइन, लेख्न थालिसकेको थिएँ । लेख्न त मैले दश बर्षदेखि नै थालेको हो । यो चाहिं बाह्र तेह्र बर्षको कुरा हो ।

त्यसरी पढियो । त्यसको एक दुई बर्षपछि पुस्तकालय खोलियो । पुस्तकालय खोल्दा ठूला मान्छेले पनि साथ दिए । त्यसपछि विशाल पुस्तकालय बन्यो । विशाल भनेको हाम्रो दृष्टिले विशाल । फुच्चे घन्टाघर भने जस्तो । आखिर घन्टाघर त भयो नि । हा हा हा । त्यस्तै पुस्तकालय, हाम्रो लागि । त्यहाँ रविन्द्रनाथ, शरदचन्द्र सबै ल्याइन्थ्यो । एस्पाल । धेरै पुस्तक हिन्दीको त्यहाँ पढियो । पुस्तकप्रति एउटा मोह थियो र छ पनि ।

(शुक्रबार भृकुटीमन्डपमा सार्वजनिक हुने अशोक सिलवालकृत ‘लेखक दुनियाँ, आख्यान पुरुष धु्रवचन्द्र गौतमसँग अन्तरंग’को एक अंश)