काठमाडौं, १ असोज । प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थाल्नुभएको छ ।
केही दिन अघि मात्रै एमालेका दुई जना मन्त्री हेरफेर गरेका प्रधानमन्त्री सुशील कोइरालाले यसपटक भने काँग्रेसका मन्त्री हेरफर गर्ने तयारी गर्नुभएको हो ।
स्वास्थ्य परीक्षण र संयुक्त राष्ट्रसंघको सम्मेलनमा भाग लिन अमेरिका जान लागेका प्रधानमन्त्रीले त्यसअघि नै मन्त्रिपरिषद् पुनर्गठनको तयारी थाल्नुभएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कोइराला शिक्षामन्त्री चित्रलेखा यादवको भूमिकाप्रति सन्तुष्ट हुनुहुँदैन । शेरबहादुर देउवा पक्षबाट मन्त्री बनेकी यादवलाई फिर्ता बोलाएर अर्को नेतालाई मन्त्री कोइरालाले देउवासँग समेत छलफल गरेको बताइएको छ । यादवलाई फिर्ता बोलाइए शिक्षामन्त्रीको जिम्मेवारी अजुर्ननरसिंह केसीले सम्हाल्ने चर्चा छ । यसैगरी, सूचना तथा संचारमन्त्री मीनेन्द्र रिजाल र सहरी विकास मन्त्री नारायण खड्काको स्थानमा नयाँ मन्त्री नियुक्ती गर्ने प्रधानमन्त्रीको तयारी छ ।
कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडू र आनन्दप्रसाद ढुंगानाको पनि मन्त्री बन्ने चर्चा छ । बडू विनाविभागीय र ढुंगानालाई प्रधानमन्त्रीले रक्षामन्त्री बनाउन चाहको स्रोतले बतायो । श्रम राज्यमन्त्री रहेका टेकबहादुर गुरुङलाई पूर्ण मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी छ ।
प्रधानमन्त्री कोइरालाले अहिले रक्षा, सहकारी तथा गरिबी निवारण र विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयसहित तीन वटा मन्त्रालय सम्हाल्दै आउनुभएको छ । कानुनमन्त्री नरहरि आचार्यले शान्ति मन्त्रालय पनि सम्हाल्दै आउनुभएको छ । चार वटा मन्त्रालय मन्त्री विहीन बनेपनि एमालेसँग वार्ता नमिलेका कारण प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद् पुनर्गठन गर्न सक्नुभएको छैन । बाँकी चार मन्त्रालयमा आफ्नोतर्फबाट पनि मन्त्री हुनुपर्ने एमालेको अडान छ ।
एकपछि अर्को गर्दै मन्त्रीलाई हटाउन थालिएपछि काँग्रेस र एमालेका तर्फबाट मन्त्री बनेकाहरु तनावमा छन् ।
















प्रतिक्रिया