१ कार्तिक २०८३, शनिबार

किन स्थगित भयो सर्वपक्षीय राजनीतिक सम्मेलन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Golmech

रमेश लम्साल

काठमाडौँ, ३१ भदौ । संविधान निर्माणको विषयमा सहमति जुटाउन तय गरिएको सर्वपक्षीय राजनीतिक सम्मेलन अन्तिम समयमा आएर रद्द भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा–माओवादीसहित प्रमुख तीन राजनीतिक दलको बैठकमा सम्मेलनको मागकर्ता माओवादीले शान्ति प्रक्रिया, राष्ट्रिय सहमति र राष्ट्रिय सम्मेलनको एजेन्डा तय गर्नुपर्ने माग गरेको थियो ।

सम्मेलनसँगै शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्न सत्तारुढ दल तयार नभएपछि सम्मेलन गर्नुको कुनै औचित्य नरहेको भन्दै माओवादी नेताहरु बालुवाटार बैठकबाट उठेपछि सम्मेलन अन्तिम समयमा आएर रद्द भएको हो ।

माओवादी आफूसहित ३३ दलीय मोर्चाको बैठकमा सम्मेलनबारे औपचारिक निर्णय गरेर आउने भन्दै बैठकबाट उठेको बताइएको छ । तर एमाओवादीले भने शान्ति प्रक्रिया र समग्र राजनीतिक प्रक्रियाका साथसाथै संविधान निर्माणको आधारभूत विषयमा सहमति जुटाउन छलफल निरन्तर हुनुपर्ने भन्ने प्रस्तावमा सरकारमा रहेका दलहरु नै सहमत नभएपछि सम्मेलन भाँडिएको बताएको छ ।

एमाओवादीले विशेषतः शान्ति प्रक्रियाका बाँकी रहेका काम पूरा हुनुपर्ने माग जायज रहेको र सो विषयमा सरकारमा रहेका दलसमेत सहमत भएको तर हस्ताक्षर गर्न सहमत नभएको आरोप लगाएको छ । यता, सरकारमा रहेका दलले भने सम्मेलनको मागकर्ता नै सम्मेलनमा बस्न अनिच्छुक देखिएका कारण अन्तिम समयमा आएर सम्मेलन रद्द भएको बताएको छ ।

नेकपा (एमाले)का प्रमुख सचेतक अग्नि खरेलले मोहन वैद्य नेतृत्वको माओवादी नै अनिच्छुक भएका कारण सम्मेलन हुन नसकेको जानकारी दिनुभयो । “संविधानसभामा नरहेका दल तथा समूहलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउने ध्येयका साथ सर्वपक्षीय सम्मेलनको आयोजना गरिएको हो, उहाँहरु नै आउन नचाहेपछि अरु उपाय अवलम्बन गर्नुपर्ने कुनै आवश्यकता महसुस गरिएन,” प्रमुख सचेतक खरेलले भन्नुभयो ।

एमाओवादी र माओवादीले आज बिहानको बैठकमा शान्ति प्रक्रियाको विषयमा प्रमुख चार पक्षबीच बृहद् सहमति गरेर राजनीतिक सम्मेलनमा जाँदा सहज हुने धारणा राखेको थियो । तर नेपाली काँग्रेस र नेकपा (एमाले)ले सबै विषय सम्मेलनमा छलफल गर्ने बताएको थियो । सोही विषयमा दलहरुबीच कुरा मिल्न सकेन ।

नेकपा–माओवादीका अध्यक्ष वैद्यले सरकारमा रहेको दल आफूहरुले उठाएको सवालमा सहमत नभएका कारण सम्मेलनको औचित्य नभएको बताउनुभयो । ‘‘शान्ति प्रक्रियाका धेरै काम बाँकी रहेका छन्, त्यसलाई पूरा गराँै, सम्मेलनमा छलफल गर्नुपर्ने विषयहरु निक्र्योल गरौँ र सहमति नहुँदासम्म सम्मेलनलाई निरन्तर रुपमा अगाडि बढाऔँ भन्दा उहाँहरु मान्नुभएन, त्यसकारण छलफलमा बस्नु र नबस्नुको कुनै औचित्य रहेन,” अध्यक्ष वैद्यले भन्नुभयो ।

एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आधारभूत विषयमा नै छलफल गर्ने विषयमा सहमति हुन नसकेका कारण सम्मेलन हुन नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यदलको बैठकमा सबै विषयलाई पहिले चार पक्ष बसेर टुङ्ग्याउने र सम्मेलनमा जाने सहमति भएको थियो । सो सहमति कार्यान्वयन गर्न सरकारमा रहेका दल तयार नभएका कारण सम्मेलनको प्रक्रिया अगाडि बढ्न सकेन ।” उहाँले अझै पनि प्रमुख तीन दल र माओवादी बसेर शान्ति र संविधानको विषयमा सहमति कायम गरेर सम्मेलन आयोजना गर्न सकिने अवस्था रहेको बताउनुभयो ।

संविधानसभालाई सहयोग गर्ने हेतुले सम्मेलनको आयोजना गरिएको भएपनि माओवादी नै सहभागी नभएपछि त्यसको कुनै औचित्य नरहेको काँग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।

“संविधानसभा बाहिरबाट कुनै पनि निर्णय हुन सक्दैन र गरिनुहुँदैन भन्नेमा काँग्रेस प्रष्ट रहेको थियो, संविधानसभाबाटै सबै निर्णय गरिनुपर्दछ तर सबै पक्षको सहयोग लिनुपर्छ भन्नेमा हामी प्रष्ट छौँ,” नेता केसीले भन्नुभयो ।

सबै पक्षलाई सहभागी बनाएर संविधान बनाउने काँग्रेसको सदिच्छा भने पूरा हुने उहाँको कथन थियो ।

सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आजका लागि सम्मेलन तय गरेको थियो । संविधानसभामा रहेका र नरहेका गरी ५१ दल सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको थियो । रासस