सत्य कुरा बोल्दा विकृतिलाई पोल्छ । पोलेपछि कि विकार सच्चिन्छ, कि सकिन्छ । पाँडे गाली बोल्दा बोल्ने आफैँ पाँडे हुन्छ । कहाँ बोल्ने, कुन ढपमा बोल्ने र आफ्नो मान र स्थान अनुसार कसरी, कहाँ र कति बेल्ने कुरामा ध्यान नदिँदा नेता ओरालो लाग्छ । पुर्खाले थुतुनु जोगाउने कुरा यसै भनेका होइनन् । ओर्लिने कि उक्लँने पहिलो कुरा व्यक्तिमा निर्भर हुन्छ तर विकृतिले फाल्तु कुरा बोल्यो भने उसको मुखमा ढिलै भए पनि कालो पोतिन्छ । त्यसैले सतही र सस्ता कुरा गर्नेको बजार भाउ स्वात्तै घट्छ । साँच्चो अभिभावकले परिवार समेट्ने गरी बोल्छ । प्रमुख जिम्मेवारी र दयित्वमा नहुँदा बाबु पनि नानीे बाबु हुन्छ । टार्नु पुर्याउनु नपरेपछि त्यस उच्चतम अभिभावकीय भावना कम हुन्छ । त्यसैले आफ्नो अभिभावकत्वमा रहेका बाल, बृद्ध र बनिता किन नहुन् हत्तपत्त प्रमुख व्यक्ति झोक्किइ हाल्नु हुँदैन । आग्रह बस जोसुकै र जुनसुकै तहका नेताले बोले पनि एकान्तमा राम्ररी अर्जाप्नु पर्छ । त्यसपछि पनि बानी नसुध्रिए अरू उपाय अलम्बन गर्न हिच्किचाउनु हुँदैन । आफू भलो जगत् भलो ।
कार्लमाक्र्सले पत्रकारिता पनि गरे । उनी वाक् स्वतन्त्रताका पक्षधर थिए । द्वन्द्ववाद असलमा वाक्, विचार र फरक मान्यताका बीचको गम्भीर अन्तरक्रिया हो । विचार, मान्यता र सिद्धान्त नमिल्ने बित्तिकै घाँटी रेट्ने काइदा जंगली पारा हो । भिन्न विचार र दृष्टिकोणका मानवलाई सही सिद्धान्त र व्यवहारका आधारमा आकर्षित गर्नु कुनै पनि नेताको उन्नत पहिचान हो । जबजलाई आत्मसात् गर्नु तदनुसार व्यवहार गर्नु एमालेका नेताको आधारभूत पक्ष हो । विचारका विविधताका बीच गम्भीर अन्तरक्रिया गरेर नै सही निष्कर्ष प्राप्त हुन्छ । यो निचोड निकाल्ने आधारभूत पक्ष हो । पूर्वीय मनीषिहरूले ‘वादे वादे जायते तत्वबोध’ त्यसै भनेका थिएनन् । माओले पनि सांस्कृतिक क्रान्तिकालपछि आम जनतालाई कम्युनिष्ट पार्टी र नेताका बारेमा भन्न चाहेका आलोचना, सुझाव र विरोधका बोली बोल्न दिनुपर्छ भनेका थिए । उनले जनतालाई बोल्न दिएर आकास खस्तैन तर बोल्न दिएनौ भने तिमी एकदिन समाप्त हुनेछौ समेत भनेका थिए । माओले त्यतिमात्रै होइन झारपात रूपी गलत विचारलाई सत्य तथ्य बोलेर र लेखेर उखेल्नु पर्ने कुरा गरेका थिए । तर यस प्रकृतिका एमाले अगुवा नेता, बुद्धिजीवी कति होलान् अहिले गन्ती नगर्दा जाती होला । एमालेका सिद्धान्त र व्यवहारका बाहक पत्रिका पढ्ने एमाले निकै कम भएको तथ्याङ्क हामीसित छ । एकाध राष्ट्रिय अखबारका मुख्य समाचारका भरमा को कति टिक्ने हो यसै भन्न सकिन्न । गिदीमा जमेको अनेक प्रकारको लिदी सफा गर्ने साबुन (शिक्षा, सिद्धान्त, कला, साहित्य आदि) को उपयोग नगरेपछि कसरी सफा र सुग्घर हुनसकिन्छ ?
जननेता मदन भण्डारीले जबजमा प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गरेका छन् । त्यसैले बोल्नुपर्छ, लेख्नुपर्छ । बोल्दा पोल्छ, नबोल्दा पोस लाग्छ । बोली त आगो हो । बोल्न जाने यस आगोले झैँ अज्ञानता, अन्यौल र अकर्मण्यतालाई पोल्छ । बोल्दा, छलफल गर्दा र एक आपसमा विभिन्न विषयगत गम्भीर अन्तरक्रिया गर्दा यसमा सहभागी व्यक्तित्वको मस्तिष्कमा सकारात्मक वा नकारात्मक झड्का दिन्छ । त्यसैले त कोही कोही नेताले बोल्दा अतिवाद, उग्रवाद, अन्धवाद तथा अवसरवादीको निद्रा हराम हुनेगरेको देखिन्छ ।
सही र सत्य वचनले कुनै पनि खाले निरङ्कुशताको पहाड भत्काउनसक्छ । बोली, वचन र व्यवहारबाट आम जनताले ढिलै भए पनि सच्चाइलाई पहिचान गर्छ । यस्तो पहिचान गाउँ, घर, बस्ती, घुर, आँगन, गोष्ठीमा आम जनताले समाजका बारेमा छलफल, बहस र अन्तरक्रिया गर्छन् । यस खालका विमर्श र अन्तरक्रिया सञ्चार प्रचार सामग्रीमा छापिन्छन्, पढिन्छन् । यस्तै अन्तरक्रियाबाट नेपाली जनताको सचेत समुदायले राणाशासनलाई एकसय चार वर्षपछि भए पनि चिने र कुशासनको जनता आफैँँ मलामी बने । नेपालको माटोढुङ्गो सबै पञ्च भने पनि उनन्तीस वर्षको अन्तरक्रियाबाट निरङ्कुश निर्दलीय राजशाही पञ्चायत व्यवस्थालाई पनि आम जनताले चिने । त्यस शासनलाई पनि जनताले दागबत्ती दिए । नेपाली काङ्ग्रेस र एमाले लगायत पार्टीका पनि कमजोरी देखेर र अनुभूत गरेर जनताले विगतमा दण्डितगरेकै हुन् । विगत संविधान सभामा ठूलो दल भएको माओवादीका चरम राजनीतिक विसंगतिलाई कार्यावधिभित्र राम्ररी चिने जानेकाले जनताले अर्को संविधान सभाको निर्वाचनमा तेस्रो दर्जामा पुर्याइदिए । कथनी र करनीमा फरक परेपछि साह्रै लाजमर्दो हुन्छ । ठूलै भ्वाङ परेपछि कताकता टालेर सक्नु ?
आखिरमा कुराको चुरो एमालेपट्टि नै हो । जे जे कमीकमजोरी भए पनि आफ्नै नेता हुन् । यी जनताकै घरआँगनमा निर्मित तथा प्रबद्र्धित पनि हुन् । अर्काको मान्छे प्यारो भएर के गर्नु ? आफ्नो घरको दैनिक हेरचाह उसले गर्ने होइन । नवौँ महाधिवेशपछि पनि एमालेका दुवै थरि नेता कमबेस बोलेकै छन् । पार्टी भित्रको प्रतिपक्षीय मानसिकताले बोल्दा पनि अलिक मार्जिन राखेर पदीय जिम्मेवारी अनुसार बोलिदिए हुन्थ्यो भन्नेसम्म लागेको हो । एउटा उचाइको नेताको अखबारमा आउन हतार गर्नु जाती थिएन । तर विकार र विसङ्गति देखिए सकेसम्म पद्धतिसंगत ढंगले बोल्ने हो तर बोल्न त बोल्नैपर्छ । तर निरपेक्ष रूपमा बोल्दा बोल्नेलाई नै नोक्सान पनि हुनेछ । अनि पार्टीको संस्थापन पक्षले बोलेकै भरमा बाह्य रूपमा आवेगमा आउने पनि होइन । जिम्मेवारी र दायित्व थपिएपछि आवश्यक शालीनता पनि चाहिने रहेछ । पार्टी अध्यक्ष केपी शर्मा ओली अनेक खालका उकाली, ओराली, हन्डर र ठक्कर तथा भुक्तमान खेपेका उपल्लो तहका नेता हुन् । उनी जतन गरेर जोगाएका जमरा होइनन् । उनमा रहेको उच्च मानवीय पक्ष, संवेदनशीलता, प्रभावशाली संम्भाषण कला, जबजप्रतिको निष्ठा, त्याग र समर्पण आदि अनेक सकारात्मक पक्ष विद्यमान रहेका छन् । नवौँ महाधिवेशनमा ओलीलाई एमालेको सुन्दर भोलिका लागि अध्यक्षमा विजयी गराएका हुन् । उनले जबजको निर्देशनमा पार्टीलाई उन्नत संस्कारयुक्त बनाउलान् भनेर विजयमाला पहिराएका हुन् । जननेता मदन भण्डारीको अवसानपछि पार्टीमा विकारले क्रमश: टाउको उठाउन थालेको हो । यो समयक्रममा जुकाको मुख भएर देखापरेकै हो । यसलाई छिमल्न आफैंबाट सुरु गर्नुपर्छ । आफैं मात्र इमान्दार भएर मात्र पुग्दैन मातहतलाई त्यस साँचोमा ढाल्ने हिम्मत राख्नुपर्छ । । केही महिनाअघि नयाँ खबर पत्रिकामा प्रकाशित ओलीको अन्तर्वार्ता पढ्दा यस लेखकलाई अपूर्व सन्तुष्टि मिल्यो । उनी आफैंले आफ्नो स्वास्थ्यका बारेमा बताएकै छन् । नवौँ महाधिवेशनमा ओलीका पक्षमा जो जो प्रतिबद्धताका साथ निस्वार्थ रूपमा लागे तिनको निजी स्वार्थ खासै थिएन । ओलीका उपयुक्त फरक क्षमतालाई विजयी गराएका हुन् । अब ओलीले विगतको बाटामा मर्मत र सम्हार नगरी गाडा गुड्काउने हो भने गन्तव्य मन्तव्यमा मात्र सीमित हुने छ ।
अक्सर नेता परिवार मोहका कारण खुइलिएका छन् । पुत्र र पत्नी मोहले कुनै पनि उपल्लो तहका एमाले नेताको अधोगति नहोस् । फेरि जानीबुझी यसरी लोभ र मोहमा जाकिनेलाई आम कार्यकर्ताले रामराम मात्र भन्ने हो तर पार्टीले यसमा गम्भीर हुनु जरुरी हुन्छ । माथिबाट बिग्रिएको बानीले तल निकै नराम्रो असर पार्छ । समय क्रममा कार्यकर्ता र जनताले यथोचित दण्ड दिने नै छन् । पद दिएर सबैलाई खुसी पार्न पनि सकिँदैन । उचित मन, मान र पहिचान दिएर काम गर्दा पनि हुन्छ । लिहाज बिनाका कतिपय नेता लोहा जस्ता अररा र अरिमठे लाग्छन् । हालै अध्यक्षले सिफारिस गरेका पदहरूका सन्दर्भमा युवराज ज्ञवालीले भनेझैँ पञ्चायत सम्झाउने खालको काम हो भन्नु कतिसम्म जरुरी छ ? त्यो मनन गर्ने कुरा हो । आम जनता र कार्यकर्ताको स्वार्थ चाहिँउनीहरू पार्टी र राजकीय निकायका लायक होलान्, मिलेर जिम्मेवारी लिउन् । सकेसम्म निश्चित मापदण्ड बनाएर अवसर ग्रहण गरुन् तर देख्नेलाई लाज हुने काम नगरुन् भन्ने रहेको छ । आफूलाई केन्द्र भागमा नराखी जनताका लागि पनि सिन्को सम्म भाँचिदिए हुन्थ्यो भन्ने आशा चाहिँ जनताले राखेका छन । साँघु पत्रिकाले भने हालैका संविधानसभामा र सुकुम्बासी आयोगमा गरिएको नियुक्ति यो घटना अखबारबाजी भएको उल्लेख गरेको छ । एमालेमा एमान, जमान र कमान्ड भएका विविध विषयका प्रतिभा अझै मरेका छैनन् तर ती दरबार र दैला चहार्दैनन् । पोखरामा एक जना विशिष्ट विद्वान् समालोचक प्रा.डा. पशुपतिनाथ तिमल्सेनाहरू छन् । उनी र उनी जस्ता समर्पित विज्ञ व्यक्तित्वको अनिकाल छैन । उनी जस्ता अनेक विद्वान्अमुक मन्त्रीका एक छापे प्राज्ञिकभन्दा कुनै हिसाबमा कम छैनन् । जब विषयगत मञ्चमा उभ्भिँदा एक छापे प्राज्ञिकको पोल खुल्छ । यस्ता विज्ञ र विद्वान् हुँदा हुँदै बल्खु वरिपरिका र चक्रपथ भित्रकाहरूलाई मोफसलका नाममा पाँडेपजनी पनि गरिएको देखियो । मानौँ यिनीहरू सधैंका बिर्तावाल हुन्, अरू उर्दीका भरमा उफ्रिने हुन् । मन राखेर काम गरे पनि हुन्थ्यो । फलानाले थाहा पाउँछ कि भनेझैँ गरेर लुकी चोरी र छलकारी गरेर हत्याउनेले उल्टै फुटानी गरेपछि को मानिस सधैँ अपमान सहेर कहिले सम्म बसिरहला ? यस्तै चाला हो भने धुलियाले एकदिन चुरलाई पनि नोक्सान पुर्याउँछ । चौखडीको चङ्गुलमा नपरे ओलीबाट एमालेको भावी जीवन जबजका मार्गदर्शनमा चल्न सक्ने देखिन्छ । यसले उनमा अन्तर्निहित राजनेताको उर्जा प्रस्फुटित पनि हुनसक्ने देखिन्छ ।














प्रतिक्रिया