२८ आश्विन २०८३, बुधबार

मन्त्री बन्ने योग्यता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shambhu-shrestha

शनिबार दिउँसो मोबाइलमा घण्टी बज्यो । महेश बस्नेत मन्त्री बन्यो रे हो ? मलाई थाहा थिएन । थाहा छैन भने । प्रतिउत्तरमा केपी कमरेडसँग सोध्नुस् त, हो कि होइन भने । भर्खरै चुनाव हारेका मान्छे कसरी मन्त्री बने होलान् भनेर एकैक्षण अकमक परे । फेरि अर्को साथीले फोन गरे । कमरेड कर्ण थापालाई त मन्त्रीबाट हटाएछन् नि † त्यो कुरो पनि मलाई विश्वास लागेन । मैले भने, कसले यो हल्ला चलाइरहेछ ? उसले जवाफ फर्कायो– केपी कमरेडको सबैभन्दा नजिकको पत्रकारलाई पनि थाहा नहुने हुन्छ र ? त्यसपछि फेरि मोबाइलमा घण्टी बज्यो– उद्योग र पर्यटन मन्त्री त हटेछन् नि, थाहा पाउनुभयो ? त्यसपछि यो सूचना सत्य हो कि होइन भनेर केही ठाउँमा फोन घुमाए । कुरा सत्य नै रहेछ ।

हावा नचलि पात हल्लन्न भनेको यही हो । तर, कर्ण थापा र भीम आचार्य हावा नचलिकनै हल्लाइए । दुईवटा पात नसुक्दै झारिए ।

यो देशको पछिल्लो विकृति भने पनि लोकतान्त्रिक अभ्यास भनेको पनि यही नै हो । हरेक वर्ष प्रधानमन्त्री फेरिने । हरेक छ/छ महिनामा मन्त्री फेरिने बाहेक पदमा पुगेकाहरूले देश र जनताको लागि सिन्को भाँच्ने सम्मको काम गरेका छैनन् । ०६२/६३ सालको जनआन्दोलनपछि संविधान बनाउने भन्दा पनि सत्तामा पुग्ने दौडले मुलुक कमजोर हुँदै गयो । पचासौं वर्ष लोकतान्त्रिक आन्दोलनमा जीवन होमेका नेताहरूमा लोकतान्त्रिक संस्कार भएन । ‘जो अगुवा उही बाटो…’ भनेझैं पहिलो पुस्ताका नेतामा राजनीतिप्रति निष्ठा भैदिएको भए, दोस्रो पुस्ता सुधारिने थिए । तिनले लोकतान्त्रिक संस्कार बुझ्ने थिए । तर, दुर्भाग्य ०४६ सालको जनआन्दोलनपश्चात् वर्षौ जेल, नेल भोगेका नेताहरूमा राजनीतिक संस्कार नपलाउँदाको परिणाम हो अहिलेको विकृति ।

निक्षशमशेर, जगत गौचनहरूजस्ता व्यक्ति मन्त्री बनेको यो देशमा जो कोही पनि मन्त्री बन्न सक्छन् भन्ने कुरा त शाहीकालले देखाएकै हो । तर, लोकतान्त्रिक कालमा मन्त्री बन्नका लागि चुनाव जित्नु पर्दैन । योग्यता क्षमता केही पनि चाहिँदैन । नेताको चाकडी गरेपछि जस्ता पनि मान्छे मन्त्री बन्न सक्दा रहेछन् भन्ने कुरा यस घटनाले पुष्टि गरिदिएको छ । हुन त यो भन्दा अगाडि दुई/दुई ठाउँबाट चुनाव हारेका नेता, एमाले पार्टीबाटै प्रधानमन्त्री बनेको उदाहरण त छँदैछ । यसले आम जनतामा कस्तो प्रभाव पार्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो । लोकतन्त्र भनेको जनताको शासन हो । शासकहरूले जनताको मन दुखाउने अथवा जनतालाई चित्त दुख्ने काम गर्नु हुँदैन । कर्ण थापा, भीम आचार्य मन्त्री बन्नु, नबन्नु ठूलो कुरा होइन । ठूलो कुरा त उनीहरूको ठाउँमा कस्ता व्यक्तिलाई ल्याइयो भन्ने नै हो । नभए दुई जना मन्त्री फेरिदा यति ठूलो हंगामा हुने नै थिएन । महेश बस्नेत युवासंघका अध्यक्ष हुन् । उनी मन्त्री मात्र होइन, प्रधानमन्त्री बन्नका लागि पनि योग्य व्यक्ति होलान् । तर, चुनाव हारेका व्यक्तिलाई किन मन्त्री बनाइयो ? भन्ने प्रश्न एमाले कार्यकर्ताको हो । त्यस्तै दीपकचन्द्र अमात्यलाई मैले व्यक्तिगत रुपमा चिन्दिनँ । सुनेको कुरा उनी झलनाथ खनालका पिए हुन् । पर्यटन मन्त्रालयसम्बन्धी ज्ञान कति छ, त्यो उनैलाई थाहा होला । तर, प्रश्न के मात्रै हो भने दोस्रो संविधानसभाबाट प्रत्यक्षमा चुनाव जितेर आएका मन्त्रीलाई हटाएर एमालेले चुनाव हारेका र राजनीतिमा संलग्नै नभएको व्यक्तिलाई मन्त्री किन बनाइयो भन्ने नै हो ।

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन भर्खरै सकिएको छ । संविधान निर्माण गर्ने गहन जिम्मेवारी एमालेको काँधमा आएको छ । महाधिवेशनको ‘म्यान्डेट’ बमोजिम पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने दायित्व नयाँ नेतृत्वमा छ । यस्तो बेलामा आफ्नै पार्टीभित्र सहमति, सहकार्य र विश्वासको वातावरण बनाउन सकिएन भने एमालेबाट देश र जनताले के आशा गर्ने ?